नाउपालाई सुदूरपश्चिममा नेतृत्व गर्न प्रधानमन्त्री प्रचण्डको प्रस्ताव – Nepal Press

नाउपालाई सुदूरपश्चिममा नेतृत्व गर्न प्रधानमन्त्री प्रचण्डको प्रस्ताव

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरूसँग आज बालुवाटारमा छलफल गर्दै उक्त प्रस्ताव गरेको बुझिएको छ ।

सुदूरपश्चिम प्रदेशमा अहिले कांग्रेस नेतृत्वको सरकार छ । सरकारमा नागरिक उन्मुक्ति पार्टीका पाँच मन्त्री छन् ।

प्रधानमन्त्रीले सुदूरपश्चिम सरकारको नेतृत्व गर्न आग्रह गरेको र यस विषयमा सत्ता गठबन्धनमा छलफल गर्ने बताएको छलफलमा रहेका नाउपाका एक नेताले जानकारी दिए ।

‘उहाँले हामीलाई सुदूरपश्चिम सरकारको नेतृत्व गर्न आग्रह गर्नुभयो’, ती नेता भने, ‘यस विषयमा प्रधानमन्त्रीले आफूले गठबन्धनका अन्य दलहरूसँग पनि छलफल गर्ने बताउनुभयो ।’

सुदूरपश्चिममा नागरिक उन्मुक्तिको साथविना नयाँ गठबन्धनको सरकार बन्ने सम्भव छैन । प्रधानमन्त्री भेट्न पुगेका नाउपाका नेताहरूले सुदूरपश्चिममा मात्र नभई लुम्बिनी र मधेश प्रदेशमा पनि आफूहरूको प्रतिनिधित्व रहेको भन्दै त्योअनुसारको उपस्थिति हुनुपर्ने बताएका थिए ।

‘कैलालीमा हामी पहिलो दल छौं, लुम्बिनी र मधेशमा पनि हाम्रा सांसदहरू हुनुहुन्छ । केन्द्रमा पनि हाम्रो उपस्थिति छ । त्यहीअनुसारको हाम्रो मूल्याङ्कन हुनुपर्छ’, ती नेताले प्रधानमन्त्रीलाई भनेको कुरा उल्लेख गर्दै भने, ‘हामीले हाम्रो सम्मानजनक उपस्थिति भए नयाँ गठबन्धनको सरकारमा सहभागी हुने बतायौं ।’

प्रधानमन्त्री प्रचण्डले नाउपाका नेताहरूलाई नयाँ गठबन्धनबारे धारणासमेत लिएका थिए ।

‘नयाँ गठबन्धनप्रति तपाईंहरूको धारणा के हो ? विगतमा सहकार्य गरेका हौं । सरकारमा सामेल हुनुहोस् । अझै सहकार्य गरेर जाऔं’, प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी अर्का नेताले भने ।

नाउपाका संस्थापक नेता तथा टीकापुरका मेयर रामलाल डगौराले पनि प्रधानमन्त्रीसँगको छलफल सकारात्मक रहेको र फेरि छलफल गर्नेगरी छुट्टिएको बताए ।

‘संसदमा उपस्थितिअनुसार नाउपाको सम्मानजनक व्यवस्थापन गरिनुपर्ने कुरामा प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, आजको छलफल सकारात्मक भयो’, उनले भने, ‘प्रधानमन्त्रीले गठबन्धनमा छलफल गरेपछि हाम्रो विषय टुङ्गो लाग्छ ।’

उनले आफूहरूको सम्मानजनक उपस्थिति हुने अवस्थामा नयाँ गठबन्धनलाई साथ दिने सम्भावना रहेको बताए । यसअघि नै नाउपाले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिइसकेको छ । विश्वासको मत दिएको नाउपा सरकारमा भने सहभागी भएको छैन ।

शनिबारको छलफलपछि सरकारमा सहभागी हुने बाटो खुलेको नाउपाका नेताहरूको बुझाइ छ । पार्टी अध्यक्ष श्रेष्ठ सुरुबाटै एमाले–माओवादी नेतृत्वको नयाँ गठबन्धनमा सहभागी हुन चाहेको तर, उनका श्रीमानसमेत रहेका संरक्षक रेशम चौधरीले सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई सघाउन थालेपछि उनीहरूबीच तिक्तता आएको थियो ।

अहिले केन्द्रमा नयाँ गठबन्धनमा सहभागी हुनेबारे केन्द्रीय अध्यक्षसहितका नेताहरूले छलफल गर्दा रेशम चौधरी जापानमा छन् ।

केन्द्रमा नयाँ गठबन्धनलाई साथ दिने गरी नाउपा अघि बढेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह भने आफ्नो सरकारले विश्वासको मत पाउने विश्वासमा छन् ।

‘रेशम चौधरीसँग उहाँ संवादमै हुनुहुन्छ’, कांग्रेसका एक नेताले भने, ‘विश्वासको मत दिन्छन् भन्ने उहाँलाई रिपोर्टिङ छ ।’

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले पनि कांग्रेस नेतृत्वको सरकारले विश्वासको मत पाउने दाबी गरेका छन् ।,
प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको होली मिलन कार्यक्रममा उनले सरकारले होलीलगत्तै विश्वासको मत लिने र बहुमत प्राप्त गर्ने दाबी गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर