बझाङमा एसईई परीक्षार्थी कुटिए, चार जना घाइते – Nepal Press

बझाङमा एसईई परीक्षार्थी कुटिए, चार जना घाइते

कैलाली । बझाङका छुट्टाछुट्टै तीन परीक्षा केन्द्रमा एसइई परीक्षार्थी कुटिएका छन् । शुक्रवार बिहान परीक्षा दिएर बाहिर निस्किएपछि जिल्लाका तीन वटा परीक्षा केन्द्रमा एसइई परीक्षार्थीबीच कुटाकुट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । कुटपिटमा ४ जना घाइते भएका छन् ।

खप्तडछान्ना गाउँपालिका – ५ कालुखेतीस्थित खप्तड माविमा परीक्षा दिने पाटादेवलका १७ वर्षीय खप्पिस थापामाथि कुटपिट भएको प्रहरीले जनाएको छ । थापामाथि धारिलो हतियारले हानिएको र उनी घाइते रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक भरत शाहले जानकारी दिए ।

आक्रमण गर्ने मध्ये एक जना पक्राउ परिसकेको र अन्यको पनि खोजी भइरहेको उनले बताए । यसैबीच जिल्लाको दुर्गाथली गाउँपालिका – १ मौरीबगडस्थित चौधारी मावि जुँजी परीक्षा केन्द्रमा पनि परीक्षार्थीबीच झडप भएको छ ।

परीक्षा दिएर घर फर्किरहेका छविसपाथिभेरा गाउँपालिका – १ का १८ वर्षीय अभिषेक भण्डारी र खप्तडछान्ना गाउँपालिका – २ का १८ वर्षीय विमल बोगटीमाथि कुटपिट भएको हो । भण्डारी र बोगटीलाई कुटपिट गर्नेहरूलाई पक्राउ गरिसकेको समेत प्रहरीले जनाएको छ ।

यता मष्टा गाउँपालिका – ६ भातेखोलास्थीत कुलमष्टजन माविको परीक्षा केन्द्रमा पनि एक परीक्षार्थीमाथि कुटपिट भएको छ । परीक्षा दिएर बाहिर निस्किने क्रममा १७ वर्षीय मुन्न बोहरामाथि कुटपिट भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । कुटपिटको कारण भने खुलेको छैन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *