दुबईमा दुईतले बस हाँकिरहेकी शान्ति- राखिन् मध्यपूर्वकै पहिलो महिला ‘हेभी बस’ ड्राइभरको रेकर्ड – Nepal Press

दुबईमा दुईतले बस हाँकिरहेकी शान्ति- राखिन् मध्यपूर्वकै पहिलो महिला ‘हेभी बस’ ड्राइभरको रेकर्ड

यूएई । दुबईका चिल्ला ८ लेन चौडाहका सडक । सडकभरी संसारभरका महँगा तथा प्रविधियुक्त सवारीसाधन । सडकको बाँया पट्टी पहिलो लेनदेखि तेस्रो लेनसम्म कार, बाँकीमा जीप बस ट्रकदेखि लरीसम्मको लाइन । त्यसपछि अन्य कार, बस, जीप । त्यही व्यस्त लाइनमा दुबईमा आउने पर्यटक बोक्ने दुई तले ‘बिग बस’ । बसको माथिलो भाग (छत) खुल्ला छ । बसका दुई तलामा दुबई घुम्न आएका मान्छे भरिभराउ छन् । पर्यटकहरू यूएईका पर्यटकीय स्थल घुम्नेमात्रै होइन नेपाली महिला ड्राइभर देखेर हर्षित हुँदै सेल्फी खिच्न लाइन लाग्छन् ।

पश्चिमा देशहरूमा चर्चित ‘बिग बस’ पर्यटक बोकेर घुमाउन प्रयोग गरिन्छ । दुबईले पनि आफ्नो सीटी टुररमा बिग बस प्रयोग गर्दै आएको छ । सोही बस हुइँकाउने चालक हुन शान्तिकुमारी भण्डारी । पौरखी शान्ति सेतो सर्ट, कालो पाइन्ट कालो चस्मा हुलियामा भेटिन्छिन् उनी ।

ओखलढुंगामा बुबा अमरबहादुर भण्डारी र आमा देउमाया भण्डारीकी शान्ति अनेकन् बाधा झेल्दै यहाँसम्म आइपुगेकी हुन् । उनी सन् २०१५ मा भिजिट भिसामा दुबई आई ब्यूटिसियन पेशामा आवद्ध भइन् । पछि आबुधावीका ट्याक्सी कुदाउँदै अहिले डबल-डेकर (दुई तले) बस चालक बनेर चर्चा बटुल्न सफल भईन् ।

उनको यो दृढ संकल्प, लचिलोपन र अटल महत्त्वाकांक्षा सहितको प्रेरणादायी गाथालाई यहाँ घुम्न आउने २१० देशका नागरिकले तारिफ गरिरहेका छन् । ती देशका सञ्चारमाध्यममा पनि शान्तिका संघर्ष र सफलताका कथाले प्राथमिकता पाएको छ ।

सुरूमा न्यूनतम तलबमा ब्यूटिसियनको रूपमा आफ्नो जिन्दगीको पहिलो वैदेशिक रोजगारी सुरू गरेकी शान्तिले यूएईको लाइसेन्स पाउन एक यातायात कम्पनीमा स्कूल बस सुपरभाइजरको काम रोजिन् । उनले सन् २०१७ मा सानो सवारीको लाइसेन्स प्राप्त गरिन् र अल गजल यातायातको ट्याक्सी चालकको रूपमा आबुधावीमा नयाँ रोजगारी थालिन् ।

यस क्षेत्रमा महिलाहरूले गर्दै नगरेको काम त्यो पनि ट्याक्सी चालक हुँदै छिरेकी शान्ति अहिले ४ महिना भयो बीग बस कम्पनीमा प्रवेश गरेको । मध्यपूर्वमा हेभी बस चालक अनुमति प्राप्त गर्ने पहिलो नेपाली महिला भएको थाहा पाउँदा आँफैलाई गर्व लागेको शान्ति सुनाउँछिन् ।

उनले बिग बस चलाउन सुरू नगर्दै आबुधावीकै सीटी बस चलाउन आवेदन दिएकी थिइन् र अन्तर्वार्तामा पनि सफल भइन् । तर, आबुधावी शहर परिक्रमा गर्ने बस चलाउन कम्पनीको पोलिसी र स्थानीय नीति शान्तिका लागि बाधक बन्यो । त्यसपछि उनले पर्यटन क्षेत्रमा नयाँ जग बसाल्ने लक्ष्य राख्दै दुबईको अलकुजमा कार्यालय रहेको बीग बस कम्पनीमा आवेदन दिएकी हुन् ।

महिला भएकै कारण डबल डेकर बस चालक स्वीकार गर्न बिग बसले रुचि देखाएन । किनकि त्यो बेलासम्म मध्यपूर्वकै पर्यटन क्षेत्रमा कोही पनि महिला बस चालक थिएनन् । तर, शान्तिको हुटहुटीलाई त्यसले रोक्न सकेन । बिग बस कम्पनी हेर्ने मध्यपूर्वका क्षेत्रीय निर्देशक माइकल लीसले उनलाई साथ दिए र उनैको सहयोगमा शान्तिलाई पहिलो महिला दुई तले बस चालकको रूपमा नियुक्ति दियो ।

शान्ति आबुधावीमा बस्छिन् । कामका लागि दैनिक दुबई पुग्छिन । शान्तिले यो यात्रामा थुप्रै नेपालीलाई सहयोग गर्ने गरेकी छन । शहर घुम्दा उनीसँगै ठूलाठूला कम्पनीका सञ्चालक भेटिन्छन् । उत्तिकै भेटिन्छन् विदेशी लगानीकर्ता पनि । उनीहरूसँगको भेटघाट र सौहार्दपूर्ण सम्बन्धका कारण धेरै नेपालीलाई रोजगारी लगाइदिने देखि समस्यामा परेकालाई सहयोग गर्दै शान्तिले दुबईमा नेपालकै शान उँचो बनाइरहेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर