चीन उड्नुअघि परराष्ट्रमन्त्री श्रेष्ठले भने- सम्झौता कार्यान्वयन प्रक्रियामा जोड दिन्छु – Nepal Press

चीन उड्नुअघि परराष्ट्रमन्त्री श्रेष्ठले भने- सम्झौता कार्यान्वयन प्रक्रियामा जोड दिन्छु

काठमाडौं । चीन उड्नुअघि उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग छलफल गरेका छन् । परराष्ट्र मन्त्रालयमा भएको छलफलमा मित्रराष्ट्र चीनसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

उनले आफ्नो भ्रमण दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्ने तथा द्विपक्षीय पारस्परिक सहायता अभिवृद्धिका बारेमा केन्द्रित हुने बताए ।

परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘अहिलेको मेरो चीन भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र पारस्परिक सहयोगात्मक सम्बन्धलाई पनि राम्रो बनाउने छ । अहिलेसम्म भएका सम्झौताको कार्यान्वयन प्रक्रियाका बारेमा चिनियाँ पक्षसँग छलफल हुनेछ ।’

उनलाई भ्रमणका क्रममा सहभागीले ऊर्जा, व्यापार, पर्यटन, सम्पर्क सञ्जाल, कृषि, प्रविधि हस्तान्तरण, सीमा व्यवस्थापनलगायत विषयमा चिनियाँ पक्षसँग छलफल गर्न सुझाव दिएका थिए ।

चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ भोलि चीन भ्रमणमा जाँदैछन् । त्यहाँ उनले विदेशमन्त्री वाङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्चस्तरका विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर