अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन गर्दै पाटन क्याम्पसको अर्थशास्त्र विभाग – Nepal Press

अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन गर्दै पाटन क्याम्पसको अर्थशास्त्र विभाग

काठमाडौं । पाटन बहुमुखी क्याम्पसको अर्थशास्त्र विभागले अन्तर्राष्ट्रिय आर्थिक सम्मेलन गर्ने भएको छ ।

आयोजकले दिएको सार्वजनिक जानकारी अनुसार सम्मेलन बिहीबारबाट दुई दिनसम्म हुनेछ । सम्मेलन बिहीबार र शुक्रवार ललितपुर पुल्चोकमा अवस्थित होटल स्क्वायरमा आयोजना हुँदैछ ।

नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, सिंगापुर र मलेसियाबाट प्राज्ञिक तथा बौद्धिक व्यक्तित्वको सहभागिता रहनेछ भने नेपालका त्रिभुवन विश्वविद्यालयसँगै काठमाडौं, पोखरा र सुदूरपश्चिम विश्वविद्यालय र उल्लेखित विश्वविद्यालयका विभिन्न आंगिक/सम्बन्धन क्याम्पस तथा विभागको प्रत्यक्ष संलग्नता रहने आयोजकले बताएको छ ।

क्याम्पस स्थापनाको सात दशकमा पहिलो पटक यस्तो कार्यक्रम हुन लागेको हो । संयुक्त राष्ट्र खाद्य एवम् कृषि संगठनको प्रमुख सहकार्यमा आयोजना हुने सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग, नबिल बैंक, सानिमा बैंक तथा राष्ट्रिय वाणिज्य बैंकले प्रायोजन गरेका छन् ।’

आजको अर्थशास्त्रले विकासको सवालमा नवीन सोच र तयारी तथा नवीन ज्ञान आर्जन र सेयर गर्नुपर्ने महसुस गरिसकेकाले सोही आवश्यकता सम्बोधन गर्न अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको अर्थशास्त्र विभाग प्रमुख डा। रघुवीर विष्टले जानकारी दिए ।

‘अर्थशास्त्रको विकास क्रममा पछिल्लो समय जलवायु परिवर्तन तथा श्रम आप्रवासन जस्ता नयाँ विषय जोडिएका छन् । कोभिड महामारी, क्षेत्रीय द्वन्द्वजस्ता गतिविधिले अध्ययनको नयाँ शिरालाई जन्म दिएका छन्,’ विभागीय प्रमुख विष्टले भने, ‘यी घटनाले ठूला र साना अर्थतन्त्रमा गैरपरम्परागत प्रभाव पार्न थालेको छ । उल्लेखित विषयमा नयाँ छलफल प्रारम्भ गर्नुपर्ने आजको टड्कारो आवश्यकता भइसकेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर