बर्दियामा नाउपाका पाँच मन्त्रीलाई रेशमको निर्देशन: कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिनु – Nepal Press

बर्दियामा नाउपाका पाँच मन्त्रीलाई रेशमको निर्देशन: कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिनु

कैलाली । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफ्ना सांसदहरूलाई कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् ।

हिजो आफ्नो निवास बर्दियामा सुदूरपश्चिमका पाँच मन्त्रीलाई बोलाएर चौधरीले यस्तो निर्देशन दिएका हुन् । भोली सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत लिँदै छन् ।

मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा पार्टी भित्रै तीव्र विवाद जारी छ । अध्यक्ष रन्जिता श्रेष्ठ केन्द्रमा तयार भएको नयाँ गठबन्धन अनुसार सरकार बनाउनु पर्ने जोडमा छिन् भने रेशम चौधरी कांग्रेस नेतृत्वकै सरकारलाई विश्वासको मत दिनुपर्नेमा छन् ।

यस क्रममा उनले संसदीय दलका नेता सहितका पाँच मन्त्रीलाई तत्काललाई कमल बहादुर शाहको सरकारलाई जोगाउनु पर्ने बताएका हुन् ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला मन्त्री घनश्याम चौधरी, प्रमुख सचेतक समेत रहेका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री खुसीराम चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी र सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री इन्दिरा चौधरी रेशम चौधरीलाई भेट्न बर्दिया पुगेका थिए । हिजो राति चौधरीले उनीहरूलाई कांग्रेस नेतृत्वकै सरकारमा रहन र विश्वासको मत दिन भनेका हुन् ।

‘यही सरकार जोगाउने गरी अघि बढ्न हामीलाई भनिएको छ । उहाँ (रेशम)ले विश्वासको मत दिनु र सरकार जोगाउनु भन्नु भएको छ’ बैठकमा सहभागी एक मन्त्रीले बताए ।

रेशमको निर्देशन पछि नागरिक उन्मुक्ति पार्टीले अहिले ११ बजे संसदीय दलको बैठक आह्वान गरिएको छ । ११ बजेको बैठकले विश्वासको मतका विषयमा छलफल गर्ने संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

‘हामीले बैठक बोलाएका छौँ । विश्वासको मतका विषयमा बैठकमा छलफल गरेर निर्णय गर्छौ’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर