प्रभु साहद्वारा तेस्रो जनआन्दोलनको घाेषणा: अहिलेका शासकले व्यवस्थामाथि बेइमानी गरेको ठहर – Nepal Press

प्रभु साहद्वारा तेस्रो जनआन्दोलनको घाेषणा: अहिलेका शासकले व्यवस्थामाथि बेइमानी गरेको ठहर

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको तर्फबाट तेस्रो जनआन्दोलनको घोषणा गरेका छन् ।

शनिवार काठमाडौंमा जन आन्दोलन दिवसको अवसरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै तेस्रो जनआन्दोलनको घोषणा गरेका हुन् ।

उनले पहिलो जनआन्दोलनले नेपालबाट पञ्चायती व्यवस्था खारेज गरेको, दोस्रो जनआन्दोलनले नेपालबाट राजतन्त्रको अन्त्य गरेको भन्दै तेस्रो जनआन्दोलनले लुटकारी दलतन्त्रको अन्त्य गर्ने बताए ।

उनले अहिलेका व्यवस्थालाई लुटकारी व्यवस्थाको संज्ञा दिँदै नेपालको समृद्धिको लागि अहिलेको व्यवस्था अन्त्य गर्न जरुरी रहेकाले तेस्रो जनआन्दोलन शुरु गर्नुपरेको बताए । उनले अहिलेको पार्टी र नेताहरुले आफ्नो पुस्ताका लागि मात्रै काम गरिरहेको जिकिर गरे । लोकतान्त्रिक व्यवस्थामा अहिलेका शासकहरुले बेइमानी गरेको उनको ठहर छ ।

उनकाे भनाइ यस्ताे छ

‘पहिलो जनआन्दोलनले नेपालबाट पञ्चायती व्यवस्था खारेज गरेको थियो । दोस्रो जनआन्दोलनले नेपालबाट निरंकुस राजतन्त्रको अन्त्य गर्‍यो, आज तेस्रो जनआन्दोलनको उद्घोष हो । आज नेपालमा लुटकारी जो दलतन्त्र छ, यसको अन्त्यको लागि आज उद्घोषको दिन हो । म यस सभामार्फत नयाँ तेस्रो जनआन्दोलनको उद्घोष गर्न चाहन्छु । तपाईहरुलाई साक्षी राखेर आम नेपाली जनतालाई साक्षी राखेर हामी भन्न चाहन्छौँ, नेपालको समृद्धिको लागि अहिलेको लुटकारी व्यवस्था अन्त्य गर्नुपर्छ, यसको एउटा ऐतिहासिक दिनको आजको शुरुवात हो । तेस्रो जनआन्दोलनको आज उद्घोष गर्न चाहन्छु । जन आन्दोलन जनता र पार्टीहरु मिलेर गरेका थिए । तर आज तपाईं हेर्नुहुन्छ भने पार्टीका नेताहरु आफ्नो तीन पुस्तालाई पुग्ने गरी आफ्नो अधिकार, आफ्नो अस्तित्वलाई सुनिश्चित गर्नेगरी व्यवस्थामा बेइमानी गरे । जनता निरीह र लाचार जस्तो हुने र प्रमुख पार्टीहरु सिण्डिकेट बनाएर देशमा पार्टीको सिण्डिकेट, गुटको र गुट भित्र पनि नेताको हालीमुहाली ठूलो नेताको आसेपासेले मोज गर्ने र जनता लाचार भएर बस्ने लोकतन्त्र हामीलाई चाहिएको छैन । चोर नेताका कारण, जनताप्रति घात गरेका कारण नेताका लागि आज लोकतन्त्र भयो, पार्टीको लागि लोकतन्त्र भयो, जनता जहाँको त्यहीँ छन् । त्यसलाई सच्याउन हामीले तेस्रो जनआन्दोलनको उद्घोष गरेका छौँ ।’

 


प्रतिक्रिया

One thought on “प्रभु साहद्वारा तेस्रो जनआन्दोलनको घाेषणा: अहिलेका शासकले व्यवस्थामाथि बेइमानी गरेको ठहर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर