गाउँपालिका पूर्वउपाध्यक्षमाथि जिसस पूर्वप्रमुखको आरोप- ममाथि जातीय विभेद गरियो – Nepal Press

गाउँपालिका पूर्वउपाध्यक्षमाथि जिसस पूर्वप्रमुखको आरोप- ममाथि जातीय विभेद गरियो

झापा । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले आफूमाथि जातीय भेदभाव र दुर्व्यवहार भएको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।

आफूमाथि जिल्लाकै हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बरबहादुर गिरीले जातीय भेदभाव र दुर्व्यवहार गरेको भन्दै उनले प्रहरीमा जाहेरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पोर्तेलमाथि गिरीले चैत १८ गते फोन गरेर पार्टीको बैठकका विषयमा चासो राखेको र त्यसै क्रममा उनले पोर्तेलमाथि जातीय भेदभावजन्य शब्द प्रयोग गरेर दुर्व्यवहार र अपमान गरेको जाहेरीमा उल्लेख छ ।

प्रहरीका दर्ता भएको जाहेरीमा पोर्तेलले दलित भएकै कारण आफूमाथि विभेदजन्य शब्द प्रयोग गरेर अपमान र दुर्व्यवहार गरिएको उल्लेख गरेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीमा बुधबार जाहेरी दर्ता गराएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले जानकारी दिए ।

उनका अनुसार पोर्तेलले जाहेरीसँगै टेलिफोनको अडियोसमेत संलग्न गरेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी बिष्टले बताए ।

२०७४ सालमा एमालेबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित गिरी २०७९ मा त्यसै पालिकाको अध्यक्षमा बागी उम्मेदवार बनेका थिए । उनी केही समयअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । अहिले भने उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध रहेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *