केकीको अनौठो प्रयोगः ‘बोक्सी रुप’ मा पत्रकारलाई तर्साउँदै गरिन् फिल्मको ट्रेलर रिलिज (भिडिओ) – Nepal Press

केकीको अनौठो प्रयोगः ‘बोक्सी रुप’ मा पत्रकारलाई तर्साउँदै गरिन् फिल्मको ट्रेलर रिलिज (भिडिओ)

काठमाडौं । अभिनेत्री केकी अधिकारीले होम प्रोडक्सन फिल्म ‘बोक्सीको घर’ को ट्रेलर रिलिज निकै अनौठो तरिकाले गरेकी छन् । सिभिल मलमा आयोजना गरिएको कार्यक्रममा उनी ‘बोक्सी’ कै अवतारमा प्रस्तुत भएर आगन्तुकलाई तर्साउने प्रयास गरिन् ।

यसअघि ‘बुझिनँ मैले बुझाइदेउ कसैले’ गीतबाट अत्यधिक प्रशंसा बटुलेका कारण यो चलचित्रको ट्रेलरप्रति पत्रकारको कौतुहल थियो । ट्रेलर रिलिज कार्यक्रम यसरी गरियो, जसको पत्रकारले अनुमानै गरेका थिएनन् ।

पत्रकारहरु हलभित्र पस्दा पूरै अन्धकार थियो । एउटा पनि बत्ती बालिएको थिएन । केही महिला ‘बोक्सीको भेषमा’ रातो वस्त्र लगाएर पत्रकारलाई तर्साउन तैनाथ थिए । उनीहरुले मोबाइलको फ्ल्यास लाइट बालेर अनुहार देखाउँदा केही पत्रकारको सातो पनि उड्यो । त्यसमाथि पृष्ठभूमिमा कहालीलाग्दो आवाज बजाइएको थियो ।

आगन्तुकहरु जसोतसो सीटमा बसिसकेपछि केकीको इन्ट्री भयो । एक्जिट गेटबाट ‘बोक्सी’ कै अवतारमा प्रवेश गरेकी केकीलाई अन्य महिलाहरुले घेरेर अनौठो हाउभाउ देखाए । केकीले डरलाग्दो चेहरा बनाउँदै माइक समातेर ‘बोक्सी’ कै क्यारेक्टरमा बोलिन् ।

उनको सम्बोधन थियो, ‘स्वागतम स्वागत स्वागतम…. । यहाँहरु सम्पूर्णलाई ‘बोक्सी’ को स्वप्न नगरीमा हार्दिक स्वागत छ । आज हामी केही दृश्यांश यहाँ प्रस्तुत गर्दैछौं । (एक्कासि चिच्याएर) अनि पूरा रहस्य खुल्नेछ वैशाख १४ गते ।’

त्यसपछि केकी आफ्नो क्यारेक्टरबाट बाहिर निस्किइन् र औपचारिक कार्यक्रम सुरु भयो । केकीले ट्रेलर रिलिजमा नयाँ प्रयोग त गरिन्, तर यो शैली ठीक हो या होइन भन्नेमा बहस हुनसक्छ । समाजमा ‘बोक्सी’ साँच्चिकै हुन्छन् र उनीहरु भूत जस्तै डरलाग्दा हुन्छन् भन्ने सन्देश ट्रेलर रिलिजमा दिन खोजेको भान भयो । यद्यपि, चलचित्रले बोक्सीको अन्धविश्वासलाई कसरी प्रस्तुत गरेको छ भनेर हेर्न चाहिँ रिलिज डेट नै कुर्नुपर्ला ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *