आईफोन चलाउनेले नै किन बोक्छन् थप मोबाइल र पावर बैंक ? – Nepal Press

आईफोन चलाउनेले नै किन बोक्छन् थप मोबाइल र पावर बैंक ?

काठमाडौं । साइराम उपरकोटी दुई वर्षदेखि आइफोन ११ चलाइरहेका छन् । उनी जहिल्यै आफूसँग ब्याकअपका लागि अर्को फोन पनि बोक्छन् ।

साइराम ढुक्क भएर करिब ९० हजार रुपैयाँ पर्ने आईफोन चलाउन सक्दैनन् । त्यसैले अर्को स्मार्टफोन बोक्ने गरेको बताउँछन् । उनलाई सधैं आइफोनको चार्ज सकिने डर भइरहन्छ ।

उपरकोटी भन्छन, ‘सबै कुरा पहिले खरिद गर्दा ठीकै हुन्छ । आईफोनको समस्या भनेकै चार्ज नटिक्ने हो । सामान्य इन्टरनेट तथा फोन कल गर्दा लामो समय चार्ज टिक्छ । तर, फोटो र भिडियो बनाउँदा अत्यधिक मात्रामा चार्ज सखाप हुन्छ । आईफोन बोक्नेहरुका लागि अर्को ब्याकअप फोन बोक्नु अनिवार्य शर्त हो ।’

करिब ५ वर्षअघि ‘आईफोन ६’ खरिद गरेका केशव भुल सधैं पावर बैंक बोकेर हिँड्छन् । आईफोन चार्ज नटिक्ने समस्या भोग्नेहरुमध्ये भुल पनि एक हुन् । करिब ६० हजार रुपैयाँको आईफोन बोक्दा पनि ढुक्क छैनन् उनी पनि ।

भुल भन्छन्, ‘आईफोन बोकेदेखि चार्ज नटिक्ने समस्याबाट गुज्रिरहेको छु । मोबाइलसँगै पावर बैंक बोक्नु त अनिवार्य नै भइसक्यो । केही महिनाअघि क्याट्री फेरेको थिएँ । तैपनि समस्या उस्तै छ ।’

आईफोनमा किन टिक्दैन चार्ज ?

आईफोनका हरेक मोबाइलमा एड्भान्स र क्वालिटीका इन्स्टुमेन्टहरु प्रयोग गरिएका हुन्छन् । जसले गर्दा यसलाई अन्य फोनहरुभन्दा हेभीखाले स्मार्टफोन मानिन्छ । अधिकांश प्रयोगकर्ताले आईफोनका हरेक सिरिजमा लामो समय चार्ज नटिक्ने समस्या आएको बताउँदै आएका छन् ।

आईफोन खरिद गर्दा त्यसमा ब्याट्री हेल्थ १०० प्रतिशत हुन्छ । जुन प्रयोग गर्दै जाँदा घट्ने हुन्छ । आईफोनको ब्याट्री हेल्थ ९० प्रतिशतभन्दा तल झरेमा चार्ज लामो समय नटिक्नुलाई समान्य नै मान्न थालिएको छ । तर, ९० प्रतिशतभन्दा बढी ब्याट्री हेल्थ हुँदा पनि चार्ज नटिक्नु असामान्य मान्न सकिन्छ । सामान्यतया ८० देखि ९० प्रतिशत ब्याट्री हेल्थ कम हुँदा पनि मोबाइल ४ देखि ५ घण्टा मज्जाले चलाउन सकिन्छ ।

आईफोनबाट लिइने फोटो तथा भिडियोको क्वालिटीले गर्दा सबैभन्दा बढी चार्ज क्यामराबाट खपत हुने गर्छ । यद्यपि गेम खेल्दा पनि चार्ज खपत बढी हुने गर्दछ । तर, क्यामरामा सबैभन्दा बढी चार्ज खपत हुने प्रयोगकर्ताहरु बताउँछन् ।

कम्पनीले आईफोन १४ प्रो-माक्समा चार्ज बढी टिक्ने दाबी गर्दै आएको छ । आईफोनले आफ्ना हरेक मोडलहरुमा ब्याट्री हेल्थका लागि दाबी पेश गर्दै आए पनि क्यामरामार्फत खपत हुने चार्जको समाधान निकाल्न सकेको छैन ।

पर्सनल हटस्पोट खुला भएको बेला पनि केही प्रतिशत ब्याट्री खपत हुन्छ, जसले गर्दा छिट्टै चार्ज सकिन्छ । कुनै समयमा चार्जमा राखेर भुल्दा चार्ज फुल भएर मोबाइल तात्छ । यसले पनि ब्याट्री हेल्थलाई घटाउँछ । जसको कारणले पनि चार्ज टिक्न कम हुँदै जान्छ ।

मोबाइलमा नोटिफिकेसन अन हुँदा पनि चार्ज खपत भइरहेको हुन्छ । लामो समयसम्म मोबाइल चलाइरहँदा र रिस्टार्ट नगर्दा पनि ब्याट्री हेल्थलाई असर पर्ने हुन्छ ।

मोबाइल चार्ज गर्ने पोर्टले पनि ब्याट्रीको हेल्थमा असार पार्नसक्ने हुन्छ । चार्ज नटिक्ने समस्यालाई रिबुट गरेर, एप अपडेट र रिसेट गरेर समाधान गर्न सकिन्छ । यसले केही मात्रामा भए पनि चार्जको समस्यालाई सम्बोधन गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर