गाउँपालिका अध्यक्षमाथि अर्काकी श्रीमती ओगटेको आरोप, उपाध्यक्षले गरे प्रहरीमा पत्राचार – Nepal Press

गाउँपालिका अध्यक्षमाथि अर्काकी श्रीमती ओगटेको आरोप, उपाध्यक्षले गरे प्रहरीमा पत्राचार

श्रीमान्‌को उजुरी- अध्यक्षले श्रीमती पनि लगे, सम्पत्ति पनि खाइदिए

काठमाडौं । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाविरुद्ध गम्भीर नैतिक अपचलनको आरोप लागेको छ । सर्लाहीको बाग्मती नगरपालिका-४ बस्ने भीमबहादुर मोक्तानले आफ्नी श्रीमती उडाएको र सम्पत्ति खाइदिएको भन्दै वाइवाविरुद्ध गाउँपालिकाकै न्यायिक समितिमा निवेदन दिएका छन् ।

मोक्तानले दिएको निवेदनमा आफूले विदेशमा दुख गरेर पठाएको ७ लाख रूपैयाँ श्रीमती सुनीताकुमारी बलसँग मिलेर अध्यक्ष मोक्तानले खाइदिएको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘म विदेश बस्दा पत्नीलाई पटक-पटक गरी ७ लाख पठाएकोमा हाल उनी यसै गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवासँग कोठा लिई बसेको र म निवेदकसँग सम्पर्कविहीन रहेको अवस्था छ ।’

भीमबहादुर र संगीताको विवाह २०६९ साल वैशाख ८ गते परम्परागतरूपमा भएको थियो । उनीहरूले सोही वर्षको फागुन १६ गते पहिलो सन्तानका रूपमा पुत्रीलाभ गरेका थिए । परिवारको आर्थिक समस्याले गर्दा २०७१ सालमा भीमबहादुर विदेशिए । तीन वर्षपछि २०७८ साल असोज ५ गते नेपाल फर्किँदा श्रीमती घरमा थिइनन् । छोरीलाई होस्टेलमा छोरेर संगीता बज्रध्वजसँग हिडेको मोक्तानले बताएका छन् ।

मोक्तानका अनुसार उनी पहिलोपटक २०१४ मा वैदेशिक रोजगारीका लागि मलेसिया जानुअघि एउटा घर बनाएका थिए, जुन नगरपालिकाले भत्काएर अर्को ठाउँमा सुकुम्बासीलाई वितरण गरेको जग्गामा नयाँ घर बनाए । सो घरलाई पत्नी र बज्रध्वजले मिलेर भाडामा लगाएको उनले निवेदनमा उल्लेख गरेका छन् । दोस्रोपटक रोजगारीका लागि साउदी गएपछि जग्गा खरिदका लागि पठाएको रकम लिएर श्रीमती संगीता बज्रध्वजसँग हिँडेको उनको आरोप छ ।

उनी थप लेख्छन्, ‘म नेपाल फर्केपछि मेरी श्रीमती २०७८ साल मंसिर १३ गते घर आइन् । मलाई धोका दिएको भन्दै मनमनै रिस उठेको थियो । तर, छोरीको लागि मैले सम्झौता गरेँ र उनलाई स्वीकार गरेँ । भोलिपल्ट मंसिर १४ गते बज्रध्वज वाइवा गाउँ आए । मलाई बोलाए ।

‘तैंले मेरो श्रीमती बज्रध्वजले लगेको भनेको होइनस ? तर तेरै घरमा रहिछे त’ भन्दै मलाई बेस्सरी कुटे । उनीसँग रहेका १०/१२ जना व्यक्तिहरू हेरेर बसिरहे । आइन्दा निहुँ खोज्छस् भने अरु १२ जनालाई मारेजस्तै तँलाई र तेरो छोरीलाई पनि मार्छु भनेर धम्क्याए ।

‘त्यसपछि पनि श्रीमती र म सँगै मिलेर बसेका थियौं । २०७८ को पुस मसान्तमा उनी फेरि हिँडिन् । माघको पहिलो हप्ता फोन गरेर अब मेरो पछाडि नलाग्नु, यदि यसबारेमा बाहिर मिडियामा गएमा तिमीहरूको नाममा सुसाइड नोट लेखेर आत्महत्या गर्छु भनेर फोनमा धम्क्याइन् । बज्रत्वज वाइवाले विभिन्न माध्यमबाट अहिले पनि मलाई धम्की दिइरहेकी छन् ।’

मोक्तानका अनुसार उनले श्रीमती पहिलोपटक फरार हुनु अगाडि छोरीलाई सेफ स्कुल जिरायतको होस्टलमा छोडेर हिँडेको खबर विदेशमा हुँदा नै गाउँका मानिसबाट पाएका थिए । त्यसपछि श्रीमतीसँग बुझ्न खोज्दा फोन स्वीच अफ भएको उनको भनाइ छ । त्यसपछि उनले ससुरालीमा सालोलाई फोन गरेर दिदीको बारेमा बुझन घर पठाएका थिए ।

निवेदनमा भनिएको छ, ‘मरो सालाले पनि गाउँसमाजका मान्छेबाट मैले जानकारी पाएको कुरा सत्य हो मेरो पत्नीले घरमा ताल्चा लगाई छोरीलाई उनी पढिरहेको स्कुलको होस्टलमा छोडी बेपत्ता रहेको कुरा जानकारी गराए । मेरो जीवन बर्बाद गर्ने र मेरो घर हडप्ने जुन योजना उनीहरूको थियो, त्यो मेरो सालोको सहयोगले असफल पारी होस्टेलमा रहेको छोरी घर ल्याएर त्यो घरमा आफैं बस्दै आएको छु ।’

२०७८ साल असोज ५ गते नेपाल फर्केपछि उनी आफ्नो घरमा पुगेका थिए । त्यहाँ अरु मानिसहरू नै बसिरहेको देखेपछि उनले सोधखोज गरे । त्यसपछि श्रीमतीले सो घर मासिक १० हजार रूपैयाँ लिने शर्तमा भाडामा लगाएको थाहा पाए ।

‘मैले घर भाडामा बस्नेहरूसँग यहाँ तपाईंहरूलाई कसले भाडामा राखेको हो भनेपछि उनीहरूले घरको मालिक्नीले भन्ने जवाफ दिए । त्यसपछि मालिक्नीको मोबाइल नम्बर माग्दा उनीहरूले कसैलाई फोन नम्बर नदिनु र भाडा पनि आफूले भनेको अकाउन्टमा हालिदिनु भन्ने आदेश भएको जानकारी गराए । त्यसपछि मैले इलाका प्रहरी कार्यालय हरिवनमा पत्नीको खोजतलासका लागि निवेदन दिएँ । छरभाडामा बसेका मानिसहरू र गाउँसमाजका मानिसहरूलाई डाकेर छलफल गराएँ । सो छलफलका क्रममा भाडामा बस्ने व्यक्तिकै फोनबाट मोबाइलको लाइड स्पिकर अन गरी श्रीमतीलाई फोन गर्दा फोन उठ्यो ।
मैले तिमी कहाँ छौ ? के गर्दैछौ ? घरमा किन अरु मानिसहरूलाई रोखेको भनि सोधेँ । श्रीमतीले जवाफमा भनिन्, ‘म अर्कै मान्छेसँग गइसकेको हो । तिमीसँगको सम्बन्धबाट जन्मेकी हाम्री छोरी नासो स्वरूप तिमीलाई छोडिदिएकी छु । अब म तिम्रो रहिनँ । जहाँ मलाई सुखभोग हुन्छ, त्यहीँ गई बसी उसैसँग जीन्दगी कटाउँछु । मेरो ससुरालीका मानिसहरू समेतलाई उक्त मोबाइलको लाउड स्पिकरबाट सुनाएपछि उहाँहरूले पनि ‘अब छोरीले अनैतिक काम गरी हिँडेकी रहिछन्, तपाईं आफ्नी छोरीको जिम्मा आफैं लिई नयाँ शिराबाट अगाडि बढ्नुस, हामी केही गर्न सक्दैनौं’ भन्ने जवाफ दिए,’ मोक्तानले निवेदनमा भनेका छन् ।

सोपश्चात भाडा दिन बाँकी रहेको एउटा कोठाको ताल्चा फोडेर भित्र पस्दा स्वीच अफ रहेको मोबाइल भेटेको उनले बताएका छन् । उक्त मोबाइल अन गरेर हेर्दा आफू विदेश गएदेखि नै बज्रध्वजसँग शारीरिक सम्वन्ध नियमित राख्ने गरेको पुष्टि हुने अडियो रेकर्डहरू भेटेको उनको भनाइ छ । उनले निवेदनसँगै अडियो रेकर्ड पनि संलग्न गरेका छन् ।

पालिकाले पठायो प्रहरीलाई

अध्यक्ष वाइवाविरुद्ध परेको निवेदनमाथि छानविन नगरी हरिहरपुरगढी गाउँपालिकाको न्याकि समिति संयोजक (उपाध्यक्ष) चेखबहादुर थिङले प्रहरीमा पठाइदिएका छन् । उक्त निवेदनको अध्ययनपछि यसको निरोपण न्यायिक समितिबाट नहुने भएकाले थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयलाई पठाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय डीएसपी चिरञ्जिवी दाहालले गाउँपालिकाको न्यायिक समितिबाट आएको पत्रलाई अध्ययन गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताउँछन् ।

‘हामीले घटनालाई गम्भीरताका साथ हेरेका छौं, उक्त घटनामा जोडिएकी महिलालाई बोलाउने तयारीमा छौं,’ डीएसपी दाहालले भने ।

गाउँपालिका उपाध्यक्षसमेत रहेका थिङले सिन्धुली प्रहरीलाई लेखेको पत्रमा भनिएको छः स्थानीय सरकार सञ्चालन ऐन २०७४ को न्यायिक समितिको क्षेत्राधिकार अन्तर्गत सोही ऐनको दफा ४७ (१) व्यवस्था भएको विवाद निरूपण अधिकार क्षेत्र र उपदफा (२) मा व्यवस्था भएको मेलमिलापको माध्यमबाट विवाद निरूपण गर्ने क्षेत्रभन्दा बाहिर अर्थात फौजदारी किसिमको माग दाबी उजुरीकर्ताले गरेको हुँदा न्यायिक समितिको क्षेत्राधिकार नपर्ने भएकाले निवेदक स्वयम्ले नै आफ्नो उजुरी निवेदनमा बोधार्थ जनाई तहाँ कार्यालयमा आवश्यक कारबाहीसमेत माग गरेकाले सोही अनुसार हुन यो उजुरी निवेदनसहित तहाँ कार्यालयमा पठाइएको छ । पालिकाले फागुन २३ गते सो पत्र प्रहरीलाई लेखी पठाएको देखिएको छ ।

पालिका अध्यक्ष बज्रध्वज र जाहेरवालाकी पत्नी संगीताबीच भएका अडियो कुराकानी र सँगै खिचिएका फोटोहरू अहिले सामाजिक सञ्जालमा आइरहेका छन् । माओवादीबाट निर्वाचित गाउँपालिका अध्यक्ष बज्रध्वज विवाहित हुन् । उनले क्यान्सरबाट पहिलो श्रीमतीको मृत्यु भएपछि दोस्रो विवाह गरेका छन् । दोस्रो श्रीमतीसँग छोडपत्र नगरी उनले संगीतालाई सौता हाल्न खोजेका हुन् ।

यस विषयमा प्रतिक्रिया लिन वाइवालाई सम्पर्क गर्दा उनले धेरै बोल्न चाहेनन् । तर, आफूमाथि लगाइएको आरोप झूटो भएको दाबी गरे ।

‘उहाँ (संगीता) सँग मेरो कुनै सम्वन्ध छैन । मलाई थाहा भएसम्म उनीहरूको डिभोर्स भइसकेको छ,’ वाइवाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर