सामाजिक उद्यम पूँजीवादी संकटकाे समाधान – Nepal Press

सामाजिक उद्यम पूँजीवादी संकटकाे समाधान

पढ्दा सुन्दा एउटै जस्तो लाग्ने उद्यमशीलता र सामाजिक उद्यमशीलता बिल्कुल भिन्न अवधारणा हुन् । यद्यपि, यी दुई फरक अवधारणाका बीच थुप्रै समानता छन् । सिर्जनात्मक उद्देश्यमा यिनीहरुको भिन्नता छुट्टिन्छ । सामाजिक उद्यमशीलता नाफामुखी हुँदैन । यसले समाजको बृहत रुपान्तरणमा जोड दिन्छ । सामाजिक उद्यमीहरुले विभिन्न खालका साधन र स्रोतको प्रयोग गरी समाजको उत्थानमा टेवा दिन्छन् । मानव जीवन सुधार गर्न यसले समुदाय, समाज र विश्वव्यापी हितका समस्याहरु समाधान गर्ने वा कम्तीमा कम गर्ने लक्ष्य राख्छ । व्यापार वा व्यवसायिक क्षेत्रका कार्यहरु पूरा गर्न विशेषगरी विज्ञापनका विशिष्ट विधिहरु र भाषण (नारा) प्रयोग गर्छ ।

सामाजिक उद्यमशीलताका चार गुण हुन्छन्: (१) सिर्जना (२) उद्यमशील गुण (३) सामाजिक प्रभाव र (४) नैतिक मूल्य र मान्यता ।

सन् १९८० को दशकमा विकास भएको सामाजिक उद्यमशीलताको अवधारणालाई खास गरेर पाकिस्तानी विकासविद् एवम् समाज वैज्ञानिक अख्तर हमिद खान र बङ्गलादेशका नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसले प्रवर्द्धन गरेका हुन् । अख्तर हमिद खान विकासोन्मुख देशमा सहभागितामूलक ग्रामीण विकासको प्रवर्द्धन गर्ने व्यक्ति हुन् । उनका अनुसार विकासका लागि सामुदायिक सहभागिता हुनुपर्छ । उनको प्रयासको कदरस्वरुप खानलाई एसियाको नोबेल पुरस्कार भनिने रोमन म्यागेसेसे पुरस्कार दिइएको थियो ।

मोहम्मद युनुस ग्रामीण बैंकका संस्थापक हुन् । उनले नवप्रवर्तनलाई प्रोत्साहन गर्ने लघु कर्जाको अवधारणा ल्याए । सामाजिक विकासको यो मोडेल एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा लोकप्रिय छ । उनको यो प्रयासको कदरस्वरुप नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

को हुन् सामाजिक उद्यमी ?

सामाजिक उद्यमीहरुका क्षेत्रहरु हुन्- सामाजिक कार्य, समुदाय विकास, उद्यमशीलता र वातावरण विज्ञान । तसर्थ, सामाजिक उद्यमीहरुमा को को पर्छन् भनेर ठ्याक्कै परिभाषित गर्न सकिन्न । उनीहरुलाई सामाजिक नवप्रवर्तक (सोसल इनोभेटर) पनि भन्ने गरिन्छ । किनकि उनीहरुले परम्परागत नभएर सिर्जनात्मक रणनीति प्रयोग गर्छन् । सामाजिक उद्यमशीलता परोपकारी प्रकृतिको उद्यमशीलता हो, जसले बृहत्तर सामाजिक हितलाई ध्यान दिन्छ । यो अन्य स्वेच्छिक क्षेत्र र च्यारिटी (दान)सम्बन्धी गतिविधिभन्दा भिन्न हुन्छ । यसको माध्यमबाट सामाजिक पूँजीलाई सकारात्मक सामाजिक रुपान्तरणतर्फ लैजान सकिन्छ ।

सामाजिक उद्यमीमा समग्र समाजको अनुहार बदल्नेगरी काम गर्ने उत्साह हुन्छ । स्वास्थ्य, सरसफाइ, शिक्षालगायतका हरेक क्षेत्रमा उनीहरु क्रियाशील भएको पाइन्छ । यिनीहरुले आधुनिक अन्वेषण र खोजको क्षेत्रमा पनि परिवर्तन गर्ने काम गरेको पाइन्छ । उनीहरुले प्रणालीगत सुधारमा काम गर्छन्, नयाँ नयाँ समाधानका विधि र अभ्यास संस्थागत गर्छन् ।

सामाजिक उद्यमका सिद्धान्तहरु

सामाजिक व्यवसायले सामाजिक समस्या सम्बोधन/समाधान गर्छ । यसबाट समग्र अर्थतन्त्रमा सकारात्मक तरंग पैदा हुन्छ । सामाजिक उद्यमका सिद्धान्तले अरु सिद्धान्तले जस्तै आफ्नो उद्देश्य र सञ्चालन विधिको परिभाषा गर्छ । यी सिद्धान्तलाई विश्वभरका सामाजिक उद्यम गर्ने वा प्रवर्द्धन गर्ने संघसंस्था वा व्यक्तिले पालना गर्छन् ।

मोहम्मद युनुसले प्रतिपादन गरेको सामाजिक उद्यमशीलताका सिद्धान्तहरु यसप्रकार छन्ः

  • गरिबी निवारण गर्ने र जल्दाबल्दा सामाजिक विषय सम्मोधन गर्ने ।
  • वित्तीय तथा आर्थिक स्थायीत्व कायम गर्ने ।
  • यस्तो व्यवसायमा लगानीकर्ताले आफ्नो लगानी उचित प्रतिफलसहित मात्रै फिर्ता पाउँछन् । तर, व्यवसायबाट निरन्तर नाफा भने पाउँदैनन् ।
  • लगानीको रकम भुक्तान भएपछि कम्पनीको नाफा कम्पनीमै रहन्छ र कम्पनीको थप विस्तार र सुधारमा खर्च गरिन्छ ।
  • वातावरणीय चासोलाई ख्याल गरेर व्यवसाय प्रवर्द्धन गरिन्छ ।
  • कामदारले न्यायोचित पारिश्रमिक पाउने सुनिश्चितता हुन्छ ।
  • आनन्द र हर्षले आफ्नो रुचि र चासोका क्षेत्रमा काम गर्ने वातावरण हुन्छ । नाफा आर्जन गर्ने दबाब हुन्न ।

को हुन् सामाजिक उद्यमी ?

समकालीन समाजका जल्दाबल्दा समस्या समाधान गर्ने मनसायले सिर्जनात्मक र नवप्रवर्द्धनात्मक सोच भएका व्यक्ति नै वास्तवमा सामाजिक उद्यमी हुन् । नाफा आर्जन गर्नु उनीहरुको दोस्रो प्राथमिकता हुन्छ । त्यसैले यिनीहरु आफ्नो कर्ममा दत्तचित्त र दृढ भएर लाग्छन् । उनीहरुमा उच्च तहको प्रेरणा हुन्छ र समाजमा देखिने परिवर्तन ल्याउने उत्कट अभिलाषा रहेको हुन्छ ।

सामाजिक उद्यमीमा समग्र समाजको अनुहार बदल्नेगरी काम गर्ने उत्साह हुन्छ । स्वास्थ्य, सरसफाइ, शिक्षालगायतका हरेक क्षेत्रमा उनीहरु क्रियाशील भएको पाइन्छ । यिनीहरुले आधुनिक अन्वेषण र खोजको क्षेत्रमा पनि परिवर्तन गर्ने काम गरेको पाइन्छ । उनीहरुले प्रणालीगत सुधारमा काम गर्छन्, नयाँ नयाँ समाधानका विधि र अभ्यास संस्थागत गर्छन् ।

सामाजिक न्याय स्थापना गर्ने, गरिबी निवारण गर्ने, आर्थिक असमानता हटाउने भन्ने कुरा सबै राजनीतिक दलका साझा एजेण्डा हुन् । तर, यथार्थमा त्यसो हुन सकेको छैन । पूँजीवाद हावी भएको छ । जसले गर्दा असमानताको खाडल झन् झन् गहिरिँदै गएको छ ।

प्रसिद्ध अमेरिकी मानव अधिकार नेतृ सुसान बी एन्थोनी, भारतकी दलित अभियन्ता विनोभा भावे, मन्टेश्वरी शिक्षाकी प्रणेता मारिया मन्टेश्वरी, नर्स फ्लोरेन्स नाइटेंगल र परिवार नियोजन प्रणालीलाई विश्वव्यापी बनाउने अभियन्ता मार्गरेट सेन्जर विश्व प्रख्यात सामाजिक उद्यमीहरु हुन् । त्यस्तै नेपालमा पनि महावीर पुन, सन्दुक रुइत जस्ता थुप्रै व्यक्ति पाउँछौं, जो सामाजिक उद्यमको सोचबाट समाज परिवर्तन गर्ने अभियानमा अहोरात्र खटिरहेका छन् ।

पूँजीवादले उत्पन्न गरेको संकट समाधानमा सामाजिक उद्यमशीलता

‘आर्थिक असमानता’ विश्व अर्थराजनीतिमा सदियौंदेखि तातो बहसको विषय हुने गरेको छ । शक्तिशाली राजनीतिक, सामाजिक आन्दोलन र महत्वाकांक्षी प्रयास नभएका पनि होइनन् यस विषयलाई सम्बोधन गर्न । यो मुद्दालाई लिएर विश्वका धेरै देशमा रक्तपातपूर्ण आन्दोलन भए । जनधनको समेत ठूलो क्षति भयो । नेपालमा पनि २००७ साल यतादेखिका हरेक खालका आन्दोलनमा यस्तो भएको छ । सामाजिक न्याय स्थापना गर्ने, गरिबी निवारण गर्ने, आर्थिक असमानता हटाउने भन्ने कुरा सबै राजनीतिक दलका साझा एजेण्डा हुन् । तर, यथार्थमा त्यसो हुन सकेको छैन । पूँजीवाद हावी भएको छ । जसले गर्दा असमानताको खाडल झन् झन् गहिरिँदै गएको छ ।

पूँजीवादी व्यवस्थामा नाफाका लागि प्रतिस्पर्धा हुन्छ । उत्पादन अत्यधिक हुँदा मूल्यमा गिरावट आउँछ । श्रमिकको ज्याला घट्छ, बेरोजगारी बढ्छ । नाफाको दरमा पनि क्रमशः गिरावट आउँछ र आर्थिक मन्दीको अवस्था सिर्जना हुन्छ । पूँजीवादी व्यवस्थामा उल्लेखित समस्या चक्रिय रुपमा भइ नै रहन्छन् । पूँजीवाद उत्पादक भयो भनेमात्र उद्योग व्यवसाय फस्टाउँछन् । थप रोजगारीको सिर्जना हुन्छ । यसबाट नाफा, अर्को अझ ठूलो उद्योग, अझ थप रोजगारी र नाफा बढ्दै जान्छ । तर, व्यवहारतः हामीकहाँ त्यस्तो भएको छैन र त विश्वव्यापी संकट देखिँदैछ । यो संकटको प्रभाव बहुआयामिक हुन्छ । यसले मान्छेको प्रगति, सामाजिक एकता, मानव अधिकार र प्रजातन्त्रलाई पनि संकटमा लैजान्छ ।

विश्वव्यापीकरणको वर्तमान युगले विश्व मानव परिवारको सिर्जना गर्दै मानिसहरुका बीच अझ बढी सामिप्यता, भाइचारा र बन्धुत्वको विकास गर्न सक्नुपर्थ्यो । तर, यथार्थमा विश्वव्यापीकरणले व्यापक रुपमा तनाव र द्वन्द्व सिर्जना भैरहेको छ । मानिसहरु र राष्ट्रहरुका बीचमा आआफ्नो स्वार्थअनुसारको चासो पूरा गर्ने होडबाजी छ । विश्वयुद्ध ताकाको बेलामा जस्तै विश्व ध्रुवीकृत भैरहेको छ । रुस-युक्रेन युद्धको तनावले शीतयुद्धकालीन समयको झल्को दिइरहेको छ । शक्ति राष्ट्रहरुका बीच विश्वशक्ति/महाशक्ति बन्ने होडबाजी छ । चीन र अमेरिकाबीच व्यापार युद्ध छ । आर्थिक सिद्धान्तभित्र पर्ने शून्य-परिणाम (जिरो सम) को मान्यताले सबैलाई आर्थिक लडाइँमा विजेता बन्न प्रेरित गर्दा-अर्कातिर सबैले पराजय व्यहोर्नुपर्ने अवस्था सिर्जना भैरहेको छ । अति राष्ट्रवाद, विदेशीलाई घृणा गर्ने (जेनोफोयिबा), सर्वत्र अविश्वास र त्रास जस्ता कुरा त्यसैको परिणाम हुन् ।

मानिस स्वार्थी प्राणीमात्रै पनि होइन भन्ने कुरा उनीहरुका परोपकारी भावना र चाहनामा देख्न सकिन्छ । यदि त्यसो हुन्थेन भने कसैले पनि त अप्ठ्यारो, जोखिमयुक्त जटिल काम गरेर अरुलाई सहयोेग गर्ने थिएनन् । लाखौंको संख्यामा न्यून वेतन, ज्याला, तलबमा काम गर्ने विद्यालय तहका शिक्षक, सामाजिक कार्यकर्ता, नर्सहरु, नागरिक अभियन्ता, स्वयंसेवकहरुलगायतका सेवा यसैका ज्वलन्त उदाहरण हुन् ।

मानिसहरु र राष्ट्रहरुका बीचमा आआफ्नो स्वार्थअनुसारको चासो पूरा गर्ने होडबाजी छ । विश्वयुद्ध ताकाको बेलामा जस्तै विश्व ध्रुवीकृत भैरहेको छ । रुस-युक्रेन युद्धको तनावले शीतयुद्धकालीन समयको झल्को दिइरहेको छ । शक्ति राष्ट्रहरुका बीच विश्वशक्ति/महाशक्ति बन्ने होडबाजी छ ।

हामी सैद्धान्तिक/दार्शनिक विरोधाभाषका बीच बाँचिरहेका छौं । अझै पनि खुला बजारमुखी पूँजीवाद सबै प्रकारका मानवीय समस्या समाधान गर्ने एकमात्र उत्कृष्ट प्रणाली मानिन्छ । सँगसँगै अर्कोतिर खुला बजार प्रणालीका कमीकमजोरी पनि स्वीकार्दै ती त्यसलाई हटाउन र समाधान गर्न प्रत्येक वर्ष खर्बौं डलर खर्चिने गरिन्छ । तर पनि समस्या झन् गहिरिँदै गएको छ । मुठ्ठीभर मान्छेका हातमा पूँजी केन्द्रीकृत भैरहेको छ । तसर्थ, अब अर्थतन्त्रको परम्परागत ढाँचालाई पुनर्संरचना गर्न जरुरी छ ।

यस्तो पुनर्संरचित आर्थिक प्रणालीमा मुख्य तीन तत्व हुन्छन्ः

  • (१) सामाजिक व्यवसायको अवधारणालाई आत्मसात गर्ने । जुन व्यक्तिगत स्वार्थभन्दा माथि मानव कल्याणमा आधारित हुन्छ ।
  • (२) मान्छेहरुमात्र जागिर खोज्छन् भन्ने मान्यता त्यागेर उनीहरु उद्यमी बन्न सक्छन् भन्ने मान्यता स्थापित गर्ने ।
  • (३) समग्र आर्थिक/वित्तीय प्रणालीलाई पिंधमा रहेको वर्गको उत्थान गर्नेगरी पुनर्संरचना गर्ने ।

नयाँ सभ्यताको विकास गर्न सामाजिक उद्यम/व्यवसाय जस्तो प्रति-अर्थशास्त्र (काउन्टर इकोनमिक्स) को विकास गर्नुपर्छ । असमानता हटाउने पुरातन माध्यमहरु- च्यारिटी र सरकारी कार्यक्रमले मात्रै माथि उल्लेखित समस्या समाधान गर्न सकिन्न । यसका लागि परम्परागत पूँजीवादी माइण्ड सेट बदल्नुपर्छ । स्वार्थरहित सामाजिक उद्यमतर्फ अग्रसर हुनुपर्छ । सुन्दा सानो प्रयास लाग्नसक्छ । तर, यसैको माध्यमबाट मानवीय समस्या सम्बोधन गर्न सकिन्छ ।

हामीले विश्व दृष्टिकोण बुझ्दै आफ्नै मौलिक खालको अर्थ-राजनीति निर्माण गर्न सक्यौं भनेमात्र समाजवादको आधार तयार हुन्छ । सबै नीतिको सर्वोच्च नीति राजनीति भएकाले राजनीतिज्ञहरु र क्रियाशील राजनीतिक दलमा सामाजिक उद्यमको चेत आउन सकेमात्र समृद्धि हासिल हुनसक्छ । समाजवादतर्फको यात्राले तबमात्र गति लिन सक्नेछ ।

(लेखक लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका अध्यापक हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर