कालीबहादुर खाम थुनामा गएपछि रामहरिकी श्रीमतीले भनिन्- आज मैले अलिकति जितेको महसुस गरेको छु (भिडिओ) – Nepal Press

कालीबहादुर खाम थुनामा गएपछि रामहरिकी श्रीमतीले भनिन्- आज मैले अलिकति जितेको महसुस गरेको छु (भिडिओ)

काठमाडौं । व्यापारी रामहरि श्रेष्ठ हत्यामा १५ वर्षपछि पक्राउ परेका माओवादी जनमुक्ति सेनाका तत्कालीन डिभिजन कमान्डर कालीबहादुर खाम पुर्पक्षका लागि थुनामा गएपछि पीडितकी श्रमिती रमिलाले केही जितेको महसुस भएको बताएकी छन् ।

मृतककी श्रीमती रमिलाले पत्रकारसँग बोल्दै भनिन्, ‘आज मैले अलिकति जितेको महसुस गरेको छु । मैले भर्खरै पहिलो खुड्किलाे चढें ।’

रामहरिका छोरा रोमनले पनि आफू न्याय पाउन नै लन्डनको बसाइ छाडेर नेपाल आएको बताए ।

‘म ८ वर्षदेखि बस्दै आएको लन्डन छाडेर वन वे टिकट लिएर यहाँ आएको छु । आज पहिलो सफलता प्राप्त भएको छ’, उनले भने ।

रोमनले खामविरुद्ध दायर मुद्दामा राजनीतिक हस्तक्षेपविना न्याय सम्पादन हुने विश्वास व्यक्त गरे । उनले माओवादीकै सरकार भए पनि प्रधानमन्त्री प्रचण्डसँग न्यायका लागि आग्रह पनि गरे ।

चितवन जिल्ला अदालतले शुक्रबार खामलाई थुनामा पठाउने थुनछेक आदेश गरेको छ ।

२०६५ साल बैशाख १५ गते जनमुक्ति सेनाको तेस्रो डिभिजन शक्तिखोरले अनुसन्धानका लागि भन्दै लिएर गएका रामहरिको शव झन्डै एक महिनापछि जेठ १२ गते त्रिशूली नदी किनारमा भेटिएको थियो । शक्तिखोर डिभिजनका तत्कालीन कमान्डर खामको निर्देशनमा ब्रिगेडियर कमान्डर गोविन्दबहादुर बटालासहितको टोलीले यातना दिएर श्रेष्ठको हत्या गरेको आरोप लागेको थियो ।

खामलाई त्यतिबेला प्रतिवादी बनाएर अदालतमा अभियोगपत्र दायर गरिए पनि उनी पक्राउ पर्न नसकेका कारण मुल्तबीमा राखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *