नेपालमा गहुँबालीको कालो सिन्दुरे रोगको प्रजाति फेला – Nepal Press

नेपालमा गहुँबालीको कालो सिन्दुरे रोगको प्रजाति फेला

काठमाडौं । नेपालमा गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोगको प्रजाति फेला परेको छ ।

गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोगको प्रजाति ‘यूजी ९९’ को टिटिकेटिटि नेपालमा पहिलोपटक पत्ता लागेको हो । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका वैज्ञानिकहरुले गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोगको प्रजाति नेपालमा पनि देखिएको कुरा पुष्टि गरेका हुन् ।

गत कार्तिक २२ गते दोलखाको दांगढुंगे र खरिढुंगाका क्षेत्रहरुमा गाईवस्तुको आहाराको लागि हरियो घाँसको रुपमा खेती गरिएको गहुँको बोटमा रोगको सर्वेक्षणका क्रममा यो प्रजाति भेटिएको अनुसन्धान केन्द्र खुमलटारका प्रमुख सुरज बैद्यले बताए । उक्त स्थानका दुईवटा गहुँबारीबाट संकलित नमूनालाई ग्लोबल रष्ट रिसर्च सेन्टर डेन्मार्कको प्रयोगशालामा परीक्षण गर्दा ‘टिटिकेटिटि’ नामक ‘यूजी ९९’ को प्रजाति देखा परेको उनले बताए ।

केन्द्रका वैज्ञानिकहरुका अनुसार ‘यूजी ९९’ को टिटिकेटिटि प्रजातिले अफ्रिकन देशहरुमा गहुँबालीमा करिब ८० प्रतिशत भन्दा बढी क्षति पु¥याएको पाइएको छ । हालसम्म दक्षिण तथा पूर्वी एसियाका देशहरुमा नदेखिएको यो प्रजाति नेपालमा देखिएकोले देशभित्र र बाहिर फैलिएमा भविष्यमा गहुँबालीमा ठूलो क्षति पु¥याउनसक्ने आँकलन नार्कका वैज्ञानिकहरुको भनाई छ ।

विगत ६० वर्षमा गहुँको क्षेत्रफल ७ गुणा, उत्पादन १५ गुण र उत्पादकत्व २ गुणाले बढेको अवस्थामा यस्ता रोगहरुको बेलैमा व्यवस्थापन गर्नसके उत्पादन अँझै बढाउन सकिने डा। उपाध्यायले बताए ।

प्रमुख डा.कालिकाप्रसाद उपाध्यायले भन्छन, ‘गहुँमा लाग्ने रोगहरुमध्ये सिन्दुरे प्रमुख रोग हो । जुन तराईमा खैरो, पहाडमा पहेंलो र पहाडमा फाट्टफुट्ट कालो सिन्दुरे गरी तीन प्रकारको हुन्छ । नेपालमा यसअघि कालो सिन्दुरे रोगबारे कुनै तथ्य पत्ता नलागे तापनि करिब २३ वर्षअघि अफ्रिकाको युगाण्डामा यो प्रजातिको व्युत्पत्ति भई गहुँबालीमा ठूलो नोक्सान गरेको थियो ।

त्यसपछि उक्त प्रजाति इथियोपिया, केन्या, सुडान, इरिट्रया, इजिप्ट हुँदै एसियाका इरान, यमन, ओमन, इराक, जोर्डन लगायतका देशमा फैलिएको देखिन्छ । यूजि ९९ लाई टिटिकेएसके नामबाट चिनिने र हालसम्म यसका १५ किसिमका व्युत्पन्न प्रजाति विकसित भइसकेका जनाइएको छ । ती १५ मध्ये टिटिकेटिटि नेपालमा पनि देखिएको हो ।’

केन्द्रका अनुसार यो रोग पक्सिनिया ग्रामिनी ट्रिटिसी नामक ढुसीबाट लाग्ने र यो ढुसी हावाको माध्यमबाट सयौं किलामिटरसम्म फैलिने कुरा पुष्टि भइसकेको छ । यस रोगलाई नेपालमा फैलिन नदिन रोगको वृहत् सर्वेक्षण, रोग अवरोधक जातको छनोट र रोग व्यवस्थापन प्रविधि पत्ता लगाउन अध्ययन अनुसन्धान गर्नु जरुरी रहेको कुरा वैज्ञानिकहरुले औंल्याएका छन् ।

विजय, जिंक गहुँ २, बोलोर्क २०२०, मुनाल, च्याखुरा, डाँफे, वाणगंगा, हिमगंगा, तिलोत्तमा, स्वर्गद्वारी, खुमल शक्ति, आदि जातहरुमा यो प्रजाति अवरोधी क्षमता छ । यी बाहेक अन्य अवरोधी जातहरुको विकास गरी समयमै रोगको व्यवस्थापनमा ध्यान दिनुपर्ने वैज्ञानिकहरुको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *