विजय लामाले खोले दिदी र भान्जाको स्मृतिमा फाउण्डेसन, पारिश्रमिक सामाजिक काममा खर्चिने – Nepal Press

विजय लामाले खोले दिदी र भान्जाको स्मृतिमा फाउण्डेसन, पारिश्रमिक सामाजिक काममा खर्चिने

काठमाडौं । गायक विजय लामाले दीदी र भान्जाको स्मृतिमा ‘याङ्गजीन साङ्गे’ नामक फाउण्डेसन सञ्चालनमा ल्याएका छन् । देश-विदेशको सांगीतिक कार्यक्रममा प्राप्त पारिश्रमिकबाट २० प्रतिशत फाउण्डेसनका लागि छुट्याएर सामाजिक काममा खर्चिने उनको भनाइ छ ।

‘नखानु पानी तोङबाको’, ‘उँभो उँभो लेकमा म जाँदा’, ‘रोसी खोला पारी मेरो मामा’, ‘माया है बस्ला रसैले’ लगायतका चर्चित गीतका गायक हुन् लामा । फाउण्डेसनको रकमबाट पाठेघरको क्यान्सर भएका ग्रामीण महिलाको उपचारमा सहयोग गर्ने उनको योजना छ । त्यस्तै देशभरका वृद्ध र बाल आश्रमसँगै अनाथ, असहाय, गरिबका लागि पनि रकम खर्चिने लामाले बताए ।

फाउण्डेसनले लागुऔषध तथा दुर्व्यसनीमा फसेका युवायुवतीलाई सामान्य जीवनमा फर्काउन भूमिकासँगै मन्दिर, गुम्बा निर्माणमा पनि सहयोग गर्ने छ । फाउण्डेसनले याङ्गजीन साङ्गगे मेमोरियल पार्क गायक लामाकै गृह जिल्ला काभ्रेमा निर्माणको तयारी गरेको छ ।

आफूले दीदी याङ्गजीन लामालाई क्यान्सर र केही समयपछि भान्जा साङ्गगे रिन्जिन लामाको पनि हृदयघातबाट गुमाएको भन्दै दुवैजनाको आत्माको शान्तिको कामनासहित अभियानमा जुटेको गायक विजयले बताएका छन् ।

हालसम्म ४ सय बढी गीतमा स्वर भरिसकेका लामा अमेरिकाको लामो समयको बसाइपछि नयाँ एल्बमको तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *