भारतीय राजदूतले गृहमन्त्री लामिछानेलाई भेटे, के भयो छलफल ? – Nepal Press

भारतीय राजदूतले गृहमन्त्री लामिछानेलाई भेटे, के भयो छलफल ?

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । भेटमा नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध र भौगोलिक निकटताको आधारमा जनस्तरमा रहेको सम्बन्धलाई थप प्रगाढ बनाउन गर्नुपर्नेबारे छलफल भयो ।

खुला सीमाबीच पनि दुई देशका सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय हुँदा सीमापार अपराध नियन्त्रणमा रहेकोमा दुबै पक्ष सहमत बनेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । राजदूत श्रीवास्तवले सीमावर्ती क्षेत्रमा हुने साना अपराध नियन्त्रण र मानव ओसार–पसार समन्वयका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पुनःनिर्माणका लागि अनुदान र सहायता प्रदान गर्न, राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण समयमै सक्न र प्रहरीका लागि विशिष्टकृत तालिम उपलब्ध गराउने स्रोतका लागि भारत तयार रहेको राजदूतको भनाइ छ । पुनःनिर्माणमा भारत सरकारले प्रदान गर्ने अनुदानको उपयोगका लागि प्रक्रियागत सहजीकरण गरिने गृहमन्त्रीले बताए ।

तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने संयन्त्र सीमावर्ती क्षेत्रमा बढाउनु पर्ने र भएकालाई स्तारोन्नतिसहित नियमित र विश्वासिलो बनाउनु पर्नेमा लामिछानेको जोड थियो । नेपालको सुरक्षा सुदृढकरण तथा आतंकवाद नियन्त्रणका लागि आवश्यक पर्ने स्रोत–साधन उपलब्ध गराउन भारत इच्छुक रहेको राजदूत श्रीवास्तवले बताए ।

गृहमन्त्री लामिछानेसँग आजै नेपालका लागि दक्षिण कोरिया राजदूत पार्क ताइयोङले पनि भेट गरेका छन् । भेटमा नेपाल र दक्षिण कोरियाको दौत्य सम्बन्धको ५०औं वर्षगाँठको उपलक्ष्यमा शुभकामना अदान–प्रदान भएको छ ।

राजदूतले रोजगारी अनुमति प्रणालीमार्फत दक्षिण कोरियामा नेपाली कामदारको संख्या बढाउँदै लैजाने प्रतिवद्धता जनाएका थिए । दक्षिण कोरियामा कार्यरत कामदारलाई सीपसहित स्वरोजगारतर्फ अभिप्रेरित गर्ने र साना उद्यमको विकासमार्फत नेपाल फर्किएकालाई रोजगारी सिर्जनामा केन्द्रित गराउने प्रयास भइरहेको उनले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *