धनगढीका मेयर हमाललाई ‘धम्की दिने’ व्यक्तिले नगरपालिकाभित्रै विष खाए – Nepal Press

धनगढीका मेयर हमाललाई ‘धम्की दिने’ व्यक्तिले नगरपालिकाभित्रै विष खाए

नगर प्रहरीले घरबाटै लगेको आफन्तको दाबी

कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफूलाई धम्की दिएको बताएका व्यक्ति अस्पताल भर्ना भएका छन् । उनलाई विष सेवनपछि अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

मंगलबार बिहान करिब साढे १० बजे उपमहानगरपालिका कार्यालयमा वडा नम्बर ६ मट्यारीका गणेश रानाले विषादी सेवन गरेको सीसीटीभी फुटेजमा देखिएको छ । उनले नगरपालिकाभित्र प्रवेश गरेलगत्तै विषादी सेवन गरेका थिए ।

अहिले उनको सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले रानाको अवस्था गम्भीर र स्थिर रहेको बताए । रानाले आफूलाई ह्वाट्सएम मार्फत धम्की दिएको भन्दै सोमबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दकाअनुसार प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारबाहीका लागि पत्र पठाएको थियो ।

‘धम्की दिएको र सुरक्षाको माग गर्दै निवेदन आएपछि उहाँ (कमल) लाई हामीले सम्पर्क गरेका थियौ ’ प्रहरी नायव उपरीक्षक चन्दले भने, ‘हिजो बौनिया थिए आज १० बजे प्रहरी कार्यालय आउँछु भन्नु भएको थियो । अहिले विष सेवन गरेको सुनियो । ’

रानाका बुबा रामदयाल रानाले छोरालाई मंगलबार बिहान नगर प्रहरीले नियन्त्रणमा लिएर उपमहानगरपालिका लगेको बताएका छन् ।

‘बिहान ८ बजे घरमा पुगेका नगर प्रहरीले तपाईँको छोरालाई हामी लग्दै छौँ भनेको थियो । घरबाट राम्रै पठाएको थिए । नगर प्रहरीले समातेर लगेको हो,’ रानाले भने, ‘अहिले विषादी सेवन गरेर अस्पतालमा पुगाइएको छ । उहाँहरूमाथि शंका छ ।’

तर, नगर प्रहरीले भने रानालाई नियन्त्रणमा नलिएको दाबी गरेको छ । धनगढी नगर प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक भूपेन्द्र खड्काले रानालाई नियन्त्रणमा लिएको कुरामा सत्यता नभएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर