स्थिरता र समृद्धिमा लाग्न प्रेरणा आओस् : मन्त्रिपरिषद पूर्वअध्यक्ष रेग्मी – Nepal Press

स्थिरता र समृद्धिमा लाग्न प्रेरणा आओस् : मन्त्रिपरिषद पूर्वअध्यक्ष रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वाध्यक्ष खिलराज रेग्मीले परिवर्तनकारी शक्ति सबैले गम्भीर बहस र विमर्श गर्दै आगामी लक्षित मार्ग तय गर्नु जरुरी भइसकेको बताएका छन् ।

नव वर्ष २०८१ का पूर्वसन्ध्यामा आज शुभकामना सन्देश दिँदै उनले नेपालीका बीच शान्ति, सद्भाव र एकता कायम गर्दै स्थिरता र समृद्धिको यात्रामा लाग्न सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन् ।

नयाँ संविधान निर्माणपछि दुई पटक निर्वाचन भइसक्दा पनि मुलुकको स्थायित्व र समृद्धिको यात्रा धर्मराउँदो रहेको भनी चिन्ता व्यक्त गर्दै उनले अब पनि नभए कहिले हुने’ भन्ने प्रश्न सबैकासामु खडा भएको जनाएका छन् ।

पूर्वप्रधानन्यायाधीश रेग्मीको सन्देशमा भनिएको छ, ‘केन्द्रमा सत्ता समीकरण फेरिइरहँदा प्रदेश सरकारहरू तासका घर झैँ ढलिरहेका छन् । यस अवस्थामा स्थायित्व र समृद्धि कसरी ? ‘के सोचँें मैले के हुँदैछ अहिले’ भन्ने जस्तो भएको छ ।’

लामो समयदेखि आर्थिक, सामाजिक रूपान्तरण र परिवर्तनका लागि हामी आजपर्यन्त संघर्षरत रहेको जनाउँदै उनले समय र श्रम राजनीति व्यवस्थापनमै बढी खर्च गर्नुपर्दा अन्य गतिविधि सुस्त र कामचलाउ प्रकृतिका मात्र भएको विचार प्रकट गरेका छन् ।

उनले यस अवसरमा देशविदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा नयाँ वर्षको शुभकामना पनि व्यक्त गरेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर