लुम्बिनीमा माओवादीका महरा मुख्यमन्त्री बन्ने निश्चित – Nepal Press

लुम्बिनीमा माओवादीका महरा मुख्यमन्त्री बन्ने निश्चित

रुपन्देही । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्ने निश्चित भएको छ । केन्द्रमा बनेको सत्तारुढ दलहरुको सहमतिअनुसार लुम्बिनी माओवादीलाई भाग परेको हो ।

कर्णालीमा माओवादीबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले राजीनामा दिएसँगै लुम्बिनीमा महरालाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ । कर्णालीमा पनि एमालेले सरकारको नेतृत्व गर्न निश्चित जस्तै भएको छ ।

लुम्बिनीमा एमालेले माओवादीभन्दा तेब्बर बढी सांसद भएकाले आफूले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको थियो । तर, केन्द्रको सहमतिपछि उसले नेतृत्व नपाउने भएको हो । सरकारको नेतृत्व गर्न लागेको माओवादीले गठबन्धनमा रहेका सांसदहरुको हस्ताक्षर संकलन गरिसकेको र अहिलेका मुख्यमन्त्रीले मार्गप्रशस्त गरेपछि दाबी पेश गर्ने जनाएको छ ।

‘मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने प्रयास वा राजीनामा दिएर बाटो खुला गरेपश्चात् सरकार गठनका लागि दाबी पेस गर्ने गठबन्धनको तयारी छ । गठबन्धनमा रहेका सबै सांसदहरुको हस्ताक्षर संकलन भइसकेको छ’, माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले भने ।

एमाले प्रमुख सचेतक तुलसी चौधरीले केन्द्रमा भएको सहमतिअनुसार यहाँको नेतृत्व माओवादीलाई परेको र सोहीअनुसार आफूहरुले सहयोग गर्ने बताए ।

‘बिहीबार दलको बैठक बसेर आवश्यक तयारी गर्नेछौं, सरकारको नेतृत्व गर्ने माओवादीलाई आवश्यक सहयोग गरेर अगाडि बढ्छौं’, चौधरीले भने ।

एमाले-माओवादीले नयाँ गठबन्धनमा कांग्रेस र राप्रपाबाहेकका अरु दल आउने दाबी गरेका छन् ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र राप्रपाका (१ निलम्बनसहित) ४-४, जनमत, जसपा र लोसपाका ३-३, राष्ट्रिय जनमोर्चा, नेकपा एस र स्वतन्त्र १–१ जना सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर