डोल्पामा पुग्यो द्रूत गतिको इन्टरनेट एफटीटीएच – Nepal Press

डोल्पामा पुग्यो द्रूत गतिको इन्टरनेट एफटीटीएच

काठमाडौं । नेपाल टेलिकमले डोल्पामा अप्टिकल फाइबर नेटवर्कमा आधारित उच्च गतिको इन्टरनेट सेवा फाइबर टु द होम (एफटीटीएच) सेवा डोल्पामा विस्तार गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आइतबार डोल्पामा एफटीटीएच नेटवर्क सेवाको भर्चुअलका माध्यमबाट शुभारम्भ गरेकी हुन् ।

उक्त अवसरमा मन्त्री शर्माले इन्टरनेट डिजिटल नेपाल निर्माणको महत्वपूर्ण पूर्वाधार भएकाले सरकारले देशैभरि उच्च गतिको इन्टरनेट विस्तारको कामलाई अभियानकै रुपमा अघि बढाएको बताइन् ।

‘डोल्पामा उच्च गतिको इन्टरनेट पुग्नु सञ्चार क्रान्ति नै हो’, उनले भनिन्, ‘डोल्पामा सेवा पुगेको छ भने मुगुमा जडानको काम भइरहेको छ । हुम्लामा अर्को वर्ष जडानको काम अघि बढ्नेछ । वर्षौंदेखि पछाडि पारिएका यी जिल्लामा उच्च गतिको इन्टरनेट पुर्‍याएर सरकार दुर्गम र सुगमको दूरी मेट्न खोजिरहेको छ । सरकारले मुलुकभर इन्टरनेट सेवा पुर्‍याउने नीतिलाई प्राथमिकता दिएको छ ।’

दूरसञ्चार सेवा आर्थिक व्यापारसँग पनि जोडिने र दुर्गममा सेवाग्राही थोरै हुने भएकाले लगानीअनुसारको प्रतिफल नहुने भए पनि नागरिकको बसोबास हुने सबै ठाउँमा सेवा विस्तार गर्ने राज्यको दायित्व भएकाले दुर्गमको सेवा विस्तारमा जोड दिइएको उनले स्पष्ट पारिन् ।

मन्त्री शर्माले राजमार्ग तथा सबै सडक क्षेत्रमा दूरसञ्चारको पहुँच स्थापित गर्न हाइवे कभरेज, नमुनाको सेवा थालनीका लागि १९ जिल्लालाई नमुना जिल्ला घोषणा, एफटीटीएच विस्तार र सेवाग्राहीसम्म पुगेर गुनासो सुनुवाइ गर्ने कार्यलाई अभियानकै रुपमा अगाडि बढाएको जानकारी दिइन् ।

पूर्वमन्त्री सत्या पहाडीले सञ्चारको क्षेत्रमा पछाडि परेको डोल्पामा उच्च गतिको इन्टरनेट पुगेकोमा खुशी व्यक्त गर्दै नियमित र गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन आग्रह गरिन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले सूचना तथा प्रविधिको युगमा निजी क्षेत्र पुग्न नसकेको क्षेत्रमा पुग्नु सरकारको दायित्व भएको बताए ।

कार्यक्रममा डोल्पाबाट भर्चुअल रुपमा सहभागी नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक उमेशप्रसाद साह, डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहाल र जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम रोकाले उच्च गतिको इन्टरनेट प्राप्त गरेकोमा खुशी व्यक्त गरेका थिए ।

डोल्पा यो सेवा प्राप्त गर्ने ७५ औं जिल्ला बनेको छ । यसअघि रुकुम पूर्वमा ७४औं जिल्लाको रुपमा यो सेवा विस्तार गरिएको थियो ।

मुगुमा हाल जडान भइरहेको छ । हुम्लामा आगामी वर्षमा जोड्ने योजना रहेको नेपाल टेलिकमले जनाएको छ । अब दुई जिल्लामा सेवा विस्तार गरेसँगै सरकारले ७७ वटै जिल्लामा उच्च गतिको इन्टरनेट सेवा विस्तार गरिसक्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर