अजित मिजारका परिवारलाई न्याय दिलाउन रास्वपाका सांसद नेपालीद्धारा गृहमन्त्रीको ध्यानाकर्षण – Nepal Press

अजित मिजारका परिवारलाई न्याय दिलाउन रास्वपाका सांसद नेपालीद्धारा गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले अन्तरजातीय प्रेम गरेकै कारण ज्यान गुमाएका काभ्रेपलाञ्चोकका अजित मिजारका परिवारलाई न्याय दिलाउन उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आइतबार बसेको बैठकको शून्य समयमा उनले सात वर्षदेखि त्रिवी शिक्षण अस्पतालमा रहेको अजितको शव कुरिरहेका अजितका आमा बावुलाई सरकारले न्याय दिनुपर्ने भन्दै आफ्नै पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवम गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएका हुन् ।

शून्य समयमा भाग लिदैँ उनले शिक्षण अस्पतालमा चिसो बाकसमा छोराको शव राखेर न्यायको पर्खाइमा रातदिन रोएर बस्नेको पिडा राज्यले आजसम्म नबुझ्नु शासकीय असक्षमता भएको भन्दै नेपाल सरकारका उपप्रधान एवम गृहमन्त्रीले अब यो विषय टुंगोमा पुर्याउने आशा र विस्वास लिएको बताए ।

उनले भने, ‘सभामुख महोदय, काभ्रेपलाञ्चोकका अजित मिजार कथित उपल्लो जातको केटीसँग प्रेम गरेका कारण मारिएको भनेर छोरालाई न्याय नदिलाएसम्म अन्त्येष्टी नगर्ने भन्दै पर्खिरहेका छन् आमा बुवा । सात वर्षदेखि निरन्तर न्यायालय धाइरहेका छन् र अझै पनि न्याय पर्खिरहेका छन् । उनीमाथी अन्याय भएको हो भने राज्यले अन्याय भयो भनेर क्षतिपूर्तिसहित न्याय दिनुपर्यो । अन्याय भएको होइन र आरोप मात्रै हो भने त्यसको पुष्टि गरेर पीडितलाई चित्त बुझाई दिएर राज्यले अविभावकत्व लिनुपर्यो । शिक्षण अस्पतालमा चिसो बाकसमा छोराको लाश राखेर न्यायको पर्खाइमा रातदिन रोएर बस्नेको पिडा राज्यले आजसम्म नबुझ्नु शासकीय असक्षमता हो । नेपाल सरकारका उपप्रधान एवम गृहमन्त्री ज्यूले अब यो विषय टुंगोमा पुर्याउनुहुनेछ भन्ने विस्वास छ र पुर्याउनुहुनेछ । साथै अजित मिजारको परिवारलाई न्यायासहित उनको लाशको अन्त्येष्टी गर्ने वातावरण चाडै निर्माण होस ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *