कोरोनाविरुद्ध खाने औषधिको भरतपुर अस्पतालमा क्लिनिकल परीक्षण सुरु – Nepal Press

कोरोनाविरुद्ध खाने औषधिको भरतपुर अस्पतालमा क्लिनिकल परीक्षण सुरु

चितवन । कोरोना भाइरस पुनः फैलिरहेको तथ्यांक आइरहँदा भरतपुर अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खाने ट्याब्लेट औषधिको क्लिनिकल परीक्षण सुरु हुने भएको छ ।

सस्तो मूल्यमा पाइने भएकोले विकासोन्मुख मुलुकका नागरिकको लागि उपयोगी हुनसक्ने एमेटिन औषधिको अस्पतालले क्लिनिकल परीक्षण गर्न लागेको हो ।

सन् १९१२ मा पहिलो पटक उत्पादन भई १९५० पछि आउँ, मासी, झाडा पखाला, बान्ता जस्ता समस्यामा अमेविया जीवाणु मार्न प्रयोग गरिएको एमेटिन ट्याब्लेट कोरोना भाइरसको निवारणमा पनि उपयोगी हुने पूर्वानुमानका साथ भरतपुर अस्पतालमा क्लिनिकल परीक्षण सुरु गर्न लागिएको हो ।

भरतपुर अस्पतालका डाक्टर तथा औषधिको क्लिनिकल परीक्षणको प्रमुख अनुसन्धानकर्ता डाक्टर कल्याण सापकोटाका अनुसार एमेटिन औषधि कोरोना भएर भरतपुर अस्पतालमा उपचार गर्न आएका ४ सय जनादेखि ४ सय ५० जनासम्म बिरामीमा परीक्षण गर्न लागिएको हो ।

एमेटिन औषधि अहिले बजारमा उपलब्ध छैन । अमेविया जीवाणुको निवारणलाई अन्य प्रभावकारी औषधिको विकास पछि करिब ५० वर्षयता उक्त औषधि उत्पादन हुन छोडेको हो ।

तर, अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको अनुसन्धान टीमले अमेरिकामा नै उक्त औषधिको अनुसन्धान पूर्वको परीक्षण गरिसकेको छ । डाक्टर सापकोटाका अनुसार अमेरिकाको मुसामा कोरोना भाइरस लगाएर उपचारको लागि एमेटिन औषधिको परीक्षण गर्दा सफल भएपछि नेपालमा क्लिनिकल परीक्षण गर्न लागिएको हो ।

आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा डाक्टर सापकोटाले नेपालमा अनुमति लिने सबै प्रक्रिया पुरा गरी जोन्स हप्किन्स विश्वविद्यालयले नै परीक्षणको लागि उत्पादन गरेको औषधि पनि ल्याइसकिएको जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरसले संक्रमण गरेको पाँच दिनभित्रका ५० वर्ष माथिका बिरामीहरूमा यो औषधिको परीक्षण गरिने छ । अन्य उपचार पद्धति पनि सँगै अपनाएर बिरामी समेतको स्वीकृतिमा उनीहरूलाई एमेटिन र प्लेसबो ९सामान्य भिटामिन भएको ट्याब्लेट० दिइनेछ ।

पाँच दिनदेखि १० दिनसम्म हरेक दिन औषधि दिएपछि ९० दिनसम्म उनीहरूको क्लिनिकल मूल्यांकन गरेर अनुसन्धान गरिने उनले बताए । यसअघि एमेटिन ६० एमजीको उत्पादन हुन्थ्यो । तर, अहिले प्रयोग भएको एमेटिन जम्मा ६ एमजीको हो । मुसाको परीक्षणमा कम एमजी पनि सफल भएकोले मानिसमा पनि ६ एमजीको एमेटिनले कोभिड भाइरस विरुद्ध काम गर्न सक्ने अनुसन्धानमा संलग्न चिकित्सकहरूको अनुमान छ ।

क्लिनिकल परीक्षणमा सहभागी बिरामीहरूको लिखित अनुमतिमा गरिने परीक्षणमा उनीहरूमा आउन सक्ने स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर हरेक बिरामीको बीमा समेत गरिने उनले बताए ।

परीक्षणको आर्थिक सहयोग अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयले नै गरे पनि यहाँ भने हिमालयन ट्रष्ट नेपालले आर्थिक व्यवस्थापन गर्ने ट्रष्टका निर्देशक डाक्टर मिङ्मा शेर्पाले जानकारी दिए ।

नेपालमा कोरोना भाइरस विरुद्ध औषधिको अनुसन्धान गरेरै क्लिनिकल परीक्षण गरिएको पहिलो पटक भएको जनाइएको छ ।

हिमालयन ट्रष्ट नेपालमा कार्यरत डाक्टर सुमन पन्तका अनुसार यो औषधिको परीक्षण सफल भयो भने जम्मा ७ रुपियाँ तिरेर कोरोनाका बिरामीले सहज औषधि सेवन गर्न सक्नेछन् ।

उनले भने, ‘एमेटिन औषधिको परीक्षण सफल भयो भने जम्मा ७ रुपियाँमा बिरामीले एउटा ट्याब्लेट औषधि किनेर खान पाउँछन् ।’

अनुसन्धानमा जोन्स हप्किन्स विश्वविद्यालय, भरतपुर अस्पतालका चिकित्सकको टोली सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर