करोडौंको भवन अलपत्र हुँदा सहिद सूर्यनाथ अस्पताल ८ वर्षदेखि ‘कोमा’ मा (भिडिओ) – Nepal Press

करोडौंको भवन अलपत्र हुँदा सहिद सूर्यनाथ अस्पताल ८ वर्षदेखि ‘कोमा’ मा (भिडिओ)

अस्पताल चलाउन बेवास्ता गरेकोमा सरकारसँग स्थानीयको आक्रोश

जनकपुरधाम । ४ करोड खर्चिएर बनाइएको धनुषाको शहीदनगर नगरपालिका-८ डुमरियास्थित ‘शहिद सूर्यनाथ रान अस्पताल’ को सुविधासम्पन्न भवन प्रयोगविहीन बनेको छ । ७२ सालमा निर्माण सकिएको उक्त अस्पताल कहिलेदेखि सञ्चालन गर्ने भन्ने अझै सुरसार छैन ।

जमिनदारविरुद्ध किसान आन्दोलन गरेका सूर्यनाथ रानलाई २०४२ असोज ४ मा तत्कालीन पञ्चायती सरकारले गोली हानेर हत्या गरेको थियो । उनको सम्झनामा गृहनगर धनुषा डुमरियामा हरेक वर्ष माओवादीले स्मृति दिवस मनाउँछ । १६ वर्ष अगाडि तत्कालीन स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेल सहभागी स्मृतिसभामा स्थानीयको अस्पतालको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।

अस्पतालका लागि १५ जनाले सोही दिन जग्गा दान गरेका थिए । करिब दुई विघा जग्गा अस्पतालको नाममा नामसारी पनि भयो । पोखरेल काठमाडौं फर्केलगत्तै अस्पताल निर्माणको प्रक्रिया सुरू भयो ।
अस्पताल सञ्चालनका लागि डुमरियाबासी पटक-पटक आन्दोलन गरेका छन् ।

धनुषा २ बाट २०७४ मा निर्वाचित सांसद उमाशंकर अरगरियाले पटकपटक सदनमा अस्पताल सञ्चालनका लागि ध्यानाकर्षण गराएका थिए । स्वास्थ्य मन्त्रालयले ५ वर्षअगाडि अस्पतालको सेवा सुचारु गर्ने विषयमा अध्ययन गर्न समिति बनाएको थियो । २०७५ भदौ २० गते यहाँ १५ शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय गरिएपनि काम अघि बढेन ।

स्थानीय प्रेमलाल यादव अस्पताल सञ्चालनमा आउँछ भन्ने आशा नै मारिसकेको बताउँछन् ।

उनी भन्छन्, ‘म विदेशमै थिए, त्यतिबेला नै अस्पतालको भवन निर्माण भयो । कति वर्ष भयो कति वर्ष । सबै नेताले म बनाउँछु भन्छन् । तर कसैले सकेनन् ।’

अस्पतालमा राजनीतिकरण भएको गुनासो गर्दै उनले भने, ‘यस भेगमा कतै सुविधासम्पन्न अस्पताल छैन । उपचारका लागि जनकपुर जानुपर्छ । समयमा एम्बुलेन्स आउँदैन । जनपकुरधाम नपुग्दै विरामीको मृत्यु हुने गरेको छ । सरकारसँग मेरो बिन्ती छ भवनमा करोडौं खर्च भएको छ । अस्पताल सञ्चालन गरिदिनुस् ।’

अस्पताल भवनकै छेउमा घर भएका उसनी बनरैतले झर्को मान्दै भने, ‘कति पत्रकार आए, गए बोल्दा बोल्दै थाकिसकेँ । कति बोल्नु ? बोलेर पनि सरकारले सुन्दैन । अब बोल्दिनँ ।’

जग्गा दातासमेत रहेका उनले आक्रोश पोखे, ‘बिसौं वर्ष भयो । भवनमा बच्चाहरू दिसा गर्छन् । अस्पताल सञ्चालन हुँदैन भने हाम्रो जग्गा फिर्ता गरोस् ।’

अस्पतालका लागि अढाई कठ्ठा जग्गा दिएको सुनाउँदै उनले भने, ‘कैयौं नेता र मन्त्री आए । म गर्छु त मर्छु भन्छन् । कसैले गर्दैनन् ।’ अस्पताल अभावमा यस भेगका बिरामीको ज्यान जाने गरेको उनले दुःखेसो पोखे ।

प्रदेश सरकारको उदासीनता

अस्पतालहरू अहिले प्रदेश मातहत आइसकेको छ । कोरोना महामारीका बेला मधेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले प्रदेशबासीको नाममा सम्बोधन गर्दै डुमरिया, सप्तरीको भारदह र पर्साको पोखरिया अस्पताल स्तरन्नोति गर्ने काम अघि बढिसकेको बताएका थिए ।

तर, मुख्यमन्त्रीको प्रतिबद्धता आर्थिक बर्ष २०७७/७८ मै बजेट प्रस्तुत गर्दा पनि यसतर्फ प्रदेश सरकारले ध्यान नदिएको स्थानीयको भनाई छ । बजेटमा भारदह अस्पतालका लागि ६ करोड ७९ लाख रुपैयाँ र पर्साको पोखरिया अस्पतालका लागि ४ करोड ४ लाख रूपैयाँ बजेट उपलब्ध गराएपनि डुमरियाको नामसम्म उल्लेख नगरिएको उनीहरुको भनाइ छ ।

०८० फागुन पहिलो साता प्रदेशका तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंहले अस्पताल भवनको निरीक्षण गरे । कांग्रेसबाट मन्त्री बनेका उनले स्थानीय नेताहरूलाई चाँडै अस्पताल सञ्चालनमा ल्याउने आश्वासन दिएर फर्के ।

तर, केन्द्रमा सत्ता समीकरण फेरिएसँगै उनीसहित कांग्रेसका तीनै मन्त्रीलाई मुख्यमन्त्री सरोजकुमार यादवले पदमुक्त गरे । त्यसपछि अस्पताल सञ्चालनमा आउने जनताको आशा टुटेको छ ।

स्थानीय रुपलाल यादव भन्छन्, ‘यो गाउँकै तत्कालीन सांसद उमाशंकर अरगरियाले अस्पताल सञ्चालनमा ल्याउन धेरै प्रयास गर्नुभएको छ । अहिले उहाँ एमालेमा हुनुहुन्छ । अस्पतालको बीऊ माओवादीले रोपेको छ । अहिले माओवादी र एमाले दुवै सरकारमा छन् । जनताको समस्या बुझेर जसरी पनि अस्पताल सञ्चालन गर्नुपर्‍यो । यो कुरा प्रधानमन्त्रीसम्म पुर्‍याइदिनुहोला ।’

भौतिक संरचना भताभुंग

चार करोडमा निर्माण भएको अस्पतालको भवन सुविधासम्पन्न छ । तर, भवनको संरक्षण गर्ने कोही नभएकोमा सरोकारवाला चिन्तित छन् । भवन बेवारिसे बन्दा झ्यालढोकाका सीसा फुटाउन थालिएको छ । रंगरोगन उप्किन थालेको छ ।

स्थानीय सिवेन्द्र रोहिताले भवन संरक्षणमा स्थानीय सरकारले समेत चासो नदेखाउँदा दुर्व्यसनीको अखडा बन्न थालेको बताए ।

उनी भन्छन्, ‘बच्चा जन्माएर सडकमा फाल्यो भने के हुन्छ ? अस्पताल भवनको अवस्था उस्तै भएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर