उच्चस्तरीय समिति गठन गरेर नैतिकतामा प्रश्न उठेकाहरूमाथि छानबिन गरौं : नैनसिंह महर – Nepal Press

उच्चस्तरीय समिति गठन गरेर नैतिकतामा प्रश्न उठेकाहरूमाथि छानबिन गरौं : नैनसिंह महर

काठमाडौं । नेपाली राजनीतिज्ञमा पछिल्लो समय राजनीतिक नैतिकताको खडेरी देखिएको नेपाली कांग्रेसका नेता नैनसिंह महरले औंल्याएका छन् ।

प्राज्ञिक विमर्श समूहले काठमाडौंको कीर्तिपुरमा आयोजना गरेको लोकतन्त्र र नैतिकता विषयक बहसमा नेता महरले राजनीतिज्ञमा नैतिकता अहम विषय भए पनि त्यसमा ह्रास हुने क्रम बढ्दो रहेको बताए ।

‘२०१७ साल पछाडि सार्वजनिक ओहदामा रहेका व्यक्ति वा कुनै संस्थामाथि नैतिकरूपमा प्रश्न उठेको छ भने उनीहरूमाथि छानविन हुनुपर्छ । कारबाही सिफारिसका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ’, उनले भने ।

संसदमा लामो समयदेखि उच्चस्तरीय छानबिन समितिको कुरा उठेको र जनताले पनि यो विषय उठाइरहेकोमा सांसदहरूको गैरजिम्मेवार व्यवहारका कारण समिति गठन हुन सकेको छैन ।

‘देशका प्रति सांसदहरू जिम्मेवार देखिनु आवश्यक छ । तर उच्चस्तरीय छानविन समिति बन्न सकेको छैन। सांसद साच्चिकै देश र जनताका प्रति जिम्मेवार छन् भने सदनमा नाटकवाजी, होहल्ला गर्नुभन्दा पनि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्छ । यसका लागि विधेयक आवश्यक परे त्यो पनि ल्याउनुपर्छ’, उनले भने ।

त्यसरी गठित समितिले २०१७ साल यताका सार्वजनिक पद धारण गरेका व्यक्ति वा संस्थामध्ये नैतिकताको प्रश्न उठेका सबैमाथि अनुसन्धान गर्नुपर्ने बताए ।

समाजमा भ्रष्टाचारलाई मात्र बढी प्राथमिकता दिने गरिएको बताउँदै उनले नैतिक भ्रष्टिकरण भएका व्यक्तिहरूको हर्कतले पनि देशलाई गम्भीर असर पारिरहेको उनको ठहर छ ।

‘कानून र नैतिकता अलि फरक हुन् । कानुनभित्र परेको मान्छेलाई कारबाही गर्न सकिन्छ । नैतिकता भनेको उसले पालना गर्ने आचरण हो । तै पनि व्यक्तिले गुमाएको नैतिकताका कारणले समाजमा समस्या पैदा गरिरहेको हु्न्छ’, उनले भने ।

यो प्रवृत्ति सुशासन र समृद्धिको बाधक रहेको उनको भनाइ छ । नैतिकताको कमी हुँदा समाजलाई अपेक्षाकृति गतिमा अगाडि बढाउन नसकिएको उनले बताए ।

‘नैतिकता हराएकै कारण नेपाललाई जुन ठाउँमा पुर्याउन सकिन्थ्यो, त्यहाँ पुगाउन सकेका छैनौं। युवाहरूले यही देशमा भविष्य देख्नुपर्थ्यो । राजनीतिक दलका नेता इमान्दर हुनुपर्थ्यो। कर्मचारी इमान्दार हुनुपर्थ्यो । पत्रकारले निश्पक्ष कलम चलाउनुपर्थ्यो । त्यो कम भएको देखिनु भनेको नैतिकता ह्रास हुँदै जानु हो’, महरले भने ।

संसद जनताका प्रति जिम्मेवार हुन नसकेको महरको आरोप छ। संसदमा पुगेर कोही भत्तामात्रै खाने र कोही सत्तामात्रै चलाउने धाउन्नमा रहेको उनले बताए। यसले जनउत्तरदायित्व नदेखिएको उनको ठहर छ ।

छिटो–छिटो गठबन्धन भत्किनु र बन्नु पनि राजनीतिज्ञमा नैतिक ह्रासको प्रमाण भएको महरको भनाइ छ । यसले देशलाई ठूलो क्षति पु्ग्ने गरेको उनले बताए । नैतिकता ह्रास हुँदा गलत बाटो अवलम्बन गरिने भएकाले त्यसले मुलुक र जनताका लागि ठूलो दीर्घकालिन असर पु¥याइरहेको महरको धारणा छ ।

यस्तै वर्तमान सरकारमा नै विभिन्न विवादमा मुछिएका र अनुसन्धानको दायरमा रहेका व्यक्तिहरू मन्त्री रहेकाले यसले राजनीतिक नैतिकता नदेखाउने महरले बताए । यस्ता प्रवृत्तिले जनतामा चरम निराशा बढ्ने भएकाले निश्पक्ष छानबिन हुनुपर्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर