नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अधिवेशन: कस्तो नीति ? कस्तो नेतृत्व ? – Nepal Press

नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला अधिवेशन: कस्तो नीति ? कस्तो नेतृत्व ?

नेकपा एमाले जिल्ला अधिवेशनको चटारोमा छ । यो वर्ष एमालेका लागि अधिवेशनको वर्ष जस्तै छ । प्रदेश अधिवेशनहरु सम्पन्न भइसकेका छन् भने जिल्ला अधिवेशनहरू धमाधम भइरहेका छन् । एउटा जीवन्त राजनीतिक संगठनका लागि अधिवेशन असाध्यै महत्वपूर्ण पर्व मानिन्छ । यसले संगठनलाई चलायमान बनाउनुका साथै थप गतिमान बनाउँछ । जनताको बहुदलीय जनवादको अभ्यासमार्फत युगको मागमुताविक तथा माटोको आवश्यकताबमोजिम आफ्नो राजनीतिक गतिविधि गरिरहेको नेकपा एमालेका लागि जिल्ला अधिवेशनले असाध्यै महत्व राख्छ । कुनै पनि राजनीतिक दलको आन्तरिक लोकतन्त्र तथा सुशासनका विभिन्न मानकमध्ये निर्दिष्ट समयमा हुने अधिवेशन प्रमुख शर्त हो ।

नेकपाकालीन अवधिमा पार्टीको सांगठनिक गतिविधि निष्क्रिय प्रायः थियो । नेकपा एमाले पुनःस्थापित भएपछि पनि पार्टी कामको व्यवस्थापनमा अलमल हुँदा संगठनात्मक जीवनमा प्रतिकूल प्रभाव पर्‍यो । आन्दोलनभित्र हुर्किएको पद र स्वार्थ केन्द्रित अवसरवादको कारणले कतिपय व्यक्ति पार्टी छाडेर विपक्षी सत्ता गठबन्धनको मतियारसमेत बन्न पुगेको तथ्यबाट यसको गहिराइको अन्दाज गर्न सकिन्छ । भविष्यमा यस प्रकारको समस्या उत्पन्न नहोस् भन्न अवसरवादविरुद्ध पार्टीले तिखो वैचारिक संघर्ष सञ्चालन गर्ने कार्यक्रम तय गरेको थियो ।

पार्टीलाई अग्रगामी रुपान्तरणको नेतृत्वदायी तथा निर्णायक शक्तिका रुपमा स्थापित गर्न वैचारिक रुपमा अझ सुस्पष्ट, संगठनात्मक रुपमा थप व्यवस्थित र सुदृढ, भावनात्मक रुपमा अझ आत्मीय तथा अनुशासित पार्टीका रुपमा स्थापित गर्न गोदावरीमा भएको विधान महाधिवेशनले महत्वपूर्ण कार्यदिशा तय गर्‍यो । विधान महाधिवेशनबाट पारित ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नाराको मर्मलाई आत्मसात गर्दै बलियो पार्टी निर्माण र समृद्ध राष्ट्र निर्माणको अभिभारालाई सँगसँगै अगाडि बढाउने संकल्पसमेत उक्त महाधिवेशनले लियो ।

पार्टीसँग जति नै महत्वपूर्ण योजना भए तापनि संसदीय निर्वाचनमा श्रेष्ठता हासिल नगरी त्यसलाई कार्यान्वयन गर्न सकिन्न । त्यसकारण नेकपा एमालेले अघि सारेका कार्यक्रमलाई कार्यान्वयन गर्न निर्वाचनबाट बलियो शक्तिका रुपमा जनअनुमोदित हुनु जरुरी छ ।

महाधिवेशनको ऊर्जासहित स्थानीय तथा संसदीय निर्वाचनमा होमिएको एमालेविरुद्ध महागठबन्धन बन्यो । सबै जस्ता शक्ति एकतिर मिलेर एमालेविरुद्ध लड्दासमेत लोकप्रिय मतमा एमाले जनताको पहिलो रोजाइको शक्ति बन्यो । यो जबरजस्त सत्य हो । यसबाट जनताको आशा, अपेक्षा एमालेप्रति कुन तहको छ भन्ने पुष्टि हुन्छ । यद्यपि संघ तथा प्रदेश तहमा एक्लै सरकार बनाउने गरी हाम्रा सीटहरु सुरक्षित भएनन् ।

सांगठनिक सुदृढीकरण गर्दै बलियो राष्ट्रिय शक्ति बनाउने योजनाको निरन्तरताका रुपमा केन्द्रीय नेतृत्वलाई आधारभूत तहका कार्यकर्तासँग र आधारभूत तहका कार्यकर्तालाई नेतृत्वसँग जोड्न मिसन ग्रासरुट अभियान सञ्चालन भयो । यसले समग्रमा सिंगो पार्टीलाई आमजनतासँग जोड्ने काम गर्‍यो । हाल प्रदेश तथा जिल्ला अधिवेशनको पृष्ठभूमि यिनै विधान महाधिवेशन, १०औं राष्ट्रिय महाधिवेशन, मिसन ग्रासरुटलगायतका अभियानहरुकै निरन्तरताको कडी हो ।

पार्टीसँग जति नै महत्वपूर्ण योजना भए तापनि संसदीय निर्वाचनमा श्रेष्ठता हासिल नगरी त्यसलाई कार्यान्वयन गर्न सकिन्न । त्यसकारण नेकपा एमालेले अघि सारेका कार्यक्रमलाई कार्यान्वयन गर्न निर्वाचनबाट बलियो शक्तिका रुपमा जनअनुमोदित हुनु जरुरी छ । बाह्य प्रतिस्पर्धाका लागि संगठनको आन्तरिक संरचना बलियो र स्मार्ट बनाउन जरुरी छ । चालू जिल्ला अधिवेशनले चुन्ने नेतृत्व तथा यसले गर्ने गतिविधिमा स्मार्टनेस भएन भने मिसन- ८४ सफलीभूत हुँदैन । त्यसैले हामी संवेदनशील घडीमा छौं । जिल्ला अधिवेशन परम्परा धान्नमात्र हैन, हाम्रो गति सकारात्मक र सिर्जनशील बनाउन हुनुपर्छ । तसर्थ निर्धारित अवधि पूरा भएपछि विधि पुर्‍याएर संघसंस्थाको नवीकरण गरे जस्तो मात्र नभइ कम्युनिष्ट पार्टीको अधिवेशन नीति र नेतृत्वका विषयमा जीवन्त छलफल, विमर्श र मन्थनबाट निकालिने अनुपम निष्कर्ष हुनुपर्छ ।

हामीविरुद्धको महागठबन्धन हाम्रा लागि भारी पर्‍यो । यो दोष अरुलाई मात्र दिएर हामी अब्बल हुन सक्दैनौं । हामी अब्बल हुने अरु कमजोर भएर हैन, आफ्नै क्षमतालाई बढाएर हुने हो । त्यसैले जुनसुकै शक्ति र तागतलाई परास्त गर्ने गरी संगठनलाई चुस्त र बलियो बनाउन जरुरी छ ।

मूलतः ७७ वटै जिल्लामा हुने वा भइरहेको जिल्ला अधिवेशनको एउटै लय र स्पिरिट हुन्छ । तर, कतिपय जिल्लाका आफ्नै खाले संवेदनशीलता भने हुन्छ । जिल्लाको संवेदनशीलता र विशिष्टताले यसलाई पृथक बनाउँछ । सिन्धुपाल्चोक जिल्ला कमिटी चयन गर्दै गर्दा हामीले केही सवालहरुमा घनीभूत छलफल गर्नुपर्नेछ । यसले पार्टीलाई एक ढिक्का बनाइ संसदीय प्रतिस्पर्धाका लागि स्पातिलो बनाउनेछ ।

जिल्लामै लोकप्रिय मतमा सबैभन्दा अगाडि भएर पनि गत निर्वाचनमा हामीले प्रदेश तथा संघीय निर्वाचनका सबै स्थान गुमायौं । हामीविरुद्धको महागठबन्धन हाम्रा लागि भारी पर्‍यो । यो दोष अरुलाई मात्र दिएर हामी अब्बल हुन सक्दैनौं । हामी अब्बल हुने अरु कमजोर भएर हैन, आफ्नै क्षमतालाई बढाएर हुने हो । त्यसैले जुनसुकै शक्ति र तागतलाई परास्त गर्ने गरी संगठनलाई चुस्त र बलियो बनाउन जरुरी छ ।

सिन्धु एमालेले पार्टी जीवनको थुप्रै आरोह अवरोह व्यहोरेको छ । यस्ता घटनाक्रम नडगमगाइकन उभिने नेता कार्यकर्ता तथा समर्थकको ठूलो पंक्ति छ । पार्टी संकटको वेलामा सतीसाल झैं उभिने कार्यकर्ता समर्थकको जागरणलाई कायम राख्नु छ । जस्तोसुकै आँधीहुरीले पनि निभाउन नसकेको दियो र ढाल्न नसकेको निष्ठालाई जोगाउनु छ । विभिन्न कम्युनिष्ट पार्टीबाट प्रवेश तथा समायोजन भएका समर्थक कार्यकर्ताको क्षमता तथा सक्रियताका आधारमा कामको जिम्मेवारी प्रदान गर्नु छ । विभिन्न समूह, उपसमूहमा विभक्त भएर हैन, सबै एकाकार भएर मूल समस्याका विरुद्ध जुट्ने शक्तिका रुपमा विकास गर्नु छ ।

हामीले जुट्दाको परिणाम पनि हेर्‍यौं, फुट्दाको नियति पनि व्यहोर्‍यौं । इतिहास फर्काउन सकिँदैन । तर, त्यसबाट पाठ भने जरुर सिक्न सकिन्छ । तसर्थ, अब हामी टुटेर फुटेर हैन, एकताको नयाँ माला गाँस्न जुटेरमात्र सम्भव छ । यो इतिहासले हामीलाई दिएको शिक्षा हो । साथै सिन्धु एमालेको १०औं अधिवेशनका लागि परीक्षा पनि हो । जिल्ला अधिवेशनकै सन्दर्भमा कुरा गर्नु पर्दा नेकपा एमाले सिन्धुपाल्चोक जिल्लाको नेतृत्वका सवालमा पनि चासो र चिन्ता हुनु स्वाभाविक हो । नेतृत्व यही र यस्तै हुनुपर्छ भन्ने निर्धारित हुन्न । हरेक स्थान र परिस्थितिको विशिष्टताका आधारमा नेतृत्व चयन हुन्छ । हरेक व्यक्ति योग्य हुन्छन् । तर, योग्यताको मानक परिस्थितिको विशिष्टताका आधारमा हेरिनुपर्छ ।

सिन्धु एमालेले पार्टी जीवनको थुप्रै आरोह अवरोह व्यहोरेको छ । यस्ता घटनाक्रम नडगमगाइकन उभिने नेता कार्यकर्ता तथा समर्थकको ठूलो पंक्ति छ । पार्टी संकटको वेलामा सतीसाल झैं उभिने कार्यकर्ता समर्थकको जागरणलाई कायम राख्नु छ ।

यसअघिको अधिवेशन गर्ने वेलामा पार्टी एकखाले संकटबाट गुज्रिएको थियो । पार्टीभित्रको आन्तरिक समस्याले गर्दा हामी सबै मिलेर जानुपर्ने अवस्था थियो । कतिपय सन्दर्भका विशिष्टताका आधारमा सर्वसम्मत वा आन्तरिक प्रतिस्पर्धाको विधि अवलम्बन गर्न सकिन्छ । त्यतिबेला सर्वसम्मतको विधि प्रभावकारी हुने भनेर सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो । सर्वसम्मत वा प्रतिस्पर्धाको विधिबाट संगठनलाई के फाइदा हुन्छ वा त्यसबाट के प्रभाव पर्छ भन्ने दृष्टिबाट हेरियो भने विधि प्रधान हैन । तर, कुन विधिबाट आफू वा आफ्नो समूहलाई के फाइदा वा हानि गर्छ भन्ने पूर्वाग्रहको कसीबाट विधिको व्याख्या गर्न थालियो भने यसले हितभन्दा अहित बढी गर्छ । मूल विषय संगठनलाई बलियो बनाउने हो । यसबाट व्यक्तिलाई के लाभ वा हानि गर्छ भन्ने कुरा गौण हो । यसतर्फ सबै नेता कार्यकर्ता सचेत हुनुपर्छ ।

सिन्धुपाल्चोक जिल्लामा सक्रिय अन्य दलका चरित्रविरुद्ध लड्न पनि एमालेभित्रको आन्तरिक एकताले मात्र सम्भव छ । लोकतान्त्रिक भनिएका वा अन्य दलमा रहेको व्यक्ति केन्द्रित प्रवृत्ति, धनवाद, डनवाद, परिवारवाद जस्ता स्वार्थविरुद्ध लड्नु छ । २०७४ सालको स्थानीय निर्वाचनमा एक्लै लड्दासमेत १२ मध्ये ७ पालिका जितेको त्यो विरासतलाई फर्काउनु छ । प्रदेश तथा संघीय निर्वाचनमा विजय हासिल गर्नु छ । अधिवेशनले त्यसको वातावरण बनाउने हो, बिगार्ने हैन ।

यसका लागि अग्रज नेताहरुको अनुभव तथा ज्ञान आत्मसात गर्दै नयाँ पुस्ताका जोश जाँगरलाई एकीकृत गर्नुपर्ने हुन्छ । नेता कार्यकर्ताहरूलाई परिभाषित जिम्मेवारीमा केन्द्रित गराउनु छ । हर सदस्य मन, वचन र कर्ममा एक भएर लाग्नु छ । केही कुरा सम्झिनुपर्ने छ, केही कुरा बिर्सनु पर्नेछ । त्यसको ख्याल गर्दै कमरेडली वातावारण बनाउनु छ । पार्टीले अघि सारेका नीति कार्यक्रममार्फत सिन्धु एमालेको जागरणले समाजवादको सुनौलो बिहानीको किरण छर्न योगदान गर्नु छ । सिन्धु जिल्ला अधिवेशनलाई भावनाको पर्व बनाउन सबै सकारात्मक हिसाबले लागौं ।

(लेखक नेकपा एमाले सिन्धुपाल्चोकका नेता हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *