वन डढेलो सङ्कट घोषणा गर्न माग – Nepal Press

वन डढेलो सङ्कट घोषणा गर्न माग

काठमाडौं । नेपाल वन प्राविधिक संघ (एनएफए)ले वन ढडेलो सङ्कट घोषणा गर्न सरकारसमक्ष माग गरेको छ । संघले प्रेस विज्ञप्ति जारी गर्दै बढ्दो वन डढेलो नियन्त्रणका लागि सङ्कटकाल घोषणा गर्न माग गरेको हो ।

महासङ्घका अध्यक्ष राकेश कर्णले वन डढेलोका कारण देशव्यापी रुपमा प्रभाव परेको, वातावरणीय प्रदूषण बढिरहेकोले वनलाई डढेलोबाट जोगाउन आवश्यक रहेको बताए ।

‘वन डढेलोको कारण वन विनाश भएको छ, बस्ती जोगाउनै मुस्किल भएको छ’, उनले भने, ‘वन डढेलो नियन्त्रण गर्न आधुनिक प्रविधि जुटाउन र सङ्कट घोषण गर्न आवश्यक छ ।’

उनले वन डढेलो नियन्त्रणको क्रममा मृत्यु हुने नेपाली सेनाका जवानप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरे ।

प्राकृतिक स्रोत संरक्षण कार्य चुनौतीपूर्ण रहेको डोल्पाको घटनाले प्रस्ट पारेको उनको भनाइ छ । कर्णाली प्रदेशको डोल्पा जिल्ला ठूलीभेरि नगरपालिका वडा नं ३ र ४, तिन्नाको मस्टा भवानी सामुदायिक वनमा लागेको वन डढेलो नियन्त्रण गर्ने क्रममा मंगलबार डोल्पास्थित देवीदत्त गुल्ममा कार्यरत ३८ वर्षीय जमदार केशवबहादुर जागा मगर, सिपाहीहरु २२ वर्षीय हेमन्त रावत र ३८ वर्षीय आशिष बुढाको मृत्यु भएको थियो । विजय कोइराला गम्भीर घाइते भई काठमाडौंमा उपचारत छन् ।

वन डढेलो नियन्त्रण गर्ने क्रममा नेपाली सेनाका जवानलाई संरक्षण शहीद घोषणा गर्न र घाइतेको निःशुल्क उपचार गर्न संघले माग गरेको छ । मृतकको परिवारजनलाई राहत उपलब्ध गराउन माग गरिएको छ ।


प्रतिक्रिया

One thought on “वन डढेलो सङ्कट घोषणा गर्न माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *