चुनाव घोषणा प्रतिगमन थिएन, ओलीविरुद्ध प्रचण्ड-माधव बोक्नु कांग्रेसको भूल थियोः चन्द्र भण्डारी (भिडिओ) – Nepal Press

चुनाव घोषणा प्रतिगमन थिएन, ओलीविरुद्ध प्रचण्ड-माधव बोक्नु कांग्रेसको भूल थियोः चन्द्र भण्डारी (भिडिओ)

‘केपी ओलीले घोषणा गरेको चुनाव हुन दिएको भए कांग्रेस र एमालेबाहेक अरु पार्टीको अस्तित्व रहने थिएन, देशले स्थायित्व पाउने थियो’

रूपन्देही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले केपी ओलीले गरेको निर्वाचनमा जान नसकेर कांग्रेसले ठूलो गल्ती गरेको बताएका छन् । ओलीको त्यो निर्णय प्रतिगमन नभएको उनको भनाइ थियो । त्यो बेला चुनाव भएको भए देशमा दुई ठूला पार्टी कांग्रेस र एमालेमात्रै शक्तिमा रहने भण्डारीले दाबी गरे ।

आइतबार बुटवलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले हिजो पनि गल्ती गरेको र अहिलेसम्म त्यसलाई नसच्याएको बताए ।

‘अहिले सरकार बनाउन धेरै दलको साथ खोज्नुपरेको छ, त्यो बेला चुनावमा गएको भए धेरै समस्या हुने थिएन, साना दलको अवस्था अहिलेको ठाउँमा रहने थिएन’, भण्डारीले भने ।

उनले थपे, ‘निर्वाचनमा जानु प्रतिगमन थिएन, त्यतिबेला चुनावमा गएको भए कांग्रेस र एमालेमात्र हुन्थे, प्रचण्ड र माधव नेपालको पछि लागेर प्रतिगमन भन्दै हिँड्नु गलत थियो ।´

नेता भण्डारीले आवश्यकताभन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएका कारण विकास निर्माणका लागि बजेट नपुगेको बताए ।

उनले संघ र प्रदेशमा जनप्रतिनिधि र कर्मचारी संख्या आधा घटाउनुपर्ने प्रस्ताव दोहोर्‍याए । भण्डारीले ३६ हजार जनप्रतिनिधिलाई १८ हजारमा र एक लाख कर्मचारीलाई ५० हजारमा झार्नुपर्ने तर्क गरे ।

‘स्थानीय तहलाई नचलाऔं तर प्रदेश र केन्द्रको पुनःसंरचना जरुरी छ, केन्द्र र प्रदेशमा यति धेरै सांसद, मन्त्री र कर्मचारी आवश्यक छैन, तलब जति जनप्रतिनिधि र कर्मचारीमा खर्च भएपछि विकास निर्माण कसरी हुन्छ ?’ उनको प्रश्न थियो ।

संविधानले सिंहदरबारको अधिकार स्थानीय तहसम्ममा ल्याइएको, महिला, दलित, मधेशी, पछाडि पारिएका समुदायका लागि समावेशी समानुपातिक सहभागिता सुनिश्चित भएको तर नागरिकको अवस्थामा परिवर्तन नहुँदा र रोजगारीका लागि विदेश पलायनले आम जनतामा निराशा छाएको सांसद भण्डारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर