चीन भ्रमणको एक साताअघि जर्मन चान्सलरले खोले टिकटक खाता – Nepal Press

चीन भ्रमणको एक साताअघि जर्मन चान्सलरले खोले टिकटक खाता

काठमाडौं । चीन भ्रमणमा जाने एक साता अगाडि जर्मन चान्सलर ओलाफ सोल्जले टिकटक खाता खोलेका छन् । जर्मनीको विश्व च्यानल डीडब्ल्यूका अनुसार यही अप्रिल १३ मा चीन जान लागेका सोल्ज एक साता अगाडि टिकटक खाता खोलेर टिकटक प्रयोग गर्ने राष्ट्र प्रमुखमा नयाँ अनुहारको रुपमा थपिएका छन् ।

खाता खोलेपछिको पहिलो भिडिओमा कार्यालय र त्यसको चौरको भाग देखाइएको छ । आफूले खोलेको टिकटक खाताको विज्ञापन सोल्ज आफैंले गरेर एक्स (साविकको ट्विटर)मा लेखेका छन्, ‘म नाच्ने छैन । कसम !’

टिकटक प्रयोग व्यापक गरिरहेका युवाहरुसँग जोडिन र राजनीतिक मुद्दा पुर्‍याउन टिकटकमा चान्सलर जोडिएको उनको कार्यालयका प्रवक्ताले एक जानकारी सार्वजनिक गरेका छन् । दैनिक सरकारी कामकाजका पर्दा पछाडिका दृश्यहरु टिकटकमा आउने बताइएको छ ।

यही अप्रिल १३ मा चीन पुग्ने सोल्जले अप्रिल १६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा प्रधानमन्त्री लि छियाङसँग भेटवार्ता गर्नेछन् । चीन भ्रमणको छेको पारेर टिकटक खाता खोलिनु योजनाबद्ध नभएर संयोगमात्रै भएको सोल्जको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *