डलर खेलाउँदै, हिन्दू धर्मका बियाँ केलाउँदै ‘सोच’: को-को छन् यसका पछाडि ? – Nepal Press

डलर खेलाउँदै, हिन्दू धर्मका बियाँ केलाउँदै ‘सोच’: को-को छन् यसका पछाडि ?

काठमाडौं । नेपालमा अमेरिकाले नास्तिकता अर्थात् धार्मिक अनास्था फैलाउन करोडौँ लगानी गरिरहेको विषय अमेरिकी सदनमा उठेसँगै सामाजिक सञ्जालमा बहस चर्को भएको छ । अमेरिकी सांसद ब्रिआनम्यास्टले नेपालमा धार्मिक अनास्था फैलाउन अमेरिकी सरकारले किन पाँच लाख अमेरिकी डलर अर्थात् ६ करोड ६५ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेको भनेर प्रश्न सोधेका थिए ।

अमेरिकी सरकारका व्यवस्थापन तथा स्रोत–साधन क्षेत्रका सहायक विदेशमन्त्री रिचर्ड राहुल बर्माले त्यति रकम खर्च नभएको बताएका छन् । तर, अमेरिकाले नास्तिकता फैलाउने परियोजनामा गरेको सार्वजनिक आह्वानदेखि नेपाली साझेदारसम्मका सूचना प्राप्त भएका छन् । नास्तिकतासहितको धार्मिक स्वतन्त्रताको नाममा अमेरिकी सरकारले सन् २०२१ को अप्रिल २१ मा एक सूचना नै प्रकाशन गरेर पाँच लाख डलरको सिलिङ आह्वान गरेको भेटिएको छ ।

सन् २०१८ मा अमेरिकाको नास्तिकता प्रवर्द्धन गर्ने संस्था ह्युम्यानिस्ट इन्टरनेसनलका प्रमुख गेरी म्याकलेल्याण्ड नेपाल आएका थिए । नेपाल आएर उनले वामपन्थी पत्रकार नरेन्द्रजंग पिटर तथा तत्कालीन राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारीलाई भेटे । उनले आफ्नो नेपाल यात्राको वृत्तान्त लेख्दै पिटरलाई नेपालका धर्म, संस्कृति तथा परम्पराको खराबी उजागर गर्ने पात्रका रूपमा चित्रित गरेका छन् । अन्सारीले नयाँ संविधान बन्दा नेपालमा धर्म परिवर्तनको काममा व्यवधान भएको बताएको भनी उनले सन् २०१८ जनवरी १७ को दिनको आफ्नो डायरीमा सार्वजनिक गरेका छन् ।

यो पनि पढ्नुहोस्- अमेरिकी नास्तिकता प्रवर्तक आएका थिए नेपालस् दूतावासबाट निस्केर को को भेटे ?

गेरी म्याकलेल्याण्डसँगै देखिएका अर्का पात्र हुन् उत्तम निरौला । उत्तमको संस्था ‘सोच’ ले आफूलाई जनवरी १७ को दिन रात्रीभोज दिएको उनले बताएका छन् । अहिले उनै उत्तम र उनको संस्था ‘सोच’ को चर्चा सतहमा आएको छ ।

के हो ‘सोच’ को सोच ?

नेपालमा नास्तिकता फैलाउन अमेरिकी सरकारले लगानी गरेको तथा अमेरिकी नास्तिकता प्रवर्द्धक नेपाल आएको सन्दर्भसँगै ‘सोच’ चर्चामा आएको हो । सोचको आधिकारिक वेबसाइटमा नै हिन्दूविरोध सक्रियता देखाइएको छ । हिन्दू धर्मका खराब पक्षमा मुखर भएकोदेखि धर्मनिरपेक्षताको सवालमा संस्थाले काम गरेको उल्लेख गरिएको छ । संस्थाले अमेरिकी सहयोग परियोजना युएसएड नेपाल, एसिया फाउण्डेसन, ह्युम्यानिस्ट इन्टरनेसनल लगायतका संस्थाहरूलाई आफ्ना ‘सहयोगी’ भनेर वेबसाइटमै सार्वजनिक गरेको छ ।

यो पनि पढ्नुहोस्- नेपालमा सनातन हिन्दू र बौद्धधर्मप्रति अनास्था फैलाउन अमेरिकाले करोडौं खर्च गरेको खुलासा

अमेरिकी सदनमा नेपालमा नास्तिकता फैलाउन बजेट दिएको चर्चा गरिनु, नास्तिकताका प्रवर्द्धक नेपाल आउँदा सोचले रात्रि भोज दिएर घुमाउनु र सोचको वेबसाइटमा सहयोगीको सूचिमा अमेरिकी सरकारको लोगो भेटिनुले यही संस्थाबाट रकम खर्च भएको आँकलन गर्न सकिन्छ । अझ रोचक कुरा त सोचको प्रकाशनमा चर्चा गरिएका धार्मिक कुरीतिमा हिन्दु धर्म मान्नेहरूबाट भएका कुरीतिलाई मात्रै जोड दिइएको छ । नेपाल पछिल्लो समयमा बढेका इसाई धर्मका कुरीति खासगर कोभिडको समयमा सार्वजनिक भएका कोभिड निको पार्ने दाबीजस्ता कुरा रिपोर्टमा भेटिँदैन ।

सोचका हर्ताकर्ता

सन २००७ मा उत्तम निरौलाले सोच स्थापना गरेका हुन् । सोसाइटी फर ह्युमानिज्मनालाई छोटकरीमा मिलाएर सोच बनाइएको हो । युएनडीपी र डब्लुएचओ जस्ता संस्थामा काम गरिसकेका निरौला आफ्नो सामाजिक सञ्जालमा धार्मिक नास्तिकताका मुद्दामा मुखर देखिएका छन् ।

सोचको अहिलेका सभापति भने उत्तम पुडासैनी छन् । उपसभापति सञ्जय खड्का, सचिव मीनबहादुर सिंह, कोषाध्यक्ष इन्द्र भण्डारी छन् । सदस्यहरूमा रुकु रनपाल, एलिस्ता सुवेदी, विमला खड्का छन् । सोचको आधिकारिक वेबसाइटमा राखिएको जानकारी अनुसार संस्थाका सल्लाहकारहरूमा डाक्टर दिनेश राजभुजु, डाक्टर खगेन्द्र प्रसाईँ, बालकृष्ण श्रेष्ठ, शान्ति गुरुङ छन् । भूपू सभापतिहरूमा टिएन घिमिरे, रवीन्द्र भट्टराई, रमेश पौड्याल छन् । उत्तम निरौला अहिले कार्यकारी निर्देशक भएर प्रमुख हर्ताकर्ता नै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *