मन्त्री बुढा र महानगर प्रमुख शाहबीच फोहोर व्यवस्थापनबारे छलफल – Nepal Press

मन्त्री बुढा र महानगर प्रमुख शाहबीच फोहोर व्यवस्थापनबारे छलफल

काठमाडौँ ।  सहरी विकासमन्त्री धनबहादुर बुढा र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच नुवाकोटको बञ्चरेडाँडामा फोहर व्यवस्थापनका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको छ ।

मन्त्री बुढा र प्रमुख शाहबीच मंगलबार मन्त्रालयमा भएको भेटवार्तामा उपत्यकाको फोहर व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर काम गर्ने र आपसी सहकार्यबाट अघि बढ्ने विषयमा छलफल भएको हो । तत्कालका लागि स्थानीयको सरोकारलाई सम्बोधन हुने गरी बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने र माग सम्बोधन गर्ने विषयमा प्रमुख शाहसँग मन्त्री बुढाले मिलेर अघि बढ्न प्रस्ताव गरे ।

मन्त्री बुढाले बञ्चरेडाँडामा जाने फोहरको परिमाणलाई कम गर्न मातहतका निकायलाई निर्देशन दिइसकेको जानकारी दिँदै फोहर व्यवस्थापनको दीर्घकालीन समाधानमा काठमाडाँै र ललितपुर महानगरपालिकासँग मन्त्रालयले समन्वय तथा सहकार्य गर्न चाहेको उल्लेख गरे ।

“काठमाडौँको विकासका लागि महानगरपालिकाले गर्न चाहेका विकास निर्माणका काममा हामी हातेमालो गरेर अघि बढ्न तयार छाँै”, उनले भने, “सुन्दर, सफा र व्यवस्थित राजधानी बनाउने अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्छ ।”

प्रमुख शाहले फोहर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको बताए। उनले महानगरले केही वडावाट  शून्य फोहर कार्यक्रम सुरु गर्न लागेको उनले जानकारी दिए । उनले बञ्चरेडाँडास्थित ल्याण्डफिलसाइटमा फोहर व्यवस्थापनका लागि बनाएको संरचनामा थप सुधार गरी फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताए ।

प्रमुख शाहले काठमाडौँ उपत्यकामा ट्राफिक जामको व्यवस्थापन र उपत्यकाका खोला किनारमा रहेका अव्यवस्थित बस्तीलाई हटाउनका लागि आवश्यक समन्वय गरेर अघि बढ्न मन्त्री बुढासँग आग्रह गरे ।

छलफलमा सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे, स्थानीय पूर्वाधार विभागका महानिर्देशक भरत अर्याललगायत सहभागी थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर