दूरसञ्चार क्षेत्रमा व्यवसायिक चुनौती बढेकाले गम्भीर हुनुपर्ने सरोकारवालाको जाेड – Nepal Press

दूरसञ्चार क्षेत्रमा व्यवसायिक चुनौती बढेकाले गम्भीर हुनुपर्ने सरोकारवालाको जाेड

काठमाडौं । एक दशकयता दूरसञ्चार क्षेत्रका चुनौती बढ्दै गएको सरोकारवालाहरूले बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ) द्वारा आयोजीत ’नेपालको दूरसञ्चार क्षेत्रको अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुले दूरसञ्चार क्षेत्रमा बढेको चुनौती प्रति गम्भीर हुनुपर्ने बताए ।

नेपाली टेलिकम क्षेत्रका समस्याका बारेमा प्रस्तुती दिदै काठमाडौं विश्वयविद्यालयका प्रध्यापक डा. अच्युत वाग्लेले एक सताब्दी भन्दा लामो इतिहास बोकेको टेलिकम क्षेत्रका बारेमा अध्ययन हुन नसकेको बताए ।

उनले नेपालको टेलिकम क्षेत्रमा आगामी ५ वर्षमा कति मेनपावर चाहिन्छ ? कस्तो मेनपावर चाहिन्छ भन्ने तयारी नरहेको र विश्वविद्यालयले जनशक्ति उत्पादन शुरू गर्नुपर्नेमा अध्ययनै नभएको उल्लेख गरे ।

‘राज्यका निकायमा यस क्षेत्रको विकाससँग सम्बन्धित योग्य मान्छे नभएको देखिन्छ । इमर्जिङ टेक्नोलोजी कसरी अगाडि बढ्छ भन्ने विज्ञता भएको पाइदैन बरु कुर्चिमा बसेपछि विज्ञता आउने बुझाइ यहाँ छ’, उनले भने, ‘मैले २५ वर्ष देखि नेपाल टेलिकम सुधार गर्न व्यवस्थापकीय पार्टनर चहियो भन्दै आएको सुनेको छु । व्यवस्थापक परिवर्तन र व्यवस्थापन परिवर्तन भन्नेनै समस्या देखिन्छ, व्यवस्थापन गर्नेहरू टिकेका छन् व्यवस्थापक परिवर्तन गर्नेहरू कोल्याप्स नै भएका पनि छन् । त्यसैले व्यवस्थापन, गुणस्तर सुधार गर्नु पर्ने बेला भएको छ ।’

नेपाल दूरसञ्चार प्राधिरकणका अध्यक्ष भुपेन्द्र भण्डारीले नेपालमा डिजिटल ग्याप रहेको बताए । उनले दूरसञ्चार विकास कोष प्रयोग गरि निर्माणाधिन आयोजना ढिला भएकोले त्यसलाई समयमै सक्न प्रयत्न गरिरहेको बताए ।

‘आरटीडीएफका आयोजना पनि सुस्त भएका छन् यी आयोजना सम्पन्न भए एउटा मेरूदण्ड बन्नसक्थ्यो’, उनले भने, ’आइएसपी र टेलिकम क्षेत्रका बारेमा लाखे र अर्बे भन्ने रहेछ केहि समस्या छन् त्यसलाई हल गर्दै अगाडी बढ्नुपर्छ । हामिसंग उपलब्ध फ्रिक्वन्सीको झण्डै १२.५ प्रतिशत मात्रै प्रयोगमा रहेकोले यसलाई बढाउनुपर्ने छ । २७ वर्ष अघिको कानुन र हालको एक्पेटेसन फरक भएकाले यस्ता ऐन पनि नियममा पनि समयसापेक्ष बनाउनुपर्ने देखिन्छ ।’

त्यस्तै, कार्यक्रममा बोल्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले दूरसञ्चार, विज्ञान प्रविधि र स्टार्टअपका क्षेत्रमा नेपालमा लगानीको सम्भावना भएको भएकाले सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा उच्च प्रथामिकताका लगानीका लागि आव्हान गरिने बताए । उनले यस क्षेत्रमा संलग्नहरु तथा विज्ञहरूको साथमा अगाडी बढ्ने प्रतिबद्धता सहित सल्लाह सुझाव समेत दिन आग्रह गरे ।

नेपाल टेलिकमका सिनियर इन्जिनियर मधुसुधन दाहालले टेलिकम कम्पनीकोहरूमा सरकारी दायित्व बढ्दै गएको तथा आम्दानी भने खुम्चिँदै गएको भन्दै सरकाले यसतर्फ ध्यान दिनुपर्ने औंल्याए । तथ्यांकसहित प्रस्तुती दिएका भ्वाइस सेवातर्फ युजर बढेपनि ट्राफिक र कल अवधि कम हुँदै गएको तथा शुल्क समेत घट्दै जाँदा आम्दानी घटेको बताए ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले टेलिकम क्षेत्र र यससंग सम्बन्धित कानुन दुवैकुरा समयअन्सार परिवर्तन तथा परिमार्जन हुनुपर्ने धारणा राखिन् । उनले यसक्षेत्रमा स्वतन्त्र प्रतिश्पर्धा गर्न दिनुपर्ने बताइन् । सरकारी लगानी समेत भएकाले सरकारि नीति तथा कार्यक्रमलाई समेटेर बिजनेश प्लान बनाउनु पर्ने तथा लागु समेत गर्नुपर्ने भएकाले चुनौतीहरू रहेको बताइन् ।

कार्यक्रममा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध निर्देशक जाभोर कायुमोभले दूरसञ्चार उद्योगलाई सरकारको सहायताको आवश्यकता रहेको बताए ।

कायुमोभले भने, ‘प्रश्न यो हो कि हामी यहाँबाट अगाडि कसरी जान्छौं भन्ने नै हो । यो क्षेत्रको समस्या नेपालमा मात्रै हैन विश्वभरिमा केही देशहरूमा छ, तर उनीहरूले यो क्षेत्रका समस्यालाई समाधान गर्न प्रभावकारी रुपमा सकारात्मक हस्तक्षेप र नियमन गरेर विविध समस्यालाई समयमा नै निराकरण गरेको छन् । हामी चाहन्छौ नेपाल सरकारले पनि यो क्षेत्रका समस्यालाई सहि ढंगले समाधान गरोस् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *