कृषि वैज्ञानिकहरुको राष्ट्रिय सम्मेलन हुँदै – Nepal Press

कृषि वैज्ञानिकहरुको राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । नेपाली कृषि वैज्ञानिकहरुको संस्था सोसाइटी अफ एग्रिकल्चरल साइन्टिस्ट (सास–नेपाल) को राष्ट्रिय सम्मेलन हुने भएको छ । सास–नेपालको बृहत् छैठौं राष्ट्रिय सम्मेलन तथा आठौं साधारण सभा यही चैत्र २१ गते ललितपुरमा हुने भएको हो ।

सम्मेलनमा सास नेपालका आजीवन सदस्यहरु, साधारण सदस्यहरु, मानार्थ सदस्यहरु तथा कृषि अनुसन्धानमा संलग्न करिब ५०० जना व्यक्तित्वहरुको उपस्थिति रहने राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले बताए ।

‘कृषिमा रूपान्तरणका लागि अनुसन्धान प्रणाली’ भन्ने नाराका साथ सञ्चालन हुने सम्मेलन राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटार, ललितपुरको सभाहलमा हुने जनाइएको छ । सम्मेलनले नेपालको कृषि अनुसन्धान प्रणालीलाई सबल र सुदृढ बनाई मुलुकको आर्थिक विकासको लक्ष्यमा योगदान पुर्‍याउन नीतिगत हिसाबले विशेष मार्गचित्र तयार गर्ने अपेक्षा गरिएको केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायको भनाइ छ ।

सन् १९९५ मा स्थापित भएको यस संस्थाले कृषि अनुसन्धानको नीतिगत क्षेत्रमा सरकारलाई सल्लाह सुझाव दिने, कृषि वैज्ञानिकहरुको अनुसन्धानका उपलब्धिलाई जर्नलमार्फत प्रकाशन गर्ने, अन्तराष्ट्रिय तथा राष्ट्रिय स्तरका सभा सम्मेलन गर्ने, वैज्ञानिकहरुलाई पुरस्कृत गर्ने र तालिम प्रदान गर्ने, कृषि वैज्ञानिकहरुका अनुभवलाई प्रस्तुतीकरण मार्फत सम्प्रेषण गर्ने, वैज्ञानिकहरुका हकहितका सवालमा बहस, छलफल गर्ने लगयतका कार्यहरु गर्दै आएको छ ।

त्यस्तै, सम्मेलनले वैज्ञानिकहरुको नयाँ नेतृत्व चयन गर्नुका साथै कृषि वैज्ञानिकहरुको हकहितको लागि आवश्यक नीति तथा योजना तर्जुमा गर्ने जनाइएको छ ।

उपाध्यायका अनुसार सम्मेलनको पहिलो सत्रमा चार वटा विषयगत कार्यपत्र प्रस्तुति र छलफल तथा दोश्रो सत्रमा नयाँ कार्यसमिति गठन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर