काठमाडौं आएका हर्क साम्पाङले गृहमन्त्रीलाई भेटे, के-के राखे माग ? (भिडिओ) – Nepal Press

काठमाडौं आएका हर्क साम्पाङले गृहमन्त्रीलाई भेटे, के-के राखे माग ? (भिडिओ)

विराटनगर । धरानका मेयर हर्क साम्पाङले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछानेलाई मन्त्रालयमा भेट्दै मेयर साम्पाङले धराने जनताका केही सरोकारका माग तेर्स्याएका छन् । केही दिनयता सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टी र अध्यक्ष लामिछानेविरुद्ध मेयर साम्पाङ्गले तारनतार स्टाटस लेख्दै आएका थिए ।

उनले इलाका प्रहरी कार्यालय धरान र जिल्ला ट्राफिक कार्यालयको भवन निर्माणका लागि सहयोग मागेका छन् । धरानमा सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत-साधन उपलब्ध गराउन पनि उनले गृहमन्त्रीसँग माग राखे ।

गृहमन्त्रीसँगको भेटमा कर्मचारी र जनप्रतिनीधिबीचमा काम गर्ने शैली नमिल्दा समस्या भएको उनको गुनासो थियो ।

मेयर हर्कले भेटमा भने,‘कर्मचारीले प्रक्रिया खोज्ने र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको छ ।’

दुईजनाबीच लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे पनि छलफल भएको थियो । धरानमा आफूले शुक्रबार चलाइरहेको ‘सुधारबार’ अभियानमा सहभागी भइदिन उनले गृहमन्त्रीलाई निम्तो दिएका छन् ।

लामिछानेले मेयर साम्पाङले मन्त्रालयमै आएर राखेका माग र गरेका गुनासोमा आफू गम्भीर रहेको बताए । उनले साम्पाङ्गका माग सम्बोधनको प्रक्रिया सुरु गर्न कर्मचारीलाई उनले निर्देशनसमेत दिएका छन् ।

प्रहरीलाई ‘आम नागरिकलाई भरोसा गलत गर्नेलाई डर’ हुने संगठन बनाउने प्रतिवद्धता जनाउँदै लामिछानेले तीनै तहका सरकारबीच प्रभावकारी सहकार्यसहित विशेष अभियानमा जोड दिए । मेयर साम्पाङ्गको ‘सुधारबार’ को निम्ता स्वीकार्दै उनले आफू सहभागी हुने बचन दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर