भारतीय विदेशमन्त्री जयशंकरको अन्तर्वार्ता: नाकाबन्दी, चुच्चे नक्सा, बिजुली व्यापार र नयाँ सरकारबारे के भने ? – Nepal Press

भारतीय विदेशमन्त्री जयशंकरको अन्तर्वार्ता: नाकाबन्दी, चुच्चे नक्सा, बिजुली व्यापार र नयाँ सरकारबारे के भने ?

काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकर नेपाली चासोका मुद्दाहरुमा मुखर भएका छन् । चैत ४ गते सार्वजनिक भएको एक पडकास्टमा उनले नेपालका चासो भएका नाकाबन्दी, चुच्चे नक्सा, बिजुली व्यापार र नयाँ सत्ता समीकरणबारेमा खुलेर बोलेका छन् ।

आफ्ना दुई किताब ‘दि इण्डिया वे’ र ‘ह्वाइ भारत म्याटर्स’मा दुई देशका जटिल मुद्दामा नबोलेका जयशंकर यस अन्तर्वार्तामा मुखरित भएका छन् ।

‘जमघट’ शीर्षकको पडकास्टमा ललनटपका प्रधान सम्पादक सौरभ द्विवेदीले जयशंकरसँग लामो अन्तर्वार्ता गरेका छन् । भारतको विदेश मन्त्रालयमा सन् १९७० को दशकमा प्रवेश गरेर राजदूतदेखि विदेशसचिवसम्म भएका जयशंकर मोदीको दोस्रो कार्यकालबाट विदेशमन्त्री छन् । नेपालमा भारतको नाकाबन्दी भएर सम्बन्ध खराब हुँदाका विदेशसचिव उनी पछिल्लो समयमा नेपालसँगको सम्बन्ध लयमा आउँदाका विदेशमन्त्री छन् । यी सबै कुरा सम्पादक सौरभले सोधेका छन् ।

३ घण्टा दुई मिनेट ४० सेकेण्डको अहिलेसम्मकै लामो अन्तर्वार्तामा जयशंकरले १५ मिनेट बढी नेपालबारेमा किस्ता किस्तामा आफ्ना कुरा राखेका छन् ।

‘नयाँ संविधान बन्दा नेपाली नेतालाई धम्क्याएको होइन, सल्लाह दिएको’

जयशंकरले २०७२ सालको नेपालको संविधान बन्दा नेपाली नेतालाई नधम्क्याएको बताए । प्रश्नकर्ताले केपी शर्मा ओलीले आफ्नो पार्टीको दस्तावेजमै रहनेगरी पत्रकार सम्मेलनमा जयशंकरले नेपाली नेतालाई धम्क्याएको भन्दै सोधिएको प्रश्नमा जयशंकरले प्रतिप्रश्न गरेका छन्- ‘तपाईंलाई लाग्छ कि म मान्छे धम्क्याउँछु ?’

उनले यसमा थपे- ‘राजनीतिमा आफ्नो सन्दर्भ र फाइदाका लागि मान्छेले विभिन्न कुरा भन्छन् । हाम्रो सुरुदेखिकै कुरा थियो कि तपाईंहरु आपसमा बसेर समाधान निकाल्नुहोस् । जुन गोलीबारी भइरहेको थियो, त्यो बन्द गर्नु भनेका थियौं ।’

संविधानको बारेमा नोटमात्र गरेको प्रश्नमा त्यो मान्छेको व्याख्या भएको भन्दै जयशंकर पन्छिएका छन् ।

नेपालका यी यी संविधानका धारा परिवर्तन भए नाकाबन्दी खुला हुनेबारेमा आएको समाचारमा जयशंकरले भने- ‘बेलाबेला मिडियालाई हामीलाई भन्दा धेरै थाहा भएको जस्तो गरिन्छ ।’

उनले अन्तर्वार्तामा भनेका छन्- ‘सबै अवस्थाबाट आआफ्ना सबक सिक्नुपर्ने हुन्छ भनेर त मैले भनिसकेको छु । हाम्रा छेउछाउमा कुनै प्रतिस्पर्धी शक्तिले केही गरिरहेको हुन्छ भने हाम्रो एन्टेना खडा हुनुपर्छ । हामीले केही त गर्नुपर्छ । त्यो चीनमात्रै होइन । अहिले चीन बढी हो । हाम्रा छिमेकमा भारतको स्वार्थको बारेमा भारतमा कुनै द्विविधा हुनुहुन्न । यो हाम्रो समग्र छिमेकको लागि दिशानिर्देशक मन्त्र हुनुपर्छ ।’

सन् २०१५ सेप्टेम्बर १८ मा तपाईं नेपाल जाँदा प्रधानमन्त्रीको ब्रिफिङ के थियो भन्ने सवालमा जयशंकरले भनेका छन्- ‘ब्रिफ यो थियो कि मधेशमा गोली चलिरहेको थियो । अवस्था राम्रो थिएन । हामीले तापक्रम घटाउनुपर्छ । यसलाई कम गर्न केही त गर, यो तपाईंहरुमै छ । एक असल मित्रको रुपमा हामीले त्यो भनिरहेका छौं । हामीले जे भने पनि अन्ततः हरेक देश सार्वभौम छन् । हामीले सल्लाह दिने हो । एक मित्रको रुपमा हामी सल्लाह दिन सक्छौं । हाम्रा जुन स्वार्थ छन्, हामी पूरा गर्न जे गर्नुपर्ने हो, गर्छौं ।’

‘नाकाबन्दी भारतले गरेको होइन, मधेशमा अवरोध भएको हो’

जयशंकरले नेपालमा भारतले नाकाबन्दी नगरेको जिकिर गरेका छन् । नेपालको नाकाबन्दी नभएर मधेशमा अवरोधमात्रै भएको उनले दाबी गरेका छन् । नाकाबन्दी हुँदा भारततर्फ नभएर नेपालतर्फ अवरोध भएको र त्यो हुनुमा नेपालको तत्कालीन आन्तरिक राजनीति कारक भएको उनले तर्क गरेका छन् ।

भूकम्प पुनर्निर्माणको सवालमा भारत सफल भएको भन्दै उनले भनेका छन्- ‘जब त्यहाँ भूकम्प भयो, हाम्रो पुनर्निर्माणको प्रतिबद्धता पूरा भएको छ । हामी वास्तवमै भन्न सक्छौं कि हामीले पूर्ण रुपमा नतिजा दिएका छौं ।’

‘गठबन्धनको खटपटबारेमा प्रचण्डले युगाण्डामै सुनाएका थिए’

जयशंकरले नेपालको नयाँ सत्ता गठबन्धनको खटपटबारेमा आफूले पूर्वजानकारी पाएको दाबी गरेका छन् । युगाण्डामा भएको असंलग्न देशहरुको सम्मेलनका क्रममा पुगेमा नेपालका प्रधानमन्त्री प्रचण्डले आफूलाई त्यो भनेको उनले बताएका छन् । प्रश्नकर्ताले प्रचण्डले चीनले दबाब दिएको छ भने भन्दा जयशंकरले भनेका छन्, ‘यो उनले भनेको कुरा छोडौं । सरकार बन्यो । अब हामी सरकारको साथ काम गर्छौं । यो राजनीतिको प्रकृति हो ।’

नेपालमा नयाँ सरकार बन्नु आन्तरिक मामिला भएको भन्दै जयशंकरले भारतले नयाँ सरकालाई बधाई दिएको बताए ।

‘नेपालसँगको सीमा समस्या लुकाउनु पर्दैन’

भारतको चीन, पाकिस्तान र बंगलादेशसँग मात्रै सीमा समस्या भएको आमभारतीयमा जानकारी भएको तर लिपुलेक कालापानीको कुरा र नेपाली नयाँ नक्सा आउनुभन्दा अगाडि थाहा नभएको प्रश्नकर्ताको सवालमा जयशंकरले नेपालसँग सीमा समस्या भएको बताएका छन् ।

उनले भनेका छन्- ‘केही सीमामा फरक मत थियो । यो लुकाउने कुरै होइन । हामी छलफल गरिरहेका छौं । मलाई याद छ कि विदेशसचिव तहमा यसको छलफल पनि भइरहेको थियो । वादविवाद त बसेर मिलाउने हो । मलाई जनस्तरमा पुर्‍याएर नागरिकलाई भड्काइन्छ जस्तो लागेको थिएन ।’

नेपालले जारी गरेको चुच्चे नक्साको बारेमा सोधिएको प्रश्नमा जयशंकरले घुमाउरो उत्तर दिए । उनले भनेका छन्- ‘मलाई याद छ । छिमेकसँग हाम्रो मित्रता भइराख्नुपर्छ । कुरा हुनुपर्छ ।’

‘नेपाल-बंगलादेश बिजुली व्यापारमा भारतले सहयोग गर्छ’

नेपाल जलविद्युतको विशाल सम्भावना भएको देश र भारत विद्युतको एक विशाल बजार भएको भन्दै जयशंकरले यी क्षेत्रमा दीर्घकालीन सहकार्य हुनसक्ने बताए । उनले भने- ‘नेपालले पहिलो पटक भारतलाई विद्युत बेचिरहेको छ । यसबाट उनीहरुले पैसा कमाइरहेका छन् । हामी स्थायी सहकार्य गर्न गइरहेका छौं । मोदीजीले भनेको छिमेक प्रथम यही हो ।’

नेपालले बंगलादेशलाई बिजुली बेच्ने कुरामा पनि भारतले सहयोग गर्ने भन्दै जयशंकरले थपेका छन्- ‘हामीले उनीहरुलाई बंगलादेशमा निर्यात गर्न पनि सहयोग गर्छाैं । छिमेकीलाई सँगै लिएर जानुपर्नेछ । त्यहाँको राजनीति सम्हाल्नुपर्नेछ ।’

नेपालले भारतसँग असुरक्षित महसुस गर्ने सवाल आफैं कोट्याउँदै जयशंकरले भनेका छन्- ‘काठमाडौंले हामी त्यहाँ बिजुली बेच्छौं । त्यहाँबाट पर्यटक आउँछन् । बिरामी त्यहाँ जान्छन् भनेर सोच्नुपर्‍यो । यस्तो सोचेमा ठूलो देश छ, के गर्छ होला भन्ने असुरक्षा आफैं भागेर जान्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर