जेनेस सलुसनले सेवाग्राही कम्पनीको डेटा अनधिकृतरुपमा मेटायो, अञ्जनी फुयाँल प्रहरीको खोजीमा – Nepal Press

जेनेस सलुसनले सेवाग्राही कम्पनीको डेटा अनधिकृतरुपमा मेटायो, अञ्जनी फुयाँल प्रहरीको खोजीमा

काठमाडौं । नेपाली उद्यमीले नेतृत्व गरेको सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सोलुसनले सेवाग्राही एक कम्पनीका सबै डेटाहरु अनधिकृत रुपमा मेटाएको तथ्य सार्वजनिक भएको छ । आफैं वेभ होस्ट गरेको सुन्दर ग्रुप अफ कम्पनिज र यसका ग्राहकको सबै डेटाहरु जेनेसले नष्ट गरेको हो ।

जेनेस सोलुसन कम्पनीको कार्यालय बखुन्डोल ललितपुरमा रहेको छ । कम्पनीका संस्थापक एवं प्रमुख प्राविधिक अधिकृत अञ्जनी फुयाँल हुन् । फुयाँलमाथि सुन्दर समूहको डेटा मेटाएको अभियोगमा विद्युतीय कारोबार ऐनअनुसार काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत दायर भइसकेको छ । उनी प्रहरीको खोजीमा छन् ।

जेनेस सोलुसनका कार्यालयहरु नेपाल, बंगलादेश, अमेरिकालगायत आठ देशमा सञ्चालनमा रहेका छन् । फुयाँलसँग नेपाली र बेलायतको दोहोरो नागरिकता रहेको पनि खुलेको छ । बुझिएअनुसार उनले बेलायती नागरिक बनेपछि पनि नेपाली नागरिकता अहिलेसम्म त्यागेका छैनन् ।

कानूनीरूपमा फरार रहेका फुयाँल पछिल्लो समय नाइजेरिया पुगेका छन् । बेलायतमा बस्दै आएका उनले कम्पनीको मुख्य कार्यालय बेलायतमा रहेको दाबी गर्ने गरेका छन् ।

एक्सपोर्टको काम गर्दै आएको सुन्दर प्रालिले आफ्नो र ग्राहकहरूको वेभ जेनेसबाट होस्ट गराएको थियो । एकाएक कम्पनीको सबै डेटाहरू मेटाइयो ।

मेटाइएका आफ्ना डेटाहरू माग्दा नदिएको र यसबाट कम्पनीलाई ठूलो आर्थिक क्षति हुनुका साथै डेटाहरूको दुरुपयोग हुनसक्ने भन्दै कम्पनीका प्रबन्ध निर्देशक कविराज कँडेलले प्रहरीको साइबर ब्यूरोमा जाहेरी दिएका छन् । जाहेरीमा अञ्जनीसँगै अनिता फुयाँल, रमा फुयाँल र नेपालस्थित कार्यालयका सीईओ प्रसन्न पोखरेललाई प्रतिवादी बनाइएको छ ।

ब्यूरोले गरेको अनुसन्धानमा अमेजन वेभ सर्भिसबाट प्राप्त विवरण लगायतको अध्ययनबाट जेनेस सोलुसनको आईडीबाट अनधिकृत रूपमा प्रवेश गरेर डेटा डिलिट गरेको देखिन्छ ।

सुन्दर ग्रुप अफ कम्पनीजले कम्प्युटर तथा लेखा सम्बन्धी मेसिनहरूको कारोबार, विभिन्न वस्तुहरूको आयात–निर्यात लगायतका काम गर्दै आएको थियो । उनीहरूले प्रोजेक्ट र डेटाहरू निर्माण गरेर जेनेसमार्फत होस्टिङ गरेका थिए । उनीहरूले कुनै सूचना नै नदिई सामाग्रीहरू नष्ट गरेको कम्पनीले दाबी गरेको छ ।

नेपालस्थित जेनेस कार्यालयका सीईओ प्रसन्न पोखरेल पक्राउ परिसकेका छन् । उनले जेनेस वैदेशिक लगानीको रूपमा दर्ता भएको कम्पनी रहेको र यसको ग्लोबल सीईओ अञ्जनीकुमार फुयाँल रहेको खुलासा गरेका थिए ।

उनले सुन्दर ग्रुपको सबै डेटाहरू नष्ट गरेकोबारे आफूलाई कुनै जानकारी नभएको र जानकारी पाए लगत्तै अञ्जनी लगायतको प्राविधिक टीमलाई जानकारी गराएको बयानमा खुलाएका थिए । अभियोग पत्रको आधारमा मुद्दा अगाडि बढ्यो । तर न अहिलेसम्म अञ्जनी नै पक्राउ परे, न त जेनेसले सुन्दर कम्पनिजलाई मेटाएकोे डेटाहरू फिर्ता गर्यो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर