डोल्पामा डढेलो निभाउन गएका ३ सैनिकको मृत्यु घटना- जलिरहेको रुख ढलेर परेका थिए ट्रयापमा – Nepal Press

डोल्पामा डढेलो निभाउन गएका ३ सैनिकको मृत्यु घटना- जलिरहेको रुख ढलेर परेका थिए ट्रयापमा

काठमाडौं। डोल्पाको सदरमुकाम दुनेबाट करिब ३ सय मिटरको दुरीमा लागेको आगो निभाउन गएका नेपाली सेनाका तीन सैनिकको जलेर मृत्यु भएको छ ।

४ जना घाइते भएकामा एक जनाको जिल्ला अस्पताल र दुई जनाको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको थियो। ज्यान गुमाउनेमा नेपाली सेनाका जम्दार केशव जर्घामगर तथा जवानहरू आशिष बुढा र हेमन्त रावतको मृत्यु भएको हो।

आगो लागिरहेको ठाउँदेखि करिब २ सय मिटर दुरीमा रहेको सदरमुकाम सुरक्षा गुल्मबाट खटिएका उनीहरू रुखमा लागिरहेको आगोको ट्र्यापमा परेका थिए।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख हरिकृष्ण केसीले जलिरहेको रुख ढलेर तल पुगेपछि आगो सल्किएर अगाडि आउँदा सैनिकहरू ट्र्यापमा परेको बताए। ‘आगो नाघेर जान सक्ने अवस्था पनि भएन। त्यहाँ तल ५/६ सय मिटर अग्लो भिर थियो। अगाडि पहरा भएकाले चढ्ने अवस्था पनि रहेन’, डीएसपी केसीले भने।

केसीका अनुसार चैत २४ गते १२ बजेर १० मिनेटमा ठुली भेरी नगरपालिका-४ स्थित तिप्लामस्टा भवानी सामुदायिक वनमा आगो लाग्न थालेको थियो।

‘पहिलो दिन हामीले साँझसम्म लगाएर भुईँतिरको आगो निभाएका थियौँ। रुखमा बलिरहेको आगो भने निभाउन सकिएको थिएन। केही रुखहरूमा आगो रातभरि नै बलिरह्यो। भोलिपल्ट बिहान १० बजेतिर अलिक बढी बलिरहेको रुखको आगो निभाउन सैनिकहरू खटिइरहनु भएको थियो। हामी पुलिस र सशस्त्र २०/३० फिट टाढा रहेर अन्य रुखमा लागिरहेका आगो निभाइरहेका थियौँ’, उनले भने ।

पानी लैजान कठिन भएकाले सुरक्षाकर्मीले वरिपरिका स्याउलाले आगो निभाउन खोजिरहेका थिए ।

सेनाको ब्यारेकको ठिक पछाडि पट्टी रहेको डाँडामा डढेलो लागेको थियो । डाँडाको नजिकै रहेको ठुली भेरी-४ कै करिब एक सय ५० परिवारको बसोबास रहेको बस्तीमा आगो पुग्न सक्ने डरले सुरक्षाकर्मीले डढेलो नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी घटना भएको दिन गुल्मबाट १४ जना सैनिक आगो नियन्त्रणमा लागि गएको बताए। उनले घटना कसरी हुन गयो भन्नेबारे बुझ्ने काम भइरहेको पनि जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर