गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन – Nepal Press

गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन् ।

गृहमन्त्री लामिछानेले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहाललाई आयोगको प्रतिवेदन बुझाएका हुन् ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री दाहालले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औंल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन गृहमन्त्रीलाई निर्देशन दिए।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेका छन्।

बिहीबार  सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग अध्यक्ष डिल्लीराज आचार्यले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई सरकारलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेका  थिए । जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने दृढता व्यक्त गर्दै उपप्रधानमन्त्री लामिछानेले विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानून मातहत ल्याइने बताएका थिए ।
सरकारले गत असोज १५ गते सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० गठन गरेको थियो । पूर्वन्यायाधीश आचार्यको अध्यक्षतामा गठित आयोगमा सहकुलबहादुर थापा, किशोरजङ्ग कार्की र प्रेमराज जोशी सदस्य रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर