वैशाख ३ गते नागढुंगा-नौबिसे सुरुङमार्गको ब्रेक थ्रू हुने – Nepal Press

वैशाख ३ गते नागढुंगा-नौबिसे सुरुङमार्गको ब्रेक थ्रू हुने

काठमाडौं । नेपालमा नै पहिलो पटक गाडी गुड्ने नागढुंगा–नौबिसे सुरुङ मार्ग दुईतर्फ जोड्ने ब्रेक थ्रू (अन्तिम छेड्ने काम) हुने भएको छ ।

यस अघि २०८० साउन २२ गते नागढुंगा–नौबिसे सुरुङमार्गको रेस्क्यू टनेल ‘ब्रेक थ्रू’ गरिएको थियो । यो सुरुङमार्गको सञ्चालनमा आएपछि सबैभन्दा पहिलो गाडी गुड्ने सुरुङमार्ग हुने छ । भने, सिद्ध बाबामा पनि सुरुङमार्गको काम भइरहेको छ ।

वैशाखभन्दा अघि नै नागढुंगा–नौबिसे सुरुङ मार्ग ब्रेक थ्रू गर्ने योजना सरकारले लिएको थियो । तर, स्थानीयको आन्दोलनका कारण केही समय पछाडि धकेलिए पनि अब वैशाख ३ गते नागढुंगा–नौबिसे मार्गको ब्रेक थ्रू हुने आयोजना प्रमुख नविनमान श्रेष्ठले बताए ।

उनले भने, ‘वैशाख ३ गते १२ः४५ मा नागढुंगा–नौबिसे सुरुङ्गमार्ग ब्रेक थ्रू हुने छ । ब्रेक थ्रू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ गर्ने छन् । भोलि सुरुङ्गमार्ग ब्रेक थ्रू भएपछि सञ्चालनमा आउन करिब १ वर्ष लाग्ने छ । भोलिबाट टनेलको सुरुङ निर्माणको काम सकिने छ । हालसम्म ७२ प्रतिशत सुरुङ मार्गको काम सम्पन्न भएको छ । भने, बाँकी २८ प्रतिशत काम छ ।’

२ मिटर क्षेत्रलाई ब्लास्टिङ्ग गरेर सुरुङमार्गको पूर्वनागढुंगा र पश्चिम सिस्नेखोलातर्फबाट एकआपसमा मुख जोड्ने कार्य तालिका तयार पारिएको छ ।

जापानी कम्पनी हाजमा एण्डो कर्पोरेसनले सो सुरुङ्गमार्ग निर्माण गरेको हो । सुरुङ्गमार्ग केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा २०७६ कात्तिक ४ मा शिलान्यास गरेका थिए । शिलान्यास भएको ४२ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर काम सुरू भएको थियो । तर, २०८१ सालको अन्त्यतिर मात्रै सुरुङ्गमार्ग सञ्चालनमा आउने भएको हो ।

कोरोना, लकडाउन र मुआब्जालगायतका अवरोधले सुरुङ मार्ग निर्माणमा ढिलाइ भएको हो ।

सुरुङमार्गमा ‘सुरुङ र सडक गरी कुल ५ दशमलव १३ किलोमिटर लामो तीन लेनको हुनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् भने बाहिरिने सवारीसाधन एक लेनबाट जाने बताइएको छ । यस मार्गमा सुरुङको कुल लम्बाइ २ दशमलव ६ सय ८८ किमी र सडकको लम्बाइ २ दशमलव ४५ किमी हुनेछ ।

निर्माण सम्झौताअनुसार सुरुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २।३० किमी र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट ५ सय ६५ मिटर पक्की सडक समेत बनाउनुपर्ने छ ।

सुरुङमार्ग बनेपछि नौबिसे–थानकोटको झण्डै ८ किलोमिटर लम्बाइसँगै झण्डै ३० मिनेट यात्रा समय छोटिने अपेक्षा लिइएको छ । कुल २२ अर्ब रुपैयाँमा ४२ महिनाभित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले नागढुंगा–नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको थियो ।

जापान सरकारको करिब १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जामा नेपाल सरकारको समेत लगानीमा बन्दै गरेको हो ।

धादिङको धुनिबेँसी नगरपालिकाको सिस्ने खोलाबाट सुरू भई काठमाडौंको चन्द्रागिरि नगरपालिका बलम्बुमा निस्किने छ । सुरुङ्गमार्गको ब्रेक थ्रू भएपछि लाइनिङ, लाइटिङ र इर्मेजेन्सीलगातको काम हुने श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर