राजनीतिक दल सम्बन्धी ऐन संशोधन हुँदै, चैतभित्र सुझाव दिइसक्न आयोगकाे आग्रह – Nepal Press

राजनीतिक दल सम्बन्धी ऐन संशोधन हुँदै, चैतभित्र सुझाव दिइसक्न आयोगकाे आग्रह

काठमाडौं । निर्वाचन आयोगले ‘राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्ने तयारी गरेको छ ।

आयोगको गत मंगलबार बसेको आयोगको बैठकले ‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३’ लाई संशोधन एवं परिमार्जन गर्नको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको संयोजकत्वमा ‘राजनीतिक दल सम्बन्धी ऐन संशोधन निर्देशन समिति’ गठन गरेको हो ।

उक्त समितिले संशोधन परिमार्जन गर्नुपर्ने विषयमा राजनीतिक दल र अन्य सरोकारवालासँग अन्तरक्रिया, छलफलसमेतका कार्यक्रम गर्ने आयोगका सहसचिव एवम कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार संशोधन मस्यौदा तयार गर्नका लागि आयोगका सचिवको संयोजकत्वमा ‘राजनीतिक दल सम्बन्धी ऐन संशोधन तर्जुमा समिति’ गठन गरेको छ । आयोगका सचिव सुर्यप्रसाद गौतम सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएकाले निमित्त सचिवको पहलमा मस्यौदा तयारीको कार्य भैरहेको आयोगले जनाएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न आयोगमा दर्ता कायम रहेका राजनीतिक दल तथा अन्य सरोकारवालाबाट राजनीतिक दल सम्बन्धी ऐनमा संशोधन तथा परिमार्जन गर्नुपर्ने विषयमा राय सुझाव माग गर्ने भनी निर्णय भएको भन्दै उक्त ऐनमा संशोधन तथा परिमार्जन गर्नुपर्ने विषयमा राय सुझाव आगामी चैत्र मसान्तसम्म आयोगलाई उपलब्ध गराईदिनुहुन आयोगले सबैलाई आग्रह गरिएको सहसचिव भट्टराईले बताए ।

उनका अनुसार दल सम्बन्धी ऐनमा समग्र सुझाव संकलन गरेर संशोधन गर्नका लागि राय तथा सुझाव माग गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर