विस्फोटक ब्याट्सम्यानको ‘एलिट क्लव’: कसले कसरी हाने एक ओभरमा ६ छक्का ? – Nepal Press

विस्फोटक ब्याट्सम्यानको ‘एलिट क्लव’: कसले कसरी हाने एक ओभरमा ६ छक्का ?

काठमाडौं । नेपालका दीपेन्द्रसिंह ऐरीले शनिबार ओमानको अल अमारत मैदानमा दुर्लभ कीर्तिमान बनाए । उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने इतिहासकै तेस्रो खेलाडी भए भने सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा पाँचौं ।

हालसम्म टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई पटक एकै खेलाडीले एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । यी सफलता कसले, कहिले र कोविरुद्ध प्राप्त गरेका थिए भन्ने यहाँ प्रस्तुत गरिएको छ।

टी-२० अन्तर्राष्ट्रियतर्फ

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार ६ बल तथा एकै ओभरमा ६ छक्का हान्ने कीर्तिमान भारतका युवराज सिंहले बनाएका थिए । उनले सन् २००७ मा भएको विश्वकपमा इङ्ल्यान्डविरुद्ध उक्त सफलता हात पारेर विश्व कीर्तिमान बनाएका थिए ।

अगष्ट १९ तारिखमा दक्षिण अफ्रिकाको डर्बानमा भएको खेलको १९ औं ओभरमा उनले स्टुवार्ट ब्रोडलाई ६ छक्का प्रहार गरेका थिए । भारतले १८ ओभरसम्म ३ विकेट गुमाएर १७१ रन जोडेको थियो । ब्रोडले अघिल्ला ३ ओभरमा २४ रन खर्चिएका थिए भने विकेट लिन सकेका थिएनन् । युवराज सिंहले १९ औं ओभरको अन्तिम बलमा प्रहार गरेको छक्काले अर्को विश्व कीर्तिमान बनेको थियो ।

उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १२ बलमा अर्धशतक बनाएर सबैभन्दा कम बलमा अर्धशतक पूरा गर्ने ब्याट्सम्यान बनेका थिए । यो खेलमा भारतविरुद्ध २१९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड १८ रनले पराजित भएको थियो । युवराज १६ बलमा ५८ रन जोडेर आउट भएका थिए ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै ओभरमा ६ छक्का प्रहार गर्ने दोस्रो खेलाडी थिए वेस्ट इन्डिजका कायरन पोलार्ड । यसबीचमा कसैले पनि लगातार ६ बलमा ६ छक्का प्रहार गर्न सकेको थिएन । पोलार्डले सन् २०२१ मार्च ३ तारिखमा एन्टिगुवामा आयोजित टी-२० श्रृंखलाको खेलमा श्रीलंकाविरुद्ध उक्त सफलता हात पारेका थिए ।

पहिला ब्याटिङ गरेको श्रीलंकाले १३२ रनको लक्ष्य दिएको थियो । पोलार्डले छैटौं ओभरमा अकिला धनञ्जयलाई ६ छक्का प्रहार गरेका थिए । वेस्ट इन्डिजले सुरुको ५ ओभरमा ४ विकेट गुमाएर ६२ रनमात्र जोडेको थियो । अकिला धनञ्जयको त्यो व्यक्तिगत तेस्रो ओभर थियो । सुरुका दुई ओभरमा १७ रन खर्चिएर ३ विकेट लिएका धनञ्जयको स्पीन बलिङलाई पोलार्डले विर्सनालायक पारिदिए । यो खेल वेस्ट इन्डिजले १३.१ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

त्यसयता गत अगष्ट २७ तारिखमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी बनेका थिए नेपालका दीपेन्द्रसिंह ऐरी । १९ औं एसियाली खेलकुदअन्तर्गत उनले मंगोलियाविरुद्ध उक्त सफलता हात पारेका थिए । उक्त सफलता एकै ओभरमा भने थिएन । दीपेन्द्रले १९औं ओभरको अन्तिम ५ बलमा लगातार छक्का प्रहार गरेका थिए । नेपालले १८ ओभरसम्म २ विकेट गुमाएर २५९ रन जोडेको थियो । व्यक्तिगत पहिलो ओभरमा २३ रन खर्चिएका मुन्गन अल्टाखुयाङलाई मंगोलियाले १९औं ओभरमा बलिङमा पठाएको थियो ।

पहिलो बलमा रोहित पौडेललाई आउट गरेका मुन्गनले त्यसपछिका लगातार दुई बल वाइड फ्याँकेका थिए । अनि सुरु भएको थियो दीपेन्द्रको छक्का वर्षा । २०औं ओभरको पहिलो बलमा एक रन लिँदै कुशल मल्लले दीपेन्द्रलाई स्ट्राइक दिएका थिए । दोस्रो बलमा छक्का प्रहार गर्दै दीपेन्द्रले आफूले सामना गरेका लगातार ६ वैध बलमा ६ छक्का प्रहारको कीर्तिमान बनाएका थिए ।

उनले यही खेलमार्फत ९ बलमा अर्धशतक पूरा गर्दै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान बनाएका थिए । ३१५ रनको लक्ष्य पछ्याएको मंगोलिया २७३ रनले पराजित भएको थियो । उनै दीपेन्द्रले शनिबार एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरे । ओमानमा भएको खेलमा दीपेन्द्रले २०औं ओभरमा कमरान खानलाई ६ छक्का प्रहार गरेका थिए । कमरान बाध्यताले मात्र बलिङमा आएका थिए । खासमा उनी प्रारम्भिक ब्याट्सम्यान हुन् ।

१८औं ओभरको दोस्रो बल फ्याँकेपछि कतारका बलर अमिर फारुक घाइते हुन पुगेपछि बाँकी ४ बल फ्याँक्न कमरानलाई पठाइएको थियो । आमिरले घाइते नहुँदासम्म २.२ ओभरमा १४ रन खर्चिएर एक विकेट लिएका थिए । कमरानले पनि सुरुका ४ बलमा ६ रनमात्र दिएका थिए । सोही कारण कप्तानले विश्वास गरेर उनलाई अन्तिम ओभरमा बलिङ गर्न पठाएका थिए ।

पाकिस्तानको मुल्तानमा जन्मिएका ३६ वर्षीय कमरानको मिडियम पेस बलिङमा दीपेन्द्रले मैदानको सबैतिर छक्का प्रहार गरेका थिए । हालसम्म ३३ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका कमरानले ३५ बल मात्र फ्याँक्दै ९० रन दिएका छन् भने विकेट लिन सकेका छैनन् । यो खेलमा नेपालले २११ रनको लक्ष्य दिएको थियो भने कतार ३२ रनले पराजित भयो ।

एक दिवसीय अन्तर्राष्ट्रियतर्फ

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा मान्यता प्राप्त सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने कीर्तिमान भने दक्षिण अफ्रिकाका हर्सल गिब्सको नाममा छ । गिब्सले नेदरल्यान्ड्सविरुद्ध सन् २००७ मा भएको विश्वकपमा उक्त सफलता हात पारेका थिए ।

३०औं ओभरमा उनले डान भान बन्जीलाई ६ बलमा ६ छक्का प्रहार गरेका थिए । बन्जीले त्यसअघि ३ ओभर बलिङ गर्ने क्रममा २० रनमात्र खर्चिएका थिए । दक्षिण अफ्रिकाले २९ ओभरमा २ विकेट गुमाएर १७८ रन जोडेको थियो । तर, गिब्सले त्यसपछि बन्जीलाई आक्रमण सुरु गरेका थिए । ४० ओभरमा घटाइएको खेलमा दक्षिण अफ्रिकाले ३५४ रनको लक्ष्य दिएर पछि २२१ रनले खेल जितेको थियो । उक्त महँगो ओभरपछि बन्जीलाई त्यस खेलमा डच टोलीले पुनः बलिङमा पठाएन ।

त्यसपछि नेपालका दीपेन्द्रले शनिबार कीर्तिमान बनाएकै मैदानमा अमेरिकाका जसकरन मल्होत्राले तीन वर्षअघि पीएनजीविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।

जसकरनले ५०औं ओभरमा गाउडी टोकालाई ६ छक्का प्रहार गरेका थिए । टोकाले त्यसअघि ६ ओभरमा केवल ३० रन दिएका थिए । जसकरनको १७३ रनको योगदानमा अमेरिकाले २७२ रनको लक्ष्य दिएको थियो । यो खेल अमेरिकाले १३४ रनले जित्यो ।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा गिब्स र जसकरनले मात्र एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *