गैंडाकाे आक्रमणमा मारिएका नेचर गाइड सुवास : पर्यटक बचाए, आफू बचेनन् – Nepal Press

गैंडाकाे आक्रमणमा मारिएका नेचर गाइड सुवास : पर्यटक बचाए, आफू बचेनन्

चितवन । शनिबार नेपाली नयाँ वर्ष २०८१ को पहिलोदिन देशभर रमाइलो थियो । नेपालीहरु आ-आफ्ना परिवारसँग रमाइरहेका थिए । गोरखा आरुघाटका ३३ वर्षीया सुवास रेग्मीको पनि परिवार छन् । चितवनको सौराहामा डेरा गरी बस्ने सुवास श्रीमती र एक छोरालाई डेरामा नै छोडेर ड्यूटीमा थिए सुवास ।

सुवास रेग्मी अनुमति प्राप्त पर्यटकको पथप्रदर्शक, (नेचर गाइड) हुन् । उनलाई नयाँ वर्ष मनाउने रमाइलोको छुट्टीमा बस्ने फूर्सद भएन, शनिबार । नेपालकै मुख्य पर्यटकीय गन्तव्य मध्ये एक सौराहा क्षेत्रमा बसेर १२ वर्षदेखि नेचर गाइडको काम गर्दै आएका सुवास रेग्मीलाई हिजो दुई जर्मन नागरिकलाई जंगल घुमाउने जिम्मेवारी थियो ।

चितवन राष्ट्रिय निकुञ्ज सहित यसआसपासका जंगलमा पर्यटक घुमाउने अनुमति प्राप्त सुवास बिहान ७ बजे आफू काम गर्ने होटल जंगल वल्र्ड रिसोर्टबाट जंगल वाकको लागि निस्किए ।

होटलका म्यानेजर सुजन ढकालका अनुसार सामान्यतया जंगल वाक २ घण्टाको हुने गर्छ । दुई जर्मन पर्यटक लिएर होटलबाट सात बजे निस्किएपछि हात्ती प्रजनन केन्द्र खोरसोरबाट ढुंगामा ४५ मिनेट सयर गरेपछि बाँकी डेढ घण्टा जंगल घुमेर होटल फर्किने सेड्युल थियो उनको ।

ढकालका अनुसार साढे ९ बजेसम्म उनीहरु जंगलबाट निस्किसकेको हुनुपर्ने थियो । तर, हिजो जंगल वाकमा गएका सुवास फर्किएनन् ।

आमा गैँडाको आक्रमणले गयो ज्यान

नेचर गाइड एशोसिएसन चितवनका अध्यक्ष अनिल गुरुङका अनुसार हिजो पर्यटक लिएर गएका सुवासलाई आमा गैँडाले आक्रमण गरेको थियो ।

सुवासले घुमाउन लगेका दुई जर्मन पर्यटकसँग कुराकानी गरेका अध्यक्ष गुरुङले नेपाल प्रेसलाई जानकारी दिए अनुसार उनीहरु जंगल हेर्दै रमाउने क्रममा एक्कासी गैँडासँग आमनेसामने भएको थियो ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको मृगकुञ्ज उपभोक्ता वन क्षेत्रमा नेचर गाइडले जंगल वाकमा पर्यटक घुमाउने लगभग एउटै जसो रुट छ । जुन हात्ती प्रजनन केन्द्र खोरसोरबाट सुरु हुन्छ ।

ढुङ्गामा त्यहाँबाट निस्किएपछि उनीहरु ४५ मिनेटमा जंगल जान्छन् । जहाँ नजिक नजिकको दुरीमा दुईवटा ताल छ । एउटा राइनो र अर्को बबताल । पानी जम्ने दलदल भएको र घाँसहरु बढी हुने भएकोले यो मौसममा गैँडा त्यस क्षेत्रमा पाइने संभावना बढी हुन्छ ।

अध्यक्ष गुरुङका अनुसार अघिअघि आफू र पछि दुई पर्यटक लिएर गएका सुवासहरुसँग जम्मा १० मिटरको दुरीमा एक्कासी बच्चासहितको गैँडासँग जम्काभेट भयो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार गैँडा आक्रामक हुने कारणहरुमध्ये एउटा बच्चासँगै हुँदा पनि हो । बच्चासँग हुँदा गैँडा आक्रामक भन्दा पनि बच्चा जोगाउन प्रतिरक्षा गर्न खोज्छ, हिजोको घटना पनि त्यस्तै भएको बुझिन्छ, उनले भने ।

तिवारीले भनेजस्तै जर्मन नागरिकले पनि बच्चासहित भएको आमा गैँडाले एक्कासी आक्रमण गर्न लागेपछि सुवासले रन… भनेर आफूहरुलाई भगाएर आफू गैँडासँग लडेका बताएका थिए ।

बिहान करिब पौने ९ बजेको समयमा गैँडासँग इन्काउन्टर भएपछि उनले सबैभन्दा पहिला पर्यटक भगाए । आफूसँग भएको लौरोको सहायताले सकेसम्म ज्यान बचाउन खोजेको देखिएको त्यहाँ खोज्न पुग्नेहरुले बताएका छन् ।

गैँडासँग लडिरहेका सुवासलाई बचाउन भने तत्काल कोही पुग्न सकेनन् । भागेर ५०० मिटर दक्षिणमा रहेको गोरेटो बाटोमा आइपुगेर ति पर्यटकले अर्को समूहलाई खबर गरेपनि हात्ती सहितको टोली लिएर सुवास खोज्न पुग्दा करिब ३ घण्टापछि मरणासन्न अवस्थामा सुवास भेटिएका थिए ।

सुवाससँगै गएका दुई पर्यटक चढेको हात्ती सहितको टोलीले भेट्दा सुवास सासले मात्रै बोल्न सक्ने अवस्थामा रहेका अध्यक्ष अनिल बताउँछन् । अनिल भन्छन्, —ति पर्यटकको टोलीसँग भेटेपछि सुवासले, सेभ मी भनेर आफ्नो मोबाइल दिएछन् । तर, सुवासको शरीरबाट धेरै रगत बगिसकेको थियो ।

गैँडाको आक्रमणबाट अन्तिम अवस्थामा पुगिसकेका थिए । भेटिए लगत्तै जंगलबाहिर हात्तीमा ल्याइ एम्बुलेन्सबाट भरतपुरको चितवन मेडिकल कलेज ल्याइए पनि सुवासको ज्यान बच्न सकेन । उनको हिजो नै पोष्टमार्टम पछि अन्त्योष्टी गरिएको जनाइएको छ ।

नेचर गाइडको पेशागत धर्म शतप्रतिशत पालना

नेचर गाइडको पहिलो पेशागत पर्यटकलाई बचाउनु हो । गुरुङ सुवासले आफ्नो पेशाको जिम्मेवारी पूर्ण निभाएको बताउँछन् । उनी गैँडासँग लडेर पनि बाहिर निस्किन कोशिस गरेको घाइते अवस्थामा हिड्दा रगत लागेको बाटोले पनि देखाएको अनिलले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा हिजो सुवासको मृत्यु भएपनि निकुञ्जभित्र । मध्यवर्ती क्षेत्र आसपास अहिलेसम्म चार जना नेचर गाइडको मृत्यु भएको रेकर्ड नेचर गाइड एशोसिएसन चितवनसँग रहेको छ । ति सबै गाइडको गैँडाको आक्रमणबाट ज्यान गएको र उनीहरुले पर्यटकको भने ज्यान जोगाएको अध्यक्ष गुरुङले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर