नेपाल प्रहरीमा विगतकाे परिपाटी अन्त्य, एआईजीमा रिक्त हुनुअगावै बढुवा सिफारिस – Nepal Press

नेपाल प्रहरीमा विगतकाे परिपाटी अन्त्य, एआईजीमा रिक्त हुनुअगावै बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीमा रिक्त हुन लागेका अतिरिक्त महानिरीक्षक (एआईजी)का दुई दरबन्दीमा बढुवा गर्न सोमबार दुई जना डीआईजीको नाम सिफारिस गरिएको छ ।

गृहसचिवको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य रहने बढुवा समितिले डीआईजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई बढुवा गर्न सिफारिस गरेको हो । उनीहरुविरुद्ध कुनै उजुरी नपरे अर्को साता जोशी र ढकाललाई मन्त्रिपरिषद् कार्यालयले एआईजीमा बढुवा गर्नेछ ।

एआईजीद्वय सन्दीप भण्डारी र मीरा चौधरीले अवकाश पाउने भएपछि रिक्त स्थानमा बढुवा सिफारिस भएको हो । एक साता उजुरीको समय रहने भएकाले यसबीचमा एआईजीमा दुई दरबन्दी खाली भइसकेका हुनेछन् । जोशीले आगामी असार र ढकालले असोजमा अवकाश पाउँदैछन् ।

तल्ला दर्जामा दरबन्दी खाली भएको महिनौं हुँदा पनि पूर्ति नगर्ने विगतको परिपाटी अन्त्य गर्दै यस पटक समयमै बढुवा सिफारिस निकालिएको छ । यसअघि एसपीमा दरबन्दी खाली हुन थालेको झण्डै ९ महिनापछि मात्र बढुवा गरिएको थियो । अन्य दर्जाहरुमा भने समयमै रिक्त दरबन्दी पूर्ति हुने गरेको छैन ।

वरियताक्रम नमिची बढुवा सिफारिस

नेपाल प्रहरीमा पछिल्लो समय भइरहेका बढुवा विवादमा आइरहेका थिए । खासगरी डीएसपीबाट एसपीमा भएको बढुवा र इन्स्पेक्टरबाट डीएसपीमा भएको बढुवा सम्बन्धमा प्रहरी नेतृत्व र गृह मन्त्रालय विवादमा आएको थियो ।

डीएसपीबाट भएको बढुवामा वरिष्ठतम डीएसपी नै छुटेका थिए भने राजनीतिक शक्ति केन्द्रसँग जोडिएका प्रहरी अधिकृतहरु छिरेका थिए । यस्तै इन्स्पेक्टरबाट भएको बढुवामा वरियता मिचिएको र कारबाही भोगेकालाई पदोन्नति गरिएको भनेर आलोचना भएको थियो ।

यहीबीचमा भएको एआईजी बढुवाको सिफारिसमा भने वरियताक्रम मिचिएको छैन । २०७९ असारमा बढुवा हुँदा निर्धारण भएकै डीआईजीको वरियताक्रमलाई नमिची एआईजीमा बढुवा गर्न सिफारिस भएको छ । २०७९ असार ८ गते १७ जना एसएसपीलाई डीआईजी बढुवा गर्न सिफारिस भएको थियो ।

तीमध्ये शीर्ष ५ जना बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई २०७९ फागुन २६ गते एआईजीमा बढुवा गर्न सिफारिस गरिएको थियो।

त्यसपछि रिक्त एआईजीका चार दरबन्दीमा वरियताक्रमकै आधारमा सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई बढुवा गरिएको थियो । डीआईजीमा बढुवा हुँदा उनीहरुभन्दा ठीक पछाडि रहेका जोशी र ढकाल अहिले बढुवा सिफारिसमा परेका छन् ।

जोशी र ढकाल दुवै वर्तमान आईजीपी बसन्तबहादुर कुँवरका भर्ना ब्याची हुन् । उनीहरुले २०५१ चैत ६ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । नेपाल प्रहरीमा डीआईजी र एआईजीको उमेर हद ५६ वर्ष र आईजीपीको ५८ वर्ष छ। आईजीपी कुँवरले उमेर हदभन्दा पहिला ३० वर्षे सेवा अवधिका कारण आगामी चैतमा अवकाश पाउँदैछन् ।

आईजीपी कुँवरका ब्याची अरुले पनि पाउँदैछन् अवकाश

आईजीपी कुँवरले अवकाश पाउनुअघि उनका थुप्रै भर्ना ब्याचीले उमेर हदका कारण अवकाश पाइसकेका हुनेछन् । श्यामलाल ज्ञवालीले आगामी भदौ, किरण बज्राचार्यले आगामी कात्तिकमा अवकाश पाउँदैछन् ।

जोशीले असार र ढकालले असोजमा अवकाश पाउने भएकाले आईजीपी कुँवरका भर्ना ब्याची ४ जनाले आईजीपी बन्ने अवसर पाउनेछन् । हाल एआईजी रहेका दीपक थापा, सुदीप गिरी र टेकप्रसाद तामाङले भने २०५१ भदौ २१ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए ।

सर्वेन्द्र खनाल आईजीपी भएका बेला नेपाल प्रहरीमा एआईजीको दरबन्दी ३ मात्र थियो । तर, त्यसयता ५ दरबन्दी थप भएको छ । तत्कालीन डीआईजीहरु विश्वराज पोखरेल र सहकुल थापालाई बढुवा गर्न एकएक पटक एआईजीको दरबन्दी थप गरिएको थियो । त्यसपछि एकै पटक ३ दरबन्दी थप गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर