एसीसी प्रिमियर लिगमा नेपालको विजयी सुरुवात, मलेसियाविरुद्ध रोमाञ्चक जित – Nepal Press

एसीसी प्रिमियर लिगमा नेपालको विजयी सुरुवात, मलेसियाविरुद्ध रोमाञ्चक जित

दीपेन्द्रका अलराउन्ड प्रदर्शन, गुल्शनको उत्कृष्ट फिनिसिङ

काठमाडौं । ओमानमा सुरु भएको एसीसी प्रिमियर लिगमा नेपालले विजयी सुरुवात गरेको छ । रोमाञ्चक म्याचमा नेपालले मलेसियालाई ५ विकेटले हरायो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गरेका थिए । ब्याटिङमा संघर्ष गरेको नेपाललाई गुल्शन झाले साहसिक फिनिसिङ गर्दै जितसम्म पुर्याए ।

ओमानको अल अमेरत क्रिकेट ग्राउन्डमा भएको खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेको थियो । नेपाली बलरहरुले कसिलो बलिङ गर्दै मलेसियालाई १४३ रनमा रोक्न सफल भए । मलेसियाले ३ विकेट मात्र गुमाए पनि ठूलो स्कोर बनाउन सकेन । दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा केवल १४ रन खर्चेर २ विकेट लिए ।

स्लो पिचमा १४४ रनको सामान्य लक्ष्य पनि नेपाललाई भारी भएको थियो । नेपाली ओपनरहरुले पहिलो विकेटका लागि ४९ रनको बलियो साझेदारी गरे, तर रनगति उकास्न सकेनन् । फलतः पछि आउने ब्याट्सम्यानहरुलाई दबाब भयो ।

पहिलो विकेटका रुपमा नेपालले कुशल भुर्तेललाई २४ रनमा गुमायो । उनले २४ बल खेल्दै ३ छक्का प्रहार गरेका थिए । आसिफ शेख ३५ बलमा चार चौकासहित ३२ रन बनाएर आउट भए । दुवै ओपनर आउट भएपछि कप्तान रोहित पौडेलले नेपालको इनिङ अगाडि बढाए । उनले २४ बल खेल्दा १ छक्का सहित २८ रन बनाएर आउट भए ।

कप्तानलाई गुमाएपछि नेपालमाथि दवाव बढेको थियो । कुशल मल्ल पनि ७ रनमै आउट भएपछि खेल संवेदनशील मोडमा पुग्यो । दीपेन्द्र सिंह ऐरीले ११ बलमा २० रन हान्दै रनगति बढाउन मद्दत गरे । उनी पनि आउट भएपछि नेपाल थप समस्यामा पर्यो ।

अन्तिम तीन ओभरको खेल बाँकी छँदा नेपाललाई ३० रन चाहिएको थियो । क्रिजमा थिए दुई युवा ब्याट्सम्यान गुल्शन झा र सन्दीप जोरा । नेपाललाई केही बाउन्ड्रीको सख्त आवश्यकता थियो । यसको जिम्मेवारी गुल्शनले लिए ।

१८ औं ओभरको दोस्रो बलमा मोहम्मद वफिकलाई गुल्शनले छक्का हानेपछि नेपाली समर्थकहको हौसला बढ्यो । यो ओभरमा नेपालले १३ रन बटुल्न सफल भयो ।

१९ औं ओभरको दोस्रो बलमा गुल्शन ड्रप भए । उनले हानेको कडा सटलाई फिल्डरले क्याच गर्न सकेनन् र बल बाउन्ड्री पार भयो । लगत्तैको बलमा गुलशनले रिभर्स स्वीपमा छक्का हानेर नेपाललाई जित नजिक पुर्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *