लुम्बिनीमा अनलाइन टिकेटिङ शुरु, छिटाे गुरुयोजना पूरा गर्न पर्यटनमन्त्रीको निर्देशन (भिडिओ) – Nepal Press

लुम्बिनीमा अनलाइन टिकेटिङ शुरु, छिटाे गुरुयोजना पूरा गर्न पर्यटनमन्त्रीको निर्देशन (भिडिओ)

रूपन्देही । लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको शुरु गरेको छ । कोषका अध्यक्ष एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले शनिबार अनलाइन टिकेटिङ प्रणाली शुरु गरेका हुन् ।

उक्त अवसरमा उनले ई-टिकेटिङले कुनै पनि प्रकारको अनियमितता रोक्दै संस्थालाई पारदर्शी र पर्यटकलाई सहयोग गर्ने बताए ।

कार्यक्रममा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले अनलाइन टिकेटिङले लुम्बिनीमा आउने पर्यटकहरुको संख्या बढ्ने विश्वास गरे ।

उनले लामो लाइन लागेर टिकट लिनुपर्ने बाध्यता अन्त्य गरी पर्यटकलाई सजिलो बनाउने काम गरिएको बताए ।

कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले मायादेवी दर्शनसँगै बृहत्तर लुम्बिनी क्षेत्र भ्रमणका लागि अनलाइन टिकेटिङले कोषको आम्दानी वृद्धि हुने बताए ।

कोषको वेबसाइट डब्लुडब्लुडब्लु डट लुम्बिनीडेभट्रस्ट डट जीओभी डट एनपी लगइन गरेर ई-टिकेट्समा गएपछि टिकट काट्न सकिन्छ ।
ई-टिकेटस्मा गएपछि नेस्नालिटी, व्यक्तिको संख्या, गाडी वा ट्याक्सी, क्यामेरा र फिल्म सुटिङका लागि भए त्यो अप्सन छनोट गरेपछि तोकिएको मूल्य भिसा कार्ड, बैंक, ई-सेवा र खल्ती एपबाट तिर्न सकिने व्यवस्था मिलाइएको कोषका लेखा प्रमुख भीम बस्नेतले जानकारी दिए ।

लुम्बिनीमा २०६१ सालदेखि टिकट काट्न थालिएको हो । लुम्बिनीमा गत वर्ष १० लाख पर्यटक आएका थिए ।

गुरुयोजना पूरा गर्न पर्यटनमन्त्रीको निर्देशन

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री तामाङले कोषका पछिल्ला गतिविधि र अवस्थाबारे जानकारी लिएका छन् । उनले लुम्बिनी गुरुयोजना कार्यान्वयन नभएकोमा सर्वत्र आलोचना भइरहेकाले छिटो कार्यान्वयन गर्न निर्देशन दिए ।

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टांगेले तयार पारेको गुरुयोजनाका बाँकी काम पूरा गर्ने गरी बजेट सुनिश्चिताका लागि आफूले पहल गर्ने उनले बताए ।

मन्त्री तामाङले गुरुयोजनाविपरीत संरचना बनेको, युनेस्कोको असहमति रहेका जस्ता विषयहरु आइरहेकाले यसबारेमा आफ्नो ध्यानार्कषण भएको बताए ।

कोषका उपाध्यक्ष डा. लामाले लुम्बिनीमा आफू आएपछि केही सुधारका कामहरु भइरहेको मन्त्रीसामु बिफ्रिङ गरेका थिए । उनले गुरुयोजनाका बाँकी काम पूरा गर्न आवश्यक बजेट व्यवस्था गर्न पहल गर्नुपर्ने बताए ।

छलफलमा सदस्य सचिव सानुराजा शाक्यले कोषका हालसम्मका गतिविधि र यसको कार्य क्षेत्रलगायतका विषयमा जानकारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर