दबाबमा अर्थतन्त्रः धरमरमा बैंक तथा वित्तीय क्षेत्र – Nepal Press
वर्ष समीक्षा २०८०

दबाबमा अर्थतन्त्रः धरमरमा बैंक तथा वित्तीय क्षेत्र

काठमाडौं । २०८० लागेसँगै अर्थतन्त्रका केही सूचकमा सुधार देखियो । विशेषगरी अर्थतन्त्रका बाह्य सूचक सकारात्मक बने । तर, आन्तरिक क्षेत्रको सुधारले गति लिन सकेन । अर्थशास्त्रीहरु बाह्यबाहेक सबै क्षेत्र नकारात्मक भएको टिप्पणी गर्छन् ।

यो वर्ष वैदेशिक व्यापार आयात (-२.६६ प्रतिशत) र निर्यात (-३.९९ प्रतिशत) दुबै खुम्चिए । जसले राजस्वलाई प्रभाव पार्‍यो । पूँजीगत खर्चमा पनि सुधार हुन सकेन । पूँजीगत खर्च १ खर्बभन्दा कम छ । यस्तै विदेशी लगानी पनि आकर्षित भएको देखिँदैन ।

युवाहरु विदेश पलायन बढ्दो छ । देशमा अझै पर्याप्त रोजगारी सृजना हुन सकेको छैन । समाजवादउन्मुख अर्थतन्त्र नारामै सीमित छ । कुल व्यवसायको ३२ प्रतिशत अनौपचारिक छ । यसले अर्थतन्त्रको अनौपचारिक क्षेत्र फस्टाउन थप मद्दत गरेको छ ।

लघुवित्त र सहकारीविरुद्धको आन्दोलन चरम विन्दुमा रह्यो । निजी क्षेत्रको मनोवल गिर्दो छ । शेयर लगानीकर्ताको आत्मविश्वास पनि कम भयो । बैकिङ क्षेत्रमा पनि केही समस्या देखियो । वर्ष २०८० समग्र अर्थतन्त्रमा कस्तो रह्यो ? यहाँ छोटो चर्चा गरिएको छः

बैंक तथा वित्तीय क्षेत्र, धरमर विश्वास

वर्ष २०८० बैंक तथा वित्तीय क्षेत्रका लागि केही असहज रह्यो । सहकारी र लघुवित्तले ठूलै समस्या भोग्नुप¥यो । लिएको ऋण नतिर्ने भन्दै एउटा जमात आन्दोलनमै उत्रियो । जसका कारण केही बैंक र लघुवित्तका ऋण उठ्नै छाड्यो । ऋण नउठेपछि खराब ऋण ह्वात्तै बढ्यो ।

अर्कोतर्फ वर्षौंदेखि तरलता (लगानीयोग्य रकम) अभावबाट जुध्दै आएका बैंक तथा वित्तीय संस्थामा २०८० सालमा तरलता भने फालाफाल भयो । अहिले पनि अधिक तरलताको स्थिति छ, ऋण प्रवाह कमजोर छ । निजी क्षेत्रको मनोबल गिरेका कारण कर्जा प्रवाह ज्यादै सुस्त छ । त्यसमाथि भाखा नाघेको कर्जाको संख्या बढ्दै गएको छ । बैंकहरुको खराब कर्जा औसतमा करिब साढे ३ प्रतिशत छ । लघुवित्तको साढे ६ प्रतिशत औसत खराब कर्जा छ । लघुवित्तहरु लगानी गरेको ऋण नउठेर समस्यामा छन् । सहकारीहरु बचत फिर्ता गर्न नसकेर समस्यामा छन ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुनमा बैंकहरूको कर्जाको ब्याजदर औसत १०.७८ प्रतिशतमा आएको छ । १३.०३ प्रतिशतसम्म पुगेको कर्जाको औसत ब्याजदर कम भएको छ । अर्कोतर्फ निक्षेपको ब्याजदर पनि निकै न्यून विन्दुमा आएको छ । मुद्दती निक्षेपमै अधिकतम ८ प्रतिशतसम्म ब्याजदर छ । पैसाको मूल्य घटेको छ । महँगीभन्दा ब्याजदर कम भएको वर्षको रुपमा २०८० साललाई लिइन्छ ।

बैंकको पनि अविश्वास पैदा गराउने भ्रम फैलाइयो, जसका कारण एउटै बैंकबाट एक सातामै २७ अर्ब रुपैयाँसम्म झिकियो । राष्ट्र बैंकले नेपालका बैंकहरु सुरक्षित रहेको सार्वजनिक रुपमै स्पष्टीकरण दिनुपर्‍यो । केही बैंकर कर्जा दुरुपयोगमा पक्राउ पनि परे ।

यही वर्ष बैंकहरुलाई एफपीओ र मर्जरमा कर लगाउने नीति लिइयो, जुन विवादमा पनि पर्‍यो ।

व्यवसायी पक्राउ, निजी क्षेत्रमा तरंगित

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हड्पेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी पक्राउ परे । छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी गरेको घटनामा अनुसन्धान गर्न उनलाई पक्राउ गरियो । यो घटनाले प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुपलाई आहत बनायो ।

साथै प्रतिनिधिसभा सदस्यसमेत रहेका व्यवसायी विनोद चौधरीसँग पनि सोधपुछ गरियो । सरकारको यस कदमबाट निजी क्षेत्र रुष्ट बन्यो । गुनासो वा उजुरीकै भरमा पक्राउ पर्दा उद्योगी व्यवसायीको छवि धुमलिने भन्दै निजी क्षेत्रका छाता संस्थाहरुले विरोध गरे । उनीहरुले सरकार आफैंले लगानीको वातावरण बिगारेका भन्दै आलोचना गरे । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले पनि यस्ता घटनाले नजिकिँदै गरेको लगानी सम्मेलन प्रभावित हुने प्रतिक्रिया दिएका थिए ।

अर्कोतर्फ सूचना प्रविधि क्षेत्रको कोटिभिटी प्रकणले पनि हंगामा मच्चायो । निर्यातमा भ्याट लाग्ने भन्दै राजस्व अनुसन्धानले गरेको विश्लेषणपछि अमेरिकी राजदूतले अर्थमन्त्री वर्षमान पुनसँग गुनासो गरेपछि यो विषय प्रधानमन्त्री पुष्पकमल दाहालसम्म पुग्यो । अर्थमन्त्री र प्रधानमन्त्रीले यो विषयलाई गम्भीरताका साथ हेरिरहेका छन् । यद्यपि यसको किनारा लागेको छैन ।

वर्ष २०८० मा औद्योगिक उत्पादन करिब ५० प्रतिशत घटेको व्यवसायीका छाता संगठनहरुको दाबी छ । आर्थिक मन्दीका कारण समयकै साँवा ब्याज भुक्तान गर्न नसक्दा प्रतिदिन करिब १५० जना व्यवसायी कालोसूचीमा पर्न थालेका छन् । केही व्यवसायीले आत्महत्याको बाटोसमेत रोजे । काठमाडौंमा व्यवसाय कम हुँदा सटरहरु खाली भए ।

शेयर बजार: अन्योल र अस्थिर

वर्ष २०८० शेयर लगानीकर्ताका लागि अन्योलको वर्ष बन्यो । लगानीकर्ता नै अन्योलमा हुँदा बजारले लय समात्न सकेन । लगानीकर्ताको अपेक्षा धेरै तर नीतिगत परिवर्तन शून्य हुँदा बजार अस्थिर बनेको विश्लेषकहरु बताउँछन् ।

अर्थमन्त्री परिवर्तन, राष्ट्र बैंकले शेयर बजारमैत्री नीति ल्याइदेला भन्ने आशा लगानीकर्तामा थियो । तर, यी दुबै पक्षले काम नगरेको विश्लेषकहरुको टिप्पणी छ ।

एक वर्षअघि ५.५४ अंकले बढेको बजार १८४४.०२ विन्दुमा अडिएको थियो । त्यतिवेला बजार पूँजीकरण २६ खर्ब ८२ अर्ब ६६ लाख रुपैयाँ थियो । तर, वर्ष २०८० मा शेयर बजारमा केही बढोत्तरी देखिए पनि लगानीकर्ताहरु सन्तुष्ट छैनन् । त्यसको एक वर्षपछि बजार २०२५.७० विन्दुमा अडिएको छ । वर्ष २०८० को अन्तिम कारोबार दिन चैत २८ मा बजार १०.३० अंकले घटेको छ । बजार पूँजीकरण ३२ खर्ब १२ अर्ब ८० करोड पुगेको छ ।

यही वर्ष बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन शुरु भयो । नेपाल धितोपत्र बोर्ड लामो समयसम्म प्रमुखविहीन रह्यो, जसले गर्दा सार्वजनिक निष्कासन अवरुद्ध बन्यो । दोस्रो स्टक एक्सचेन्जको चर्चामा रस्साकस्सी नै भए पनि यस वर्ष आएन ।

राजस्व संकलन कमजोर

गत वर्षसम्म राजस्व संकलन ५५ वर्षयताकै कमजोर अवस्थामा रहेको टिप्पणी अर्थमन्त्रीदेखि सरोकारवाला निकायसम्मले गर्थे । त्यतिबेलासम्म यस्तो प्रकारको नकारात्मक वृद्धि आव २०२२/२३ मा भएको भनिएको थियो । यो वर्ष भने राजस्वमा सुधार हुँदै गएको छ । गत वर्ष चैत मसान्तसम्म ६ खर्ब ८३ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

यस वर्षको चैत २७ गतेसम्म ७ खर्ब ६ अर्ब ४९ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको यही अवधिको तुलनामा यो वर्ष साढे २२ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठेको छ । राजस्व संकलनमा सुधार देखिए पनि यो उत्साहजनक छैन ।

बाह्य क्षेत्रमा उच्च सुधार

वर्षको शुरुदेखि नै सुधारमा रहेको बाह्य क्षेत्र अन्ततिर आइपुग्दा उच्च सुधारको अवस्थामा छ । बाह्य क्षेत्रको दबाबका एक वर्षअघि नेपाल श्रीलंका हुन्छ भन्दै सार्वजनिक रुपमै बहस भएको थियो । वर्ष २०८० मा यसको डिस्कोर्स परिवर्तन भएको छ । अब उच्च विदेशी मुद्राको व्यवस्थापन कसरी हुन्छ भन्ने नयाँ डिस्कोर्स शुरु भएको छ ।

यता सोधान्तर स्थिति, चालू खातालगायतमा बचत देखिन्छ । फागुन मसान्तमा १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिती रहेको राष्ट्र बैंकको तथ्यांक छ । रेमिट्यान्स पनि २१.० प्रतिशतले बढेर ९ खर्ब ६१ अर्ब २२ करोड पुगेको छ ।

चालू खाता १ खर्ब ६६ अर्ब ८७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ५५ अर्ब २८ करोडले घाटामा थियो । शोधान्तर स्थिति ३ खर्ब २७ अर्ब ५५ करोडले बचतमा छ ।

सुनको भाउमा रेकर्ड

विश्व नै मन्दीको अवस्थामा पुग्दा लगानीको क्षेत्र परिवर्तन भएको देखिन्छ । विश्वभरका केन्द्रीय बैंकले ब्याजदर घटाउन लिएको नीतिले लगानी सुनतर्फ डाइभर्ट भएको विश्लेषकहरु बताउँछन् । विश्वमै भएको सुनको मूल्यवृद्धिले नेपाल पनि प्रभावमा पर्‍यो । २०७९ को चैत मसान्तमा प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य २०८० को चैत २८ मा १ लाख ३६ हजार ८ सय पुग्यो । हरेक दिनजसो ऐतिहासिक रेकर्ड बनाइरहेको सुनमा लगानी गर्न पाउने कानूनी व्यवस्था नेपालमा छैन ।

घरजग्गा कारोबार, भएन सुधार

चालू आर्थिक वर्षको साउन ३० मा सरकारले भू-उपयोग नियमावली २०८० संशोधन गर्दै कित्ताकाटमा लचिलो नीति लियो । यसपछि घरजग्गा कारोबारमा केही सुधारको संकेत देखियो । गत आर्थिक वर्षको जेठ २३ मा भू-उपयोग नियमावली २०७९ जारी भइसकेपछि पालिकाले कृषि र गैरकृषि छुट्याएरमात्रै कित्ताकाट गर्न पाइन्थ्यो । त्यसकारण साउनदेखि नै घरजग्गाको समग्र काम घटेको थियो । घरजग्गा कारोबारमा सुधार गर्न गत वैशाख ५ मा मन्त्रिपरिषद् बैठकले कित्ताकाट खुलाउने निर्णय गरेको थियो ।

तर, वैशाख १२ मा मन्त्रिपरिषद्ले जग्गा कित्ताकाटसम्बन्धी विषयलाई आर्थिक तथा पूर्वाधार समितिमा पठाउने निर्णय गर्‍यो । त्यसपछि निर्णयलाई अन्तिम रूप नदिई पुनः जग्गा कित्ताकाटसम्बन्धी विषयमा अध्ययन गर्ने प्रक्रिया अघि बढेको थियो । उक्त अध्ययन तथा सिफारिसका आधारमा गएको साउन ३० को मन्त्रिपरिषद् बैठकले कित्ताकाट खुलाउने निर्णय ग¥यो । यस वर्षको माघको तुलनामा फागुनमा घरजग्गा कारोबार केही बढेको छ ।

गत आर्थिक वर्षको सुरुदेखि नै मन्दी छाएको घरजग्गा कारोबारमा अहिले पनि उस्तै छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार फागुनमा देशभर ५० हजार ९९८ संख्यामा घरजग्गा कारोबार भयो । माघमा ५० हजार ९२१ संख्यामा घरजग्गा कारोबार भएको थियो । विभागको तथ्यांकअनुसार साउनमा ३९ हजार २६३, भदौमा ३५ हजार ६८६, असोजमा ४७ हजार ३९८, कात्तिकमा २६ हजार ४६ र मंसिरमा ४१ हजार ८५१ वटा घरजग्गा किनबेच भएका थिए ।

अर्थतन्त्रमा समस्या आउनुको एउटा कारणको रुपमा घरजग्गा खरिदबिक्री कम हुनुलाई पनि मानिन्छ । किनभने कारोबार ठप्प जस्तै हुँदा राजस्व संकलन पनि प्रभावित भएको थियो ।

वैदेशिक लगानीमा सुधार

मुलुकमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा केही सुधार आएको छ । चालू आवको सुरुदेखि नै मुलुकमा वैदेशिक लगानी क्रमिक रूपमा सुधार हुँदै गएको देखिन्छ ।

राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आवको साउनदेखि फागुनसम्म पाँच अर्ब ६३ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको हो । गत वर्ष सो अवधिमा एक अर्ब १७ करोड विदेशी लगानी भित्रिएको थियो ।

यस्तै आठ महिनाको अवधिमा पूँजीगत ट्रान्सफर ३०.२ प्रतिशतले कमी आई तीन अर्ब ८९ करोड कायम भएको छ । गत वर्ष सो अवधिमा पूँजीगत ट्रान्सफर पाँच अर्ब ५८ करोड कायम भएको थियो ।

लगानीका लागि अनुकूल वातावरणसँगै नीतिगत सुधारका कारण वैदेशिक लगानी बढ्दै गएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । यद्यपि प्रतिबद्धताभन्दा निकै कम वैदेशिक लगानी भित्रँदै आएको छ । यही वैशाख दोस्रो सातादेखि हुने लगानी सम्मेलन तयारीसँगै मुलुकमा भित्रिने विदेशी लगानीको रकम प्रत्येक महिना बढ्दै गएको देखिन्छ ।

पर्यटक आगमन, कोभिडयताकै उच्च

वर्ष शुरु भएसँगै पर्यटक आगमनमा सुधार देखिएको थियो । पर्यटन बोर्डको पछिल्लो तथ्यांकले कोभिडयताकै उच्च पर्यटक आगमन भएको देखाउँछ । मार्च महिनामा विभिन्न देशबाट एक लाख २८ हजार १६७ पर्यटक नेपाल घुम्न आएका थिए । सन् २०२० को शुरुदेखि नै कोभिड माहामारीका कारण अवरुद्ध भएको पर्यटन आगमन यो वर्ष उत्साहप्रद देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर