प्रथम थारु राष्ट्रिय म्युजिक अवार्ड आज – Nepal Press

प्रथम थारु राष्ट्रिय म्युजिक अवार्ड आज

कैलाली । कैलालीको धनगढीमा आज थारु राष्ट्रिय म्युजिक अवार्ड हुँदैछ । थारु भाषा र संस्कृति संरक्षण र प्रचार प्रसार गर्ने उद्देश्यले नेपालमै पहिलो पटक थारु राष्ट्रिय म्युजिक अवार्ड हुन लागेको हो ।

अपराह्न ४ बजेदेखि धनगढीस्थित सौराई पार्टी प्यालेसमा कार्यक्रम सुरु हुने जनाइएको छ ।

दिउँसो ३ः३० बजे धनगढी चौराहाबाट विभिन्न झाँकीसहित र्‍याली सौराइ पुग्ने आयोजक बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले जानकारी दिए ।

‘नेपालमै पहिलो पटक हामीले भव्य रूपमा थारु राष्ट्रिय म्युजिक अवार्ड आयोजना गर्दै छौँ’ चौधरीले भने, ‘थारु कला र संस्कृतिलाई आज विश्वले हेर्ने छ । ’उनले भव्य समारोहकाबीच अवार्ड उद्घाटन गरिने जनाए ।

यस अघि नै प्रथम थारु राष्ट्रिय म्युजिक अवार्डको १९ विधाका मनोनयन सार्वजनिक गरिसकिएको छ ।

१२० छनोट मध्येबाट ६९ जनालाई शीर्ष स्थानमा राखिएको आयोजक बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिले जानकारी दिएको छ ।
सर्वोत्कृष्ट मोडल पुरुषमा सहभागी १७ मध्य शीर्ष ५ जना छनौट गरिएको थियो भने सर्वोत्कृष्ट मोडल महिलाको सहभागी १६ मध्य शीर्ष ५ छनौट मनोनयन सार्वजनिक गरिएको छ ।

प्रत्येक विधामा बढीमा पाँच जनासम्म मनोनयनमा परेका छन् । केहीमा २ जना पनि रहेका छन् । थारु राष्ट्रिय म्युजिक अवार्डले थारु संस्कृति जोगाउन ठुलो भूमिका खेल्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *