सुदूरपश्चिममा नयाँ वर्षसँगै ‘बिसु’ पर्व मनाइँदै – Nepal Press

सुदूरपश्चिममा नयाँ वर्षसँगै ‘बिसु’ पर्व मनाइँदै

डोटी । डडेल्धुराको आलिताल गाउँपालिका–४ का लालवहादुर बोहरा शुक्रवार कैलालीको अत्तरियामा भेटिए । तीन वर्ष पहिले श्रीमती र दुई छोराछोरीसहित कामको सिलसिलामा भारतको पञ्जाव गएका लालवहादुर बिशौं (बिसु) मनाउनका लागि घर आएका थिए ।

‘बिशौं मनाउनका लागि १५ दिनको छुट्टीमा आएँ’ लालबहादुर भन्छन् ‘यही मौकामा सबैसँग भेटघाट पनि हुन्छ, आफ्नै गाउँघरमा बिशौं पनि खेलिन्छ ।’ उनी चाँडपर्वको बेलामा आफ्नो गाउँघरको असाध्यै माया लाग्ने गरेको बताउँछन् ।

अछाम साँफेवगर नगरपालिकाका भक्त बिक आफ्नो घर जाने हतारोमा थिए । भारतको मुम्वईबाट आएका बिक कैलालीको अत्तरियामा गाडी खोज्दै थिए । परिवारसँगै बिशौं मनाउने रहरका साथ उनी पनि तीन दिनको यात्रापछि अत्तरिया पुगेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा शनिवार ‘बिशौं’ पर्व धूमधामका साथ मनाइँदैछ । नयाँ वर्षको पहिलो दिनलाई यस क्षेत्रमा बिशौं पर्वको रुपमा मनाउने चलन छ । बिशौं पर्वको अवसरमा मीठा–मीठा खानाका परिकार बनाउने र सिस्नु लगाउने प्रचलन रही आएको छ ।

नयाँ वर्षको पहिलो दिन सिस्नु लगाउँदा शरीरमा कुनै रोगव्याध नलाग्ने बिश्वासका साथ बिहानै नुहाईधोई खुट्टाको बुढी औंलामा सिस्नु लाउने गरिन्छ । यसका साथै देवर–भाउजु, नन्द–भाउजु र साली–भिनाजुले एक–अर्कालाई सिस्नु पानी छ्यापेर रमाईलो गर्ने गर्छन् ।

सिस्नु लगाउँदा शरीरमा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग नलाग्ने जनबिश्वास रही आएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्लाहरुमा रहेको सिस्नु खेल्ने प्रचलन बिस्तारै कम भएको देखिन्छ ।

एक सातामा ५७ सय भित्रिए

बिशौं पर्व मनाउन रोजगारीको सिलसिलामा भारतका बिभिन्न स्थानमा रहेका सुदूरपश्चिमबासी घर फर्किएका छन् । स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक साताको अवधीमा पाँच हजार सात सय ४९ जना स्वदेश फर्केका छन् ।

शनिवार मात्रै सुदूरपश्चिमका बिभिन्न नाकाबाट एक हजार ५८ जना भित्रिएका छन् । यस्तै, शुक्रवार सात सय ३२ जना स्वदेश फर्किएका थिए । चैत्र २८ गते एक हजार दुई सय ८७, २७ गते एक हजार एक सय ८५, २६ गते दुई सय २८, २५ गते पाँच सय ४३ र २४ गते सात सय १६ जना स्वदेश फर्किएका निर्देशनालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

वैशाख सुरु भएसँगै गर्मी मौषम सुरु हुने र गर्मीमा रोगब्याधी तथा महामारीको समय सुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नु लगाउँदै घरपरिवारका सदस्यसँगै बसेर बिसु मनाउने चलन अछामका भक्त बिक बताउँछन् । उनी भन्छन् ‘बुढापाकाहरुले भने अनुसार गर्मी र बर्षातको समयमा आफ्नो स्वास्थ्यप्रति सचेत रहनका लागि बिशौं मनाईन्छ ।’ उनले आफु पनि परिवारका सदस्यहरुसंगै बिशौं मनाउन घर आएको बताउँछन् ।

यस दिन सुदूरका बिभिन्न समुदायमा लौरो नचाउने, बाघ भालु जस्ता जंगली जनावरहरुको जस्तै अभिनय गर्ने चलन पनि रहेको छ । यस्तो गर्दा जंगली जनावरहरुबाट हुने आक्रमणबाट बच्ने बिश्वास रहेको छ । जंगलबाट लौरो काटेर ल्याउने र त्यसलाई रंग रोगनद्वारा आकर्षक बनाई प्रत्येकको घरमा वर्षभरी राख्ने चलन छ । यस लौरोलाई स्थानीय भाषामा ‘बिस्या लठ्ठी’ भन्ने गरिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *