इलाम २ मा माओवादीले एमालेलाई सघाउने, धीरेन्द्र भन्छन्- निर्देशन आइसक्यो, सुहाङलाई जिताउन लाग्छौं – Nepal Press
उपचुनाव

इलाम २ मा माओवादीले एमालेलाई सघाउने, धीरेन्द्र भन्छन्- निर्देशन आइसक्यो, सुहाङलाई जिताउन लाग्छौं

विराटनगर । इलाम २ को आसन्न उपचुनावमा नेकपा माओवादी केन्द्रले उम्मेदवार नउठाउने भएको छ । माओवादीले सत्ता गठबन्धनको प्रमुख घटक एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नै समर्थन गर्ने शीर्ष तहमा सहमति बनेको हो ।

माओवादीले यहाँबाट धीरेन्द्र शर्मा ‘रमण’ को एकल नाम सिफारिस गरेको थियो । तर, पार्टीले टुंग्याइसेको थिएन ।

नेपाल प्रेससँग कुरा गर्दै धीरेन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एमाले उम्मेदवारलाई समर्थन गर्ने सहमति भएकाले सुहाङलाई सहयोग गरेर जान निर्देशन आएको बताए ।

धीरेन्द्र शर्मा ‘रमण’

उनले भने,‘हिजोसम्म म माओवादी केन्द्रका तर्फबाट उम्मेदवार थिएँ, अब हाम्रो उम्मेदवार सुहाङ हो । गठबन्धन भएका हिसाबले हामी उहाँलाई जिताउन लाग्नेछौं । ’

उनले थपे, ‘केन्द्रमा सहमति भएसँगै हिजै निर्देशन आएको छ । हामीले सबै कमिटीमा यो निर्देशन सर्कुलर गरिसकेका छौं । पार्टीको निर्देशनअनुसार गठबन्धनको उम्मेदवार जिताउन सबै कमिटी र कार्यकर्ता परिचालित हुने छन् ।’

माओवादीले बझाङको प्रदेशसभामा आफूलाई छाड्नुपर्ने शर्तसहित इलाममा सुहाङलाई समर्थन गर्न तयार भएको बताउँदै आएको थियो । बझाङको सन्दर्भमा सहमति भयो/भएन बाहिर आइसकेको छैन ।

यहाँ नेपाली कांग्रेसको उम्मेदवार टुंगिन बाँकी छ । कांग्रेसमा भेषराज आचार्य र डम्बर खड्का इलाम- २ मा मुख्य प्रत्यासी छन् । शेखर कोइराला नेतृत्वको संस्थापनइतर पक्षले आचार्यलाई टिकट दिनुपर्ने माग गरिरहेको छ । तर, सभापति शेरबहादुर देउवा सहमत छैनन् । उम्मेदवार छान्न बसेको यसअघिका २ वटा बैठक अनिर्णित बनेको छ । आज पुन: कांग्रेसले बैठक बोलाएको छ ।

रास्वपाले मिलन लिम्बूलाई अघि सारेको छ भने पहिचान पक्षधरको तर्फबाट डाकेन्द्रसिंह थेगिम मैदानमा छन् । राप्रपाबाट लक्ष्मी गुरुङ र नेकपा एकीकृत समाजवादीबाट जीतबहादुर राई उम्मेदवार छन् ।


प्रतिक्रिया

One thought on “इलाम २ मा माओवादीले एमालेलाई सघाउने, धीरेन्द्र भन्छन्- निर्देशन आइसक्यो, सुहाङलाई जिताउन लाग्छौं

  1. ओलीको डम्ब र घमण्डले अहिले नैं एमालेलाई सहयोग गर्न उचित छैन यही बोल्ने शैलीले यो गठबन्धन सरकारको आयु धेरै होला जस्तो छैन तसर्थ बैलैमा सजग रहन माओवादी साथीहरू बिशेष अनुरोध गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर