अविनाशले खोले विकेटको खाता, ६ विकेट गुमाउँदै हङकङ संकटमा – Nepal Press

अविनाशले खोले विकेटको खाता, ६ विकेट गुमाउँदै हङकङ संकटमा

काठमाडौं । एसीसी प्रिमियर लिगको तेस्रो खेलमा नेपालले हङकङलाई दबाबमा राखिरहेको छ । १३ औँ ओभरको खेल चलिरहँदा हङकङका ६ जना ब्याट्सम्यान पेभिलियन फर्किएका छन् ।

मध्यम गतिका बलर अविनाश बोहराले आफ्नो विकेटका खाता खोल्दै हङकङका यासिम मुर्तजालाई बोल्ड गरे । मुर्तजाले ४ बलमा २ रन मात्रै जोडेका थिए । हङकङले १३ ओभरको समाप्तिमा ६ विकेट गुमाएर ७७ रन बनाएको छ ।

नेपालका स्पिनर ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै हङकङका दुई विकेट लिए । आफ्नो पहिलो ओभरको दोस्रो बलमा खतरनाक बाबर हायातलाई शिकार बनाएका उनले दोस्रो ओभरको दोस्रो ओभरमा आफ्नो व्यक्तिगत दोस्रो विकेट लिएका हुन् । ललितको बललाई बुझ्न नसक्दा ऐजाज खान एलबिडब्लु आउट भए । उनले १३ बलमा ७ रन मात्रै जोडेका थिए । ललितले दुई ओभर बलिङ गर्दा ३ रन मात्र खर्चेका छन् ।

टस जितेर फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ र धारिलो फिल्डिङ गरिरहेको छ । नेपालका लागि पहिलो विकेट करण केसीले लिएका थिए । उनले हङकङका ओपनर मार्टिन कोयट्जीलाई विकेट किपर आसिफ शेखको हातबाट क्याचआउट गराए । १२ रनमा पहिलो विकेट गुमाएपछि अंशुमान रथले कप्तान निजाकत खानसँग मिलेर इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, ५.४ ओभरमा दीपेन्द्रले सटिक थ्रो गर्दै निजाकतलाई रनआउट गरेपछि हङकङ दबाबमा आयो ।

ओपनर अंशुमानले हङकङको इनिङ उकास्ने प्रयास गरेका थिए । तर, उनी पनि रनआउट भएका छन् । अविनाश बोहराको बलमा अंशुमानले एक रन लिने प्रयास गर्दा गुल्शनले लङअनबाट लामो थ्रो गरेका थिए, जुन सिधै स्टम्पमा लाग्यो । अंशुमानले २६ बलमा ३४ रन बनाए । उनले १ छक्का र चार चौका प्रहार गरेका थिए ।

आजको खेल वर्षाले प्रभावित गरेपनि १८/१८ ओभरमा झारिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *