भैरहवा पुगेर देउवाले भने- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि पहल गर्छु – Nepal Press

भैरहवा पुगेर देउवाले भने- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनका लागि पहल गर्छु

रूपन्देही । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा चलाउनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । देउवाले प्रधानमन्त्री रहेको बेला ०५९ जेठ २ गते यो विमानस्थल शुभारम्भ गरेपनि अहिलेसम्म पूर्णरूपमा संचालन हुनसकेको छैन ।

बुधबार नेपाली कांग्रेस क्षेत्र नं ३ रुपन्देहीले आयोजना गरेको कार्यक्रम बोल्दै देउवाले विमानस्थललाई पूर्णरुपमा संचालनका लागि आफ्नो तर्फबाट र पार्टीको तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । अहिलेको समयमा पार्टीलाई एक ढिक्का बनाएर लैजाने र जनताका बीचमा जाने देउवाले बताए ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का सभापति सुशील गुरुङले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा संचालनका लागि पहल गर्न देउवालाई आग्रह गरेका थिए ।

यो विमानस्थल निमार्णका लागि सरकारले करिब ३१ अर्ब लगानी गरेको छ भने निजी क्षेत्रले यसलाई आधार बनाएर सोही अनुपातमा लगानी गरेपनि विमानस्थल संचालन नभएकोले निराशा हुनुपरेको बताइरहेका छन् ।

बुधबारको कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभापति अमर पुन, लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु भरत कुमार शाह, अब्दुल रज्जाक लगायतले देउवालाई प्रदेश र रूपन्देहीको अवस्थाबारे जानकारी गराएका थिए । देउवा बुधबार रूपन्देहीका विभिन्न कार्यक्रममा सहभागी भएर साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर